नेभिगेशन
राजनीति

गगन कांग्रेसका भावी प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई फागुन २१ गते हुने निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सर्वसम्मत थापालाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो । विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि सभापति थापासहितको केन्द्रीय कार्यसमिति शुक्रबार पहिलो पटक केन्द्रीय कार्यालय पुगेको हो । सो क्रममा कांग्रेसका उल्लेख्य कार्यकर्ता नयाँ कार्यसमितिको स्वागतमा सानेपा पुगेका थिए । उनीहरूले ‘अबकी बार गगन सरकार’को नारा लगाएका थिए ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति शर्माले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए ।

‘फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गरेको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गरेको समर्थनलाई कार्यसमितिको यो बैठकले सर्वसम्मत पारित गर्ने बैठकको निर्णय छ । यसअघि एमालेले अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको छ । ओली र शाह झापा ५ मै प्रतिस्पर्धा गर्दैछन् भने थापा यसपटक काठमाडौं ४ छाडेर सर्लाही ४ पुगेका छन् ।

त्यस्तै, बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी तोकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि पार्टीका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय कार्यालय भवन पुनर्निर्माण समिति गठन गर्ने पनि बैठकको निर्णय छ । गत भदौ २४ गते कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

रुखमै भोट हाल्न मिल्ने बनायौं : गगन

केन्द्रीय समिति बैठकपछि सभापति थापाले कांग्रेस आफैंलाई बदलेर चुनावमा होमिएको बताए । सानेपामा पदबहाली गरेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले यसपटक उम्मेदवार छनोटको विधि अर्कोपटक सच्चिने र अझै समावेश हुने पनि बताए । ‘अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन । जिल्लाकै साथीहरूले मत हालेर टुंग्याउनुहुन्छ । समयको चापमा काम गर्न भ्याइएन,’ उनले भने, ‘चाहेभन्दा फरक गर्न सक्छौं भन्दा पनि सकिएन । समय भएको भए योभन्दा समावेशी बनाउन सक्थ्यौं ।’ उम्मेदवार छनोटमा केही कमजोरी भएको स्वीकार्दै थापाले अहिले केही त्रुटि भएको आफ्नो अप्ठ्यारोलाई बुझिदिन आग्रह गरे ।

उनले पार्टी आफूहरूले नै बदलेको बताए । ‘यो कांग्रेस आफैं बदलिएको हैन हामीले बदलेको हो । हामीले कांग्रेस बदल्यौं,’ उनले भने, ‘अब यो देशलाई पनि बदल्छौं । यो संकल्पका साथ कांग्रेस निर्वाचनमा होमिएको छ । १६५ निर्वाचन क्षेत्रमा रहनुभएका १० लाख क्रियाशील सदस्यहरूलाई आह्वान गर्छु– पार्टीभित्रमा पनि भिन्न मत छ । अधिवेशनकै सन्दर्भमा कुरा छ, छलफल गरौंला ।’ त्यस्तै सभापति थापाले नेता कार्यकर्तालाई आफ्नै निर्वाचन क्षेत्रमा खटिन पनि निर्देशन दिए । उनले भने, ‘अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत हुँदैन । निर्वाचनका बेलामा नेता कार्यकर्ताका लागि आचारसंहिता बनाउछौं । पालना गर्नुपर्छ । अरू पार्टीलाई पनि आह्वान गर्छौं । फेयर प्ले, फेयर गेम चाहन्छौं ।

चुनावी सभा जनकपुरबाट

नेपाली कांग्रेसले माघ १६ गते मधेश प्रदेशको केन्द्र जनकपुरमा चुनावी सभा गर्ने भएको छ । कांग्रेस मधेश प्रदेश कार्यसमितिले सभाको आयोजना गर्ने बताइएको छ । केही दिनअघि रास्वपाले पनि जनकपुरबाटै चुनावी अभियान सुरु गरेको थियो । कांग्रेसले सोही ठाउँमा सभा गररे मधेशमा कांग्रेस बलियो भएको सन्देश दिन खोजेको छ । मधेश प्रदेशकै सर्लाही ४ बाट यसपटक सभापति थापा उम्मेदवार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्