नेभिगेशन
अर्थतन्त्र

पौने ५ अर्ब लगानीमा नयाँ कारखाना निर्माण गर्दै देउराली जनता

काठमाडौं – देउराली जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन क्षमता वृद्धि र औषधि विविधीकरण गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले यस परियोजनामा करिब ४ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने र दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ ।        

३५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कम्पनीले नयाँ कारखाना सञ्चालनमा आएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने जानकारी दिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने कारखानाबाट जीवनरक्षक तथा दीर्घ रोगको उपचारमा प्रयोग हुने औषधि उत्पादन हुनेछ ।            

३५ वर्षअघि स्थापित देउराली जनताले हाल २९६ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्दै आएको छ । आईएसओ ९००१, आईएसओ १४००१ तथा डब्लूएचओ–जीएमपी प्रमाणपत्र प्राप्त गरेको यो कम्पनी नेपालमा अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरणमार्फत औषधि उत्पादन गर्ने पहिलो उद्योग हो ।              

कम्पनीले स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने तथा नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्