नेभिगेशन
उपत्यका

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर । पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ ।
विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दशैंमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पु-याएका थिए ।
नेवार समुदायको प्राचीन तथा पवित्र सांस्कृतिक परम्परामध्ये एक हो । सांस्कृतिक परम्परा, देवीपूजा र नृत्यको सङ्गम बनेको यस नाचले पाटन दरबार क्षेत्रलाई आज रंगीन र भक्तिमय बनाएको थियो ।
ठेचोका नवदुर्गा गुठीका सदस्य विकास मालीका अनुसार यो नाच बर्सेनि देवीको शक्तिपूजा तथा सामुदायिक एकताको प्रतीकका रूपमा मनाइन्छ । ठेचोबाट नवदुर्गा भगवानीलाई मंगलबजार पु¥याएर मानमानेश्वरीलाई फूल चढाउने परम्परा छ ।
मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सदस्य माधवश्याम शर्माका अनुसार मानमानेश्वरी देवीको निमन्त्रणमा ठेचोबाट नवदुर्गालाई पाटन मङ्गलबजार ल्याउने प्राचीन परम्परा रहेको छ ।
“यसरी निमन्त्रणा गरिएको नवदुर्गा श्री भवानीका देवगणद्वारा मङ्गलबजारको चौबाटोमा मानमानेश्वरी भवानीलाई भेट गरी माल्यार्पण गर्ने परम्परा छ, त्यसपछि नवदुर्गा भवानी तर्फबाट भैरव, बाराही र कालीले मानमानेश्वरी भवानीलाई फूल चढाएर विमिरो उपहार दिने प्रचलन छ”, शर्माले भने ।
समितिका सदस्य शर्माका अनुसार अष्टमातृका र नवदुर्गाबीच सासुबुहारीको जस्तो सम्बन्ध रहेको छ । पाटन दरबार सङ्ग्राहलयको ऐतिहासिक मूलचोकमा प्राचीन लयमा ठेचोका देवगणहरूले परम्परागत विधिअनुसार नवदुर्गा नाचको प्रस्तुतिसँगै यो वर्षको दसैं औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ ।
प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णीमाका दिन मङ्गलबजारमा दुईपटक प्रदर्शन हुने यो नाच लिच्छवीकालीन परम्परासँग जोडिएको छ । नाचअघि ११ देवगण, ३ जना नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवता घरमा विशेष पूजा गरी आशीर्वाद लिएका थिए । यो विधिले केवल धार्मिक आस्था मात्र होइन, संस्कृतिको निरन्तरताको प्रतीक पनि बोकेको मानिन्छ ।
लिच्छवी राजा मानदेवका इष्टदेवी मनमानेश्वरी (पुरानो तलेजु) सँग सम्बन्धित यो नाच पाटन क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा जिवित रहँदै आएको छ । प्रत्येक वर्षको यो प्रदर्शनले नयाँ पुस्तालाई पुरानो सभ्यतासँग जोड्ने सेतुको काम गरेको बताउँछन्  स्थानीय सुनिल महर्जन । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्