नेभिगेशन
उपत्यका

१० जनालाई पक्रन ९ घण्टाको अपरेसन

जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार अभियुक्तको नेतृत्वमा लुटेरा ग्याङ, दिउँसो रेकी राती लुटपाट, नियन्त्रणमा लिएपछि खुल्यो २७ घटनामा संलग्नता

काठमाडौं, माघ १५

जेनजी आन्दोलनका बेला हिरासतबाट फरार अभियुक्तको नेतृत्वमा काठमाडौं उपत्यकामा योजनाबद्ध रूपमा लुटपाटको आतंक मच्चाइएको खुलेको छ । प्रहरीले बुधबार बेलुकी नौ घण्टाको अपरेसनमा गोली चलाएर १० जनालाई पक्राउ गरेपछि उक्त गिरोहको संरचना र पृष्ठभूमि सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाबारे विस्तृत सार्वजनिक गरेको छ । प्रहरीका अनुसार यो गिरोहका मुख्य नाइके काभ्रे भुम्लु–३ का २३ वर्षीय विनय तामाङ हुन् । उनी डाँका–चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहँदा जेनजी आन्दोलनका बेला मौका छोपी फरार भएका थिए । त्यसपछि समूह बनाइ उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्ध लुटपाट गराएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

विनयकै योजनामा रातको समयमा समूहले सुनका गरगहना, नगद र मोबाइल लुटपाट गर्ने गरेको थियो । ‘हिरासतबाट फरार भएका विनय नै यो गिरोहको मुख्य योजनाकार रहेको र उनकै निर्देशनमा समूह परिचालित देखिन्छ,’ थापाले भने ।

पछिल्लो समय राति सडकमा हिँडडुल गर्ने सर्वसाधारण निरन्तर लुटिने गरेको उजुरी बढेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सीसीटीभी फुटेज विश्लेषण गर्दा एउटा मोटरसाइकलमा तीन जना सवार भई लुटपाट गरेर फरार हुने शैली देखिएपछि प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धको संयुक्त टोली परिचालन गरिएको थियो । बुधबार साँझ ६ बजेदेखि सुरु भएको अपरेसन बिहीबार बिहान ३ बजेसम्म चलेको थियो । त्यस क्रममा मुलपानी क्रिकेट मैदान नजिक चेकिङ पोस्टमा रोक्न खोज्दा विनय तामाङले प्रहरीलाई पेल्दै भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले गोली चलायो, जो विनयको खुट्टामा लाग्यो । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार विनयको गिरोहले स्वयम्भू, बौद्ध, गौशाला, बुढानीलकण्ठ, ठिमी लगायत उपत्यकाका विभिन्न स्थानमा कम्तीमा २७ पटक लुटपाट गरेको देखिएको छ । साग बेचेर फर्केका महिला, राति काम सकेर हिँडिरहेका व्यक्ति तथा मर्निङ वाकमा निस्केका महिलासमेत उनीहरूको निसानामा परेका थिए । अहिलेसम्म २७ जना पीडित प्रहरी सम्पर्कमा आएका छन् भने ४ वटा औपचारिक जाहेरी दर्ता भएको छ । यो संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ । लुटपाटका क्रममा एउटा मोटरसाइकलमा तीन जना सवार हुने, दुई जनाले लुटपाट गर्ने र मोटरसाइकल तयारी अवस्थामा राखेर फरार हुने शैली अपनाइएको थियो । उनीहरूले साथमा खुकुरीसमेत बोकेको पाइएको छ ।

प्रहरीका अनुसार गिरोहका सदस्यहरू दिनको समयमा ट्याक्सी र निजी कार लिएर रेकी गर्ने र राति गाडी थन्क्याएर एक ठाउँमा भेला भई खाना खाएपछि लुटपाटमा निस्कने गर्थे । ट्याक्सीका आफ्नै यात्रुहरूलाई समेत रेकी गरी मौका मिलेमा लुटपाट गर्ने प्रवृत्ति देखिएको छ । लुटपाटमा प्रयोग भएका ६ वटा पल्सर मोटरसाइकल, एउटा निजी कार र एउटा ट्याक्सी प्रहरीले बरामद गरेको छ । नम्बर प्लेट नचिनियोस् भनेर मोटरसाइकलको प्लेटमा हिलो छ्याप्ने गरिएको पनि अनुसन्धानबाट खुलेको छ ।      

पक्राउ पर्नेहरूमा विनय तामाङ, आयन माझी, सविन माझी, मनिष रसाइली, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ छन् । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम अनुसार पक्राउ परेका सबैजना पटके अभियुक्त हुन् । विनय तामाङ यसअघि २०७९ मा चोरी र त्यसपछि डाँका चोरी मुद्दामा पक्राउ परेका थिए ।          

अर्का नाइके आयन माझी पेसाले चालक हुन्, जसविरुद्ध २०७९ पुसमा भक्तपुरमा डाँका चोरीको मुद्दा चलेको छ । गहना बिक्री गर्ने  व्यक्ति विदुर विश्वकर्मा सुनचाँदी कालिगढ हुन् भने केही सदस्यहरू ट्याक्सी चालकसमेत रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र गिरोहसँग जोडिएका अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका