नेभिगेशन
राजनीति

चुनावी कोलाहलबीच गुमनाम देउवा

जगन्नाथ दुलाल
काठमाडौं, माघ २५ 

देशलाई चुनाव लागेको छ । दलका नेताहरु आआफ्ना एजेण्डा लिएर निर्वाचन क्षेत्रमा छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका शेरबहादुर देउवा भने अहिले राष्ट्रिय राजनीतिमा गुमनाम जस्तै छन् । ३४ वर्षपछि उनी राष्ट्रिय राजनीतिको भागदौडमा देखिएका छैनन् ।

राजनीतिमा प्रचलित एउटा हिन्दी भनाइ छ – ‘नाम हो, बदनाम हो पर गुमनाम न हो ।’  तर यति बेला देउवा गुमनाम झै देखिएका छन् । आफूले लगातार जित्दै आएको जिल्लामा यसपटक उनी उम्मेदवार छैनन् । निर्वाचन प्रचारमा घरदैलो गरिरहँदा डडेलधुराबाट पछिल्ला पुस्ताका नैनसिहं महरले उनलाई स्मरण गरिरहेका छन् । तर, देउवाले  प्रतिक्रिया दिएका छैनन् । 

अझ पत्नी आरजु पनि उम्मेदवार नहुँदा उनले चुनावी भीडमा जानुपर्ने खाँचो नठानेकोजस्तो देखिएको छ । देउवाका दम्पती नै न बाहिर सार्वजनिक सभा समारोह, भेटघाटमा देखिन्छन्, न त पार्टीका कार्यक्रममा । सिंगापुरबाट फर्केपछि उनलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली दुईपटक महाराजगञ्ज निवासमै पुगेका थिए । उनी भने बाहिरिएनन् । ७७ जिल्लालाई नै चुनाव लागेको छ । सबैजसो नेताहरु आआफ्ना जिम्मेवारीमा व्यस्त छन् । देउवाको चालचुल छैन । 
उनी हिजोआज के गर्दै होलान् ? सक्रिय राजनीतिमा पुनः देखिएलान् ? यो पाटो पनि केही राजनीतिक व्यक्तित्वहरुले चासोका साथ हेरिरहेका छन् । 

देउवा सचिवालय स्रोत भने चुनावमा उनलाई सभाहरुमा देख्न नपाइने बताउँछ । उसो त, देउवाकै सक्रियतामा कांग्रेसको आधिकारिकता सम्बन्धि सर्वोच्च अदालतमा दायर रिट विचाराधीन छ । आफूले अवैध घोषणा गरेको विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगन थापालाई देउवाले पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेका थिए ।  त्यसैले पनि देउवा अहिले राजनीतिक गतिविधिमा बाहिर निस्कन नैतिक संकटमा देखिन्छन् । उनको सचिवालय सर्वोच्चमा आफूहरूले दायर गरेको रिटको छिनोफानो नहुँदासम्म देउवाले प्रचारप्रसारका कार्यक्रममा जाने नजाने विषयमा कुनै निर्णय नगर्ने बताउँछ । ‘पार्टीको वैधताको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।  अदालतले फैसला दिएपछि मात्रै चुनाव प्रचारप्रसारमा जाने नजाने निर्णय हुन्छ,’ आफूलाई भेट्न आउने नेताहरुसँग देउवाले भन्ने गरेका छन् ।
 
उसो त देउवा जेनजी आन्दोलनको ३४ दिनपछि केन्द्रीय कार्यालय सानेपा पुगे । त्यसको केही दिनपछि उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुर जानुअघि केन्द्रीय समिति बैठकमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्न सानेपा पुगेका देउवा त्यसयता महाराजगञ्जस्थित भाडाको निवासबाट राजनीतिक काममा बाहिर निस्केका छैनन् । उसो त नेपाल फर्किएर पनि उनले कार्यवाहक भने फिर्ता लिएनन् । देउवको पक्षबाट निर्वाचन आयोग र सर्वोच्च अदालतमा कानुनी लडाइ उनै देउवाका कार्यवाहक खड्काले नै सम्हालेका छन् । 

गत पुस २७ मा भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटनसत्र शुरु भएपछि देउवाले महाराजगञ्जमा आफू निकट नेताहरुसँग छलफल गरेका थिए । त्यस्तै, सोही दिन कांग्रेस नेता शेखर कोइरालाले ‘पार्टी विभाजन रोक्न’ आफू निकट तत्कालीन सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मीनेन्द्र रिजालसहित देउवालाई भेट्न उनको निवासमा पुगेका थिए ।
 
पुस २७ देखि ३० गतेसम्म देउवा महाराजगञ्ज निवासबाटै सक्रिय भए । उनले कांग्रेसका आफू निकट नेता, शेखर पक्षका नेता र केही कानुन व्यवसायीहरुसँग पनि यो अवधिमा बाक्लै छलफल गरे । त्यसबीचमा तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भेट्न खोजेपछि देउवाले समय नदिएको उनी निकट स्रोत बताउँछ ।
 
पुस ३० मा विशेष महाधिवेशनले कांग्रेस सभापतिमा गगन थापालाई निर्वाचित गर्दै नयाँ कार्यसमिति गठन ग¥यो । देउवा त्यसविरुद्ध उभिए । उनले शेखर कोइराला पक्षलाई पनि लिएर टोली निर्वाचन आयोग पठाए । निर्वाचन आयोगले उनीहरूको निवेदनलाई नहेरेर थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आधिकारिकता दियो ।  

आयोगको त्यो निर्णयविरुद्ध माघ ४ मा देउवा र कोइराला समूह सर्वोच्च अदालत गयो । तर, उक्त मुद्दा अदालतमै विचाराधीन छ । आयोगले थापालाई मान्यता दिए पनि देउवा पक्षले केन्द्रीय कार्यालय छाडेको थिए । तर, आन्तरिक संवादसँगै देउवा पक्षले केन्द्रीय कार्यालय छाडिदियो । निर्वाचित भएको १० दिनपछि सभापति थापाले केन्द्रीय कार्यालय पुगेर बल्ल पदभार ग्रहण गरे । सभापति देउवाको तस्बिर माघ ९ बाट पूर्वसभापतिहरुको लहरमा सारिएको छ ।

सभापतिका रुपमा थापाले प्रतिनिधिसभा चुनावका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा टिकट वितरण गरे । देउवा पक्ष र निकट नेताहरु थापाकै हस्ताक्षरको टिकट लिएर चुनावी मैदानमा छन् । उनका विश्वासपात्र विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र स्वयं शेखर कोइराला, मीनेन्द्र रिजाल कांग्रेस सभापति थापाकै हस्ताक्षरको टिकट लिएर चुनावमा होमिए । तर, देउवाले माघ ५  मध्यरातमा फागुन २१ को चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए । ‘शेरबहादुर देउवाज्यू आगामी  प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,’ देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी गराएका थिए । 

त्यसपछि देउवा माघ १२ मा पत्नी आरजु राणाको जन्मदिन मनाउँदै गरेका देखिए । आरजु निकट केही नेताहरुले उनको ६३औं जन्मदिन मनाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा साथमा देउवा पनि देखिएका थिए । उनी भेट्न आउनेसँग भेट्ने र स्वास्थ्य अझै पूर्ण सुधार नभइसकेकाले अधिकांश समय आराम गरेर बस्ने गरेको उनको पारिवारिक स्रोत बताउँछ । 

२०४८ सालयताका चुनावमा देउवा डडेल्धुरामा कांग्रेसबाट सदाबहार उम्मेदवार थिए । डडेल्धुराबाट उनी सात पटक निर्वाचित भए पनि ५ पटक प्रधानमन्त्री नै बने । ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा विजयी देउवाले जितेको डडेलधुरामा यसपटक कांग्रेसका नैनसिंह महर उम्मेदवार छन् । देशमा कांग्रेसले अबकी बार १०० पारको नारा लगाइरहँदा देउवा भने महाराजगञ्जस्थित डेरामै दिन बिताइरहेका छन् । आफूलाई भेट्न आउनेका कुरा सुन्ने देउवाले अहिले खासै प्रतिक्रिया नदिने गरेको केही दिन अघि देउवासँग भेट गरेका एक नेताले बताए । 

उसो त , देउवाले आफूले अवैध भनेको केन्द्रीय समितिले दिने टिकट लिएर चुनाव नलडेर नैतिकता देखाएको उनी समर्थक बताउँछन् । प्रतिकूल समयमा संयम बस्न सक्ने देउवाले अझै पार्टी वैधतामा सर्वोच्च अदालतको फैसला आफ्नो पक्षमा आउने आशा भने मारिसकेका छैनन् । उनले भेट्न आउनेहरुसँग निर्वाचन आयोगको निर्णय कानुनसम्मत नभएको भन्दै अदालतले न्याय दिने आशा भने मारिसकेका छैनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्