नेभिगेशन
प्रदेश

काभ्रे–१ मा नयाँ अनुहार

ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनमा जिल्लामा कुल ४२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये क्षेत्र नम्बर १ मा मात्र १८ वटा उम्मेदवारी परेको छ । यहाँ १५ दल र स्वतन्त्र ३ गरी १८ जना उम्मेदवार रहेका हुन् । 

दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रे जिल्लाका १३ पालिकामा १३५ वडाहरू छन् । जसमध्ये क्षेत्र नम्बर १ मा ६९ वडा अटाएका छन् । यहाँ कुल १ लाख ६१ हजार १०० मतदाता छन् भने ९५ वटा मतदानस्थल र १९८ मतदान केन्द्र तोकिएका छन् । यसअन्तर्गत तेमाल गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिका, चौंरीदेउराली गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिकाकाको वडा नं ६, धुलिखेल नगरपालिकाका वडा नम्बर ८ देखि १२ सम्मका वडाहरू र पनौती नगरपालिकाको वडा नम्बर ४ देखि १० सम्मका वडाहरू पर्दछन् ।

यस क्षेत्रमा नेकपा एमालेबाट अमित लामा, नेपाली कांग्रेसबाट गुणराज मुक्तान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईंले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ तथा नेशनल रिपब्लिक नेपालबाट भरत तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ र संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराउँदा राजेश श्रेष्ठ, युवराज चौलागार्इं र जीवन लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट कमलबहादुर लामा, समावेशी समाजवादी पार्टीबाट बिनोद लामा (अन्य) ले उम्मेदवारी दर्ता गराएका छन् भने जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा र नेकपा माओवादी विप्लव समूहबाट कान्छा तामाङको उम्मेदवारी दर्ता भएको छ । उमेरगतरूपमा हेर्दा यस क्षेत्रमा २६ वर्षदेखि ६२ वर्षसम्मका उम्मेदवार प्रतिस्पर्धामा छन् । 

जसले जिते पनि नयाँ अनुहार
 
काभ्रे क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरिरहेका सबैजसो उम्मेदवार नयाँ अनुहार छन् । यहाँ ०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका हालका जिल्ला सभापति तीर्थ लामाले जित हात पारेका थिए । जतिबेला ४ वटा निर्वाचन क्षेत्रहरू थिए तर ०७२ सालमा नयाँ संविधान जारी भएपछि बनेको संघीय संरचनासँगै जिल्लामा २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्रहरू कायम भएका छन् । 

०७४ सालमा भएको निर्वाचनमा यो क्षेत्रबाट नेकपा एमाले र माओवादीबीच एकता भएर बनेको नेकपाका उम्मेदवार गंगाबहादुर तामाङ विजयी बनेका थिए । ०७९ सालमा भने नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादीलगायतका गठबन्धनका उम्मेदवार माओवादीका सूर्यमान दोङ विजयी भएका थिए । यसर्थ  पछिल्लो २ निर्वाचनमा यहाँ कुनै पनि दलहरू एक्लाएक्लै चुनाव लडेका छैनन् । तर यो पटक भने सबै दलहरू एक्लै चुनावमा होमिएकाले कसको पक्षमा नतिजा जानेछ भन्ने सहज अनुमान लगाउन सकिँदैन । सबै उम्मेदवारहरू प्रतिनिधि सभाको निर्वाचनमा नयाँ नै हुन् । 

को–को बीच हुँदैछ प्रतिस्पर्धा ?

निर्वाचनमा म हार्छु भनेर त को प्रतिस्पर्धामा आउला र ? तैपनि मुख्यरूपमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीबीच नै कडा प्रतिस्पर्धा हुनेमा भने शंका छैन । 

नेपाली कांग्रेसले यहाँ युवा व्यक्तित्व ४० वर्षिय गुणराज मुक्तानलाई अघि सारेको छ । उनी हाल पार्टीका जिल्ला सचिवसमेत हुन् । मुक्तान युवामाझ आफूलाई बौद्धिक व्यक्तित्वका रूपमा चिनाउन सफल छन् । उनीसँग बागमती प्रदेशको नीति तथा योजना आयोगका सदस्य भई काम गरेको अनुभव पनि छ । पार्टी नयाँ भएर आएकाले आफूलाई जनताले जिताउनेमा उनी ढुक्क छन् । 

उता एमालेको राजनीतिमा नयाँ अनुहारका रुपमा देखा परेका अमित लामा पनि यहाँ प्रतिस्पर्धामा छन् । राष्ट्रिय युवा संघका उपाध्यक्षसमेत भएर काम गरिसकेका अमित लामा जेनजी आन्दोलनको जोखिमपूर्ण अवस्थामा अध्यक्ष केपी ओलीको रक्षक भएर मैदानमा उत्रिएका थिए । युवा संघको तल्लो कमिटी हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्ष भएका उनी पछिल्लोपटक एमाले काभ्रे जिल्ला कमिटीमा ३ कार्यकालयता विभिन्न जिम्मेवारी सम्हाल्दै हाल प्रदेश कमिटी सदस्य थिए । यो निर्वाचनमा आफूलाई जनताले विजयी गराउने उनको दाबी छ ।

उता ०७४ सालको स्थानीय निर्वाचनमा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष भइसकेका र विभिन्न समयमा माओवादी केन्द्रको राजनीतिमा अग्रपंक्तिमा रहेका दिनानाथ गौतमलाई नेपाली कम्युनिष्ट पार्टीले यस क्षेत्रमा उम्मेदवार बनाएको छ । प्रतिनिधि सभाको निर्वाचनमा उनी पनि नयाँ नै हुन् । जनताले सुशासनसहितको परिवर्तन चाहेकाले त्यो आफूले जितेमा मात्र सम्भव हुने बताउँदै आएका उनी जनताले यो पटक आफूलाई विजयी गराउने दाबी गर्छन् ।
 
यस्तै देशभरी नै पुराना दलहरूलाई चुनौती बनिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा अधिवक्ता मधुकुमार चौलागाईंलाई उम्मेदवार बनाएको छ । यसअघि उसले बसुनारायण श्रेष्ठलाई उम्मेदवार बनाउँदा तेस्रो दल बनेको थियो । यो पटक पुराना दलहरूसँग रुष्ट भएका जनताहरूले नयाँ दलका रूपमा आफूलाई छानेको चौलागाईंको दाबी छ । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्लास्थित वरिष्ठ उपाध्यक्षसमेत रहेका नवराज सत्याल सो पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । धर्म जोगाउने एजेण्डा लिएर आफू चुनावी मैदानमा आएको बताउने उनी जनतासामु झुटो बाचा र आश्वासन लिएर नजाने र पूरा गर्न सक्ने विषयमा मात्र बोल्ने बताउँछन् । धर्म र संस्कृति जोगाउने र देशको विकास चाहने युवाले आफूलाई खोजेको उनको दाबी छ ।
 
जिल्लामा क्षेत्र नम्बर २ भन्दा क्षेत्र नम्बर १ भौगोलिकरूपमा निकै विकट क्षेत्रहरू छन् । जुनसुकै उम्मेदवारले जिते पनि यहाँको विकासका लागि धेरै नै काम गर्नुपर्ने अवस्था छ । १८ जनामध्ये कसलाई जनताले पत्याउँछन् त्यो भने चुनावी नतिजाले नै बताउनेछ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्