दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली संघ (ईयू) का सेनालाई आतंकवादी समूह मानेको बताएका छन् । ईयूले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतंकवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो । ईयूको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको थियो ।
पूर्वगार्ड कमान्डरसमेत रहेका संसद् अध्यक्ष मोहम्मद बाघेर कालिबाफले यो पदनाम व्यवहारिकभन्दा बढी प्रतीकात्मक हुने सम्भावना रहेको बताए । सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले क्रान्तिकारी गार्डलाई आतंकवादी समूह घोषणा गरेपछि इरानले त्यही कानून प्रयोग गर्दै अन्य राष्ट्रका सेनालाई पनि आतंकवादी सूचीमा राख्ने व्यवस्था गरेको स्मरण गराइएको छ ।
यो घोषणा मध्यपूर्वमा बढ् दो तनावको पृष्ठभूमिमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे विचार गरिरहेको सन्दर्भमा क्षेत्रीय अवस्था थप संवेदनशील बनेको छ । इरानले पर्सियन खाडीको रणनीतिक होर्मुज जलडमरूमध्यमा आइतबार र सोमबार प्रत्यक्ष फायर सैन्य अभ्यास गर्ने योजना बनाएको छ । यही जलडमरूमध्यबाट विश्वको करिब पाँचौं भाग तेल व्यापार आवागमन हुन्छ ।
संसद् बैठकमा कालिबाफ र अन्य सांसदहरू क्रान्तिकारी गार्डप्रतिको समर्थन जनाउँदै गार्डको बर्दीमा उपस्थित थिए । ब्यालेस्टिक मिसाइल कार्यक्रमको नियन्त्रणसमेत गर्ने र देशभित्र विशाल आर्थिक प्रभाव राख्ने क्रान्तिकारी गार्डले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई मात्र जवाफ दिने गर्छ ।
‘युरोपमा आतंकवाद फैलिन नदिने सबैभन्दा ठुलो बाधा बनेको गार्डमाथि आक्रमण गर्न खोज्दा युरोपेलीहरूले आफ्नै खुट्टामा गोली हानेका छन्,’ कालिबाफले भनेका छन् । उनका अनुसार युरोपेली नेताहरूले फेरि एकपटक अमेरिकीहरूप्रति अन्धो आज्ञाकारिता देखाउँदै आफ्नै जनताको हितविरुद्ध निर्णय गरेका छन् ।
सत्रका क्रममा सांसदहरूले ‘अमेरिका मुर्दावाद’ र ‘इजरायल मुर्दावाद’ भन्ने नारा पनि लगाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीका लागि दुई वटा शर्त अघि सारेको बताइएको छ ।
ती सर्तमा शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या वा प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई सामूहिक मृत्युदण्ड दिने अवस्था सिर्जना हुनु समावेश छन् । यसका साथै उनले इरानको आणविक कार्यक्रमबारे पनि बढ्दो चासो व्यक्त गरेका छन् । कार्यक्रमका विषयमा इजरायलले इरानसँग १२ दिनको युद्ध सुरु गर्नुअघि अमेरिकाले तेहरानसँग विभिन्न चरणमा वार्ता गरेको थियो ।
युद्धका क्रममा अमेरिकाले इरानका तीन वटा आणविक स्थलमा बम आक्रमण गरेको थियो । तीमध्ये दुई स्थलमा इरानले उपग्रहको दृश्य अस्पष्ट पार्ने प्रयास गरिरहेको हुनसक्ने र बाँकी संरचना हटाउने काम भइरहेको आकलन गरिएको छ ।
शनिबार राति ट्रम्पले इरानबारे अन्तिम निर्णय गरिसकेको हो कि होइन भन्ने प्रश्नमा स्पष्ट जवाफ दिन अस्वीकार गरेका थिए । फ्लोरिडातर्फ जाँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकी कारबाही रोकिएमा तेहरानलाई प्रोत्साहन मिल्छ कि भन्ने प्रश्नलाई टारे ।
इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने उद्देश्यले ‘सन्तोषजनक’ सम्झौताका लागि वार्ता आवश्यक रहेको ट्रम्पको भनाइ छ । ‘उनीहरू हामीसँग कुरा गरिरहेका छन् र हामी गम्भीरतापूर्वक छलफल गरिरहेका छौं,’ उनले भने ।
यसैबीच, इरानका एक वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले शनिबार राति सामाजिक सञ्जाल एक्समा वार्ताका लागि संरचनात्मक व्यवस्था अघि बढिरहेको उल्लेख गरेका छन् । तर सर्वोच्च नेता खामेनीले बारम्बार अस्वीकार गरिरहेको प्रत्यक्ष वार्ताबारे अहिलेसम्म कुनै सार्वजनिक संकेत देखिएको छैन ।