नेभिगेशन
विश्व

रुस र युक्रेनबीच थप युद्धबन्दी आदानप्रदान

मस्को, ८ भदौ - युक्रेनले आइतबार १४६ जना युद्धबन्दीलाई फिर्ता पठाएको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ ।

मे र जुलाईको बीचमा इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच तीन चरणको वार्ताको एक मात्र ठोस परिणाम भनेको ठूलो परिमाणमा कैदी आदानप्रदान गरिनु हो । 

सन् २०२२ मा रुसको आक्रमण सुरु भए यता टर्कीले रूसको आक्रमणको आलोचना नगरी परोक्षरूपमा युद्धमा समर्थन गरेको आरोप पश्चिमी राष्ट्रहरूले लगाएका छन् । तर टर्कीले युद्धमा आफु तटस्थ रहेको बताउँदै युद्धविराम र शान्ति वार्ता गर्न मध्यस्थताका प्रयासहरू गरिरहेको छ ।
 
रुसी रक्षा मन्त्रालयले टेलिग्राममा भनेको छ, “अगस्ट २४ मा १४६ जना रुसी सैनिकलाई किएभको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ ।”
 
त्यसको बदलामा युक्रेनी सशस्त्र बलका १४६ जना युद्धबन्दीलाई युक्रेनमा स्थानान्तरण गरिएको छ ।

रूसले भनेको छ, “किएभले गैरकानुनी रूपमा हिरासतमा लिएका कुस्र्क क्षेत्रका बासिन्दासहित रुसी महासङ्घका आठ जना नागरिकलाई पनि आदानप्रदानको एक भागको रूपमा फिर्ता गरिएको छ ।”
 
युक्रेनी सेनाले गत वर्षको अगष्टमा रुसको कुस्र्क क्षेत्रमा अचानक आक्रमण गरी सयौँ वर्ग किलोमिटर क्षेत्र कब्जा गरेको थियो ।

रुसले आफ्नो सहयोगी उत्तर कोरियाबाट हजारौँ सैनिक तैनाथ गरे पनि अप्रिलसम्म उक्त क्षेत्रमा पूर्ण रुपमा नियन्त्रण कायम गर्न सकेको थिएन ।

- रासस/एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्