नेभिगेशन
प्रदेश

सीआइबीको असई भन्दै ठगी आरोपमा महिला पक्राउ

बालबिक्रम कार्की
रौतहट, २५ माघ 
आफूलाई केन्द्रीय अनुसन्धान ब्युरोको असई भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएको आरोपमा एक महिला रौतहटबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा–६ स्थायी घर भई कबिलासी–१० सलेमपुर टोल बस्दै आएकी ३५ वर्षीया निर्मला महतो छिन् । 

उनले आफ्नो नाम कतै नेहा, कतै नीशा तथा कतै पुनम कुमारी भन्दै ठगी गर्दै आएको जाहेरी प्रहरीमा परेको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रुपा लाबुङका अनुसार महतोविरुद्ध सर्लाही, लालबन्दीका राजेश्वर साह, रौतहट चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्मा, प्रवीण साह तथा गुजरा नगरपालिकाका विजय साहले लाखौं रुपैयाँ ठगी गरेको जाहेरी दिएका थिए । 

राजेश्वर साहसँग करिब एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा महतोसँग चिनजान भएको थियो । महतोले आफू सीआईबीको असई भएको, नवलपुरमै डेरा गरी बस्ने तथा मलंगवा भन्सारका कर्मचारीहरूसँग राम्रो सम्बन्ध रहेको बताउँदै सस्तोमा स्कारपियो गाडी निकालिदिने भन्दै लोभ  देखाएकी थिइन् । साह मक्ख परेका थिए । पुरुषको नाममा गाडी निकाल्दा कर बढी लाग्ने भन्दै उनले साहकी श्रीमती पुनम कुमारीको सक्कल नागरिकता र ६–७ थान पासपोर्ट साइज फोटो लिई भन्सार कर तिर्नुपर्ने बहानामा १ लाख ५० हजार रुपैयाँ ठगेको जाहेरी परेको डीएस्पी लाबुङले बताइन् । 

महतोले पुनम कुमारीको सक्कल नागरिकता र फोटो प्रयोग गरी आफू नै पुनम कुमारी भएको झुटो विवरण दिँदै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्र बनाएकी थिइन । त्यसपछि माछापुच्छ्रे बैंक लिमिटेड, चन्द्रपुर शाखामा पुनम कुमारीको नाममा खाता खोल्दै चेक प्रयोग गरी ठगी कार्य गर्दै आएको खुलेको प्रहरीको भनाइ छ ।  

आफू सीआईबीको असई भएको बताएर महतोले चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्माको ज्वेलर्स पसलबाट २ लाख ७४ हजार बराबरको सुनचाँदी उधारोमा खरिद गरेकी थिइन । तर, उनी पैसा तिर्न फर्केर नआएपछि विश्वकर्मा पनि प्रहरीकहाँ पुगेका थिए । 

यस्तै गुजरा नगरपालिकाका विजय साह बनियाँसँग घरायसी समस्या देखाएर ५ लाख नगद सापटी लिएर नतिरेको, चन्द्रपुरका प्रवीण साहको किराना पसलबाट उधारोमा सामान खरिद, स्कारपियो गाडी भाडामा लिई १ लाख २६ हजार नतिरेको र खातामा पर्याप्त रकम नभएको माछापुच्छ्रे बैंक चन्द्रपुर शाखाको चेक काटी विभिन्न व्यक्तिलाई दिएको खुलेको प्रहरीले जनाएको छ । 

महतोलाई थुनामा राखेर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा मुद्दा अघि बढाउन अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रहरी भन्दै ५ लाख ठगी

हुन्डी कारोबार सम्बन्धी कसुरमा पक्राउ परेको छोरालाई छुटाइदिन्छु भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८ नेपालटार बस्ने नुवाकोटको लिखु–१ का ४० वर्षीय दीप्क थापा छन् । 

उनले दाफुरी शेर्पाको घरमा गइ आफूलाई ‘प्रहरी हुँ, तपाईंको छोरालाई छुटाइदिन्छु’ भन्दै आमाबाट ५ लाख रुपैयाँ ठगी गरेको जाहेरी परेपछि प्रहरीले खोजी गरिरहेको थियो । काठमाडौंको बानियाँटारबाट उनलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । 

गत मंसिर १५ मा हुन्डी कारोबार सम्बन्धी कसुरमा पक्राउ परेका शेर्पा थुनानमा छन् । उनीविरुद्ध मुद्दा चलिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश