रौतहट, ८ भदौ - मानसिकरूपमा विक्षिप्त सडक मानवहरूको उद्धार, संरक्षण तथा पारिवारिक पुर्नमिलनको काम गर्दै आएको मानवसेवा आश्रमको २०औ जिल्ला शाखा रौतहटमा सञ्चालनमा आएको छ । शनिबार कुशे औशीको अवसरमा आश्रमको गृहप्रवेश गरिएको छ ।
आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूलाई आश्रममा गृहप्रवेश गराई सेवा शुभारम्भ गरेको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले कोही नभएका लागि मानवसेवा आश्रम रहेको उल्लेख गर्दै नेपाललाई सडकमानव मुक्त राष्ट्र बनाउन सबैको हातेमालो गर्नुपर्नेमा जोड दिए ।
मानवसेवा आश्रमले असहाय, दीनदुःखीहरूको लागि गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुने भन्दै उनले सबैले मानवसेवाको कार्यमा तत्परता देखाउनु पर्ने बताए । उनले सडक मानवहरूको उद्धार, संरक्षण र पुर्नस्थापनामा राज्यले पनि योजनाबद्ध ढंगले काम गर्नुपर्ने र यस कार्यमा तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने सुझाए ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ वनबहुअरीमा रहेको सो शाखामा विभिन्न स्थानबाट उद्धार गरिएका २३ जना सडक मानवहरू राखिएको आश्रमका मधेश प्रदेश संयोजक विवेक महतोले जानकारी दिए । दुई दिन चन्द्रपुर नगरपालिकाका विभिन्न क्षेत्रहरूमा अभियान सञ्चालन गरेर ८ जनाको उद्धार गरिएको पनि उनले बताए ।
‘हामीले उद्धार गरेर ल्याएकाहरूलाई गाँस, बास र कपासमात्र होइन उनीहरूको औषधोपचार, स्याहारसुसार गरेर निको बनाएर पारिवारिक पुनर्मिलन तथा सामुदायिक पुर्नस्थापना पनि गर्छौ,’ उनले भने, ‘यहाँ आएपछि उनीहरूमा धेरै परिवर्तन आउँछ । धेरै त निको भएर आफ्नो घर फर्किएका छन् ।’
उनका अनुसार आश्रमले २०८२ सालको अन्त्यसम्म नेपाललाई सडक मानव मुक्त देश बनाउने लक्ष्य राखेको छ । कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, जिल्ला समन्वय समिति प्रमुख राम अयोध्या यादव, गरुडा नगरपालिका प्रमुख कन्थमणिप्रसाद कलवार, नेपाल पत्रकार महासंघका रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की लगायतले मन्तव्य राखेका थिए ।
उनीहरूले मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरूमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा आफूहरूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरूबाट ३ लाख ३८ हजार १२५ बराबर नगद तथा जिन्सी सहयोग प्राप्त भएको थियो । आश्रमका देशका २७ वटा सेवाकेन्द्रहरूबाट हालसम्म १२ हजार ६ जनाको उद्धार गरिसकेको छ । यसैगरी ४ हजार ८९५ जनालाई पारिवारीक मिलन गराइएको, १ हजार २९ जनालाई सामुदायिक पुनस्र्थापना गरिएको र १ हजार ५६१ जनाको मृत्यु भएको छ । हाल आश्रमका देशैभरका विभिन्न सेवाकेन्द्रहरूमा १ हजार ९७५ आश्रित छन् ।