नेभिगेशन
नेपाल

उपसभामुखको संस्थामा बालबालिका हराएकोबारे प्रहरीको चासो

काठमाडौं, ८ भदौ – उपसभामुख इन्दिरा राना मगरलाई लिएर चलिरहेको राजनीतिक खिचातानीबीच उनको संस्थासँग जोडिएको पुरानो विषय फेरि सतहमा आएको छ । बालमन्दिरबाट लिएर राखिएका बालबालिकाबारे प्रहरीले चासो देखाउन थालेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले अहिले अध्ययन सुरु गरेको पुष्टि सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले गरेका छन् । प्रारम्भिक चरणमा प्रहरी ‘बच्चाहरू कहाँ छन्, के भइरहेको छ ?’ भन्ने प्रश्नमा केन्द्रित भएको छ ।

यो प्रसंग नयाँ होइन । २०७७ सालमै नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिकलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि बनेको छानबिन समितिको प्रतिवेदनमै इन्दिरा राना मगरको संस्थाले ‘बालबालिका लिएको’ भन्ने उल्लेख थियो ।

लामो समय बाल संगठनको नेतृत्व गरेकी रीता सिंह वैद्यको बयान

छानबीनको क्रममा लामो समय बाल संगठनको नेतृत्व गरेकी रीता सिंह वैद्यले बयानमा भनेकी छन् - ‘बालगृहमा आश्रित बालबालिकालाई अन्य बाल गृहमा लैजाने विषयमा विशेषत: जेलको बच्चाहरूलाई सारेको भन्ने थाहा छ । इन्दिरा रानाको संस्थाले बालसंगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चाहरू दिनुस् म राख्छु भनेकोले ३ जना कि ५ जना बच्चाहरू पठाएको हो । मैले पनि उहाँको संस्थामा हेरेँ । राम्रो सुविधा रहेछ । अनि पठाएको हो । छात्रवृत्तिसहित (एडप्सन रोकिएको बेला) खुशी घर संस्थालाई हामीसँग पैसा नभएर गाह्रो भएका बेला बच्चाहरू पठाएको हो । मलाई पछि जानकारुी आयो । त्यहाँ राम्रो सुविधा थियो, विदेशीहरूको राम्रो सहयोग थियो । पछि मैले ल्याउँछौं पनि भनेको हो । बच्चाहरू नै आउन मानेनन् ।’

तर, राजनीतिक सन्दर्भले यसलाई अझै चर्काइदिएको छ । सत्तारुढ दलले अमेरिकी दूतावासलाई भिसा माग्ने पत्र पठाएको आरोपका कारण रानालाई पदबाट हटाउने तयारी भइरहेको बेला, बालबालिकासम्बन्धी विवाद पुनः चर्चामा आएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्