काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई अभिनन्दन तथा सम्मान गरेको छ ।
प्रतिष्ठानको ४१ औं स्थापना दिवसका अवसरमा अरुणिमाले बौद्ध जोरपाटी क्षेत्रमा रहेर मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा नेपाल सरकारका मुख्य सचिव सुमन अर्याल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, आम सञ्चार क्षेत्रमा लामो समय योगदान दिएका न्यूज२४दैनिकका प्रधान सम्पादक नवराज चालिसे, बौद्धक्षेत्रका स्थानीय समाजसेवी नेपालजीत लामा, सर्वजीत लामा र खड्गजीत लामालाई प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले दोसल्ला ओढाई अभिनन्दन गरेका थिए ।
मुख्य सचिव अर्यालले मुलुकको शैक्षिक क्षेत्रमा अरुणिमाले विभिन्न वर्गका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेर मुलुकको शैक्षिक क्षेत्रमा योगदान पुर्याएको चर्चा गरेका थिए । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले अरुणिमाले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
प्रमुख अतिथि प्राडा सुवेदीले मुलुकको विकासमा शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विद्यालय तथा शिक्षाकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
त्यसैगरी प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले अरुणिमाले विद्यार्थीहरूलाई सिर्जनशील बनाई देशभित्र र बाहिर प्रतिस्पर्धी जनशक्तिका रुपमा उत्पादन गरिरहेको बताए । यसैगरी कार्यक्रममा अरुणिमाको एलएलसीको प्रथम ब्याच २०५१ का विद्यार्थीहरू प्रवीण न्यौपाने, विन्दिया मानन्धर, मनिष खनाल, सुलक्षण शर्मा, सरोजकुमार सुवेदी, मेनुका गुरुङ, गजेन्द्र कर्माचार्य लगायतका विद्यार्थीहरूलाई सम्मान गरेको थियो ।
सो अवसरमा विद्यालयले शिक्षक तथा शिक्षिकाहरूलाई २० वर्षे दीर्घ सेवा अभिनन्दन प्रदान गरेको थियो । दीर्घ सेवाबाट शिक्षिका मन्जु अधिकारी ढकाल र हर्षनारायण झालाई दीर्घ सेवा प्रदान गरिएको थियो । सम्मानितहरूका तर्फबाट प्रवीण न्यौपाने, शिक्षिका लक्ष्मी अधिकारी, खड्गजीत लामा र अरुणिमा अल्मुनाई एसोसिएसनका अध्यक्ष जीतेन्द्र श्रेष्ठले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अरुणिमाका संस्थापक संरक्षक अमीर थापाले अरुणिमाले स्थापनाकालदेखि विभिन्न किसिमको रचनात्मक कार्यहरू गर्दै स्थानीय अभिभावक र समाजसेवीहरूको सहयोगबाट विद्यालय सञ्चालन गर्दैआएको बताए । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले यस संस्थाले राजनीतिक, सामाजिक एवं विभिन्न खालका कठिनाइसँग जुधेर गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । अरुणिमाले काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा आफ्ना तीन वटा शैक्षिक प्रतिष्ठान तथा विद्यालयहरूबाट अरुणिमा शिक्षा सदन महांकाल, नवअरुणिमा सेकेन्डरी स्कूल आरुबारीबाट आफ्ना शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ ।