जगन्नाथ दुलाल
काठमाडौं, माघ २९
प्रतिनिधिसभा निर्वाचन काठमाडौं–९ मा निकै रोचक र प्रतिस्पर्धात्मक बनेको छ । मतदाताहरुका लागि अब ‘पुराना अनुहार’ भन्दा नयाँ नेतृत्वले कसरी प्रभाव पार्छ भन्ने प्रश्नको उत्तर महत्वपूर्ण छ । एमाले, कांग्रेस र रास्वपाले नयाँ अनुहार अगाडि सार्दा त्रिपक्षीय भिडन्तले चुनावी नतिजा अनिश्चित बनाएको छ । २०७९ को निर्वाचनमा झिनो मतान्तरले हारजित भएको यो क्षेत्रमा अहिले नयाँ रणनीति, महिला उम्मेदवार र बलियो संगठनको खेल निर्णायक बन्ने तयारीमा छ ।
यसअघि दुई पटक जितेका एमालेका कृष्णगोपाल श्रेष्ठ चुनावी मैदानमा छैनन् । उनको ठाउँमा एमालेले डा.अजयक्रान्ति शाक्यलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाले आफूलाई बलियो दाबी गर्ने आधार पनि छन् ।
२०७९ को निर्वाचनमा काठमाडौंका १० क्षेत्रमध्ये यो क्षेत्रमात्र एमालेले जितेको थियो । जतिबेला निकटतम प्रतिस्पर्धी रास्वपाको उम्मेदवार झिनो मतले पराजित भएका थिए । ०७९ को स्थानीय तहको परिणाम हेर्दा यो क्षेत्रमा सबैभन्दा बलियो कांग्रेस देखिन्छ । समानुपातिकतर्फ रास्वपा पहिलो दल बनेको थियो ।
काठमाडौं–९ मा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा पर्छन् ।
जीत जोगाउने चुनौती
कांग्रेस, एमाले र रास्वपा अहिले यो क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । तर, एमालेका लागि ०७९ मा काठमाडौंमा बिऊ जोगाएको काठमाडौं–९ मा यसपटक उसले कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । एमालेबाट शाक्य उम्मेदवार छन् । एमाले कृष्णगोपाल श्रेष्ठले २०७९ मा ११ हजार ९५६ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याउँदै कडा टक्कर दिएका थिए ।
उसो त यसपटक एमालेले नयाँ अनुहार अघि सारेको छ । पुराना नेता कृष्णगोपाल एमाले र क्षेत्रमा परिचित अनुहार थिए । यसपटक एमालेले उम्मेदवार बनाउका शाक्य पूर्व प्रदेश मन्त्री र केपी ओलीका पूर्व सल्लाहकार समेत हुन् । उनले विकास र सम्पदा संरक्षणलाई मुख्य एजेण्डा बनाएका छन् । शाक्य यसअघि प्रदेशमा जितेको र प्राज्ञिक व्यक्तित्व भएकाले एमालेले बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।
तर, यसपटक रास्वपाले उपसभापति डीपी अर्याल र कांग्रेसले महिला अनुहार उम्मेदवार बनाएकाले रास्वपा र कांग्रेसको चुनौती उनका लागि सहज भने हुने छैन ।
काठमाडौं ९ ले कसको पक्षमा मत दिन्छ ? विगत हेर्दा विश्लेषण गर्न भने सहज देखिँदैन । संविधानसभाका दुवै निर्वाचन कांग्रेसका ध्यानगोविन्द रञ्जित निर्वाचित भए भने ०७४ मा उनै ध्यानगोविन्दलाई पराजित गर्दै एमालेका कृष्णगोपाल निर्वाचित भए । २०७९ सालको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएन । यस पटक कांग्रेसले महिला उम्मेदवार उठाएको छ ।
झिनो मतान्तर बिर्साउने कसरत
यो क्षेत्रमा रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाएको छ । ०७९ को निर्वाचनमा ९९५ मतले पराजित भएको र समानुपातिकमा ११ हजार ५०२ मतसहित पहिलो शक्ति बनेकाले यो क्षेत्र रास्वपाले आफ्नो बलियो क्षेत्र मान्छ । जित्ने आधार बलियो देखेरै धादिङका अर्याल यो क्षेत्रमा उम्मेदवार बनेका हुन् । ०७९ को भन्दा यसपटक रास्वपाको उम्मेदवार ‘हेभिवेट’ छन् । यसअघि समानुपातिक सांसद हुँदै श्रममन्त्री पनि बनेका अर्याल रास्वपामा रवि लामिछानेपछिका शक्तिशाली नेता मानिन्छन् ।
अर्याल ‘अहिले मत बदल्नुस्, देश बदल्नेछौं’ भन्ने नारा अघि सार्दै भोट मागिरहेका छन् । उनका लागि काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाह समूहसँगको एकताले सहजता थप्ने रास्वपा नेताहरु दाबी गर्छन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नम्बर वडा पर्छ ।
तर अर्यालका लागि एमालेको बलियो संगठन र निर्विवाद उम्मेदवार चुनौतीका रुपमा देखिन्छन् । त्यस्तै, कांग्रेसले स्थानीय तहमा बनाएको बलियो संगठन चिर्ने चुनौती पनि छ । ०७९ मा प्राप्त पार्टी मत जोगाउँदै महानगरका वडाबाट मत थप्न सके अर्यालका लागि जीत टाढा देखिँदैन ।
१२ वर्षमा खोलो फर्काउने रणनीति
कांग्रेसले केन्द्रीय सदस्य नानु बाँस्तोलालाई उम्मेदवार बनाएको छ । उनी १२ वर्षमा जित फर्काउने कसरतमा छिन् । ०७० सालमा जितेको कांग्रेस त्यसयता १२ वर्ष यो क्षेत्रमा जित्न सकेको छैन । कांग्रेस पछिल्लो चुनावी परिणाम हेर्दा भने सांगठनिक रुपमा यो क्षेत्रमा बलियो बन्दै गएको देखिन्छ ।
स्थानीय तहको मत परिणामअनुसार यो क्षेत्रका १४ मध्ये ८ वडा कांग्रेसले जितेको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मत हेर्दा कांग्रेसले पहिलो मत पाएको देखिन्छ । कांग्रेसले स्थानीय तहमा प्राप्त मत जोगाउन सके प्रतिनिधिसभा निर्वाचनमा बाजी मार्न सक्छ । महिला मतदाता बढी हुनु, कांग्रेस बदलिएको सन्देश जानु र भावी प्रधानमन्त्रीका रुपमा गगन थापाको घोषणाले बाँस्तोलाको उम्मेदवारीलाई बलियो बनाएको विश्लेषण गरिएको छ । ७८ हजार ४९५ मतदातामध्ये यो क्षेत्रमा महिला मतदाताको संख्या ४० हजार २७८ छ । बाँस्तोलालाई एमाले र रास्वपाले बलियो उम्मेदवारकै रुपमा हेरेका छन् ।
०७९ को निर्वाचनमा काठमाडौं– ९ (क) बाट उम्मेदवार बनेकी बाँस्तोला त्यसबेला पराजित भएकी थिइन् । उनी प्रदेशको हार प्रतिनिधिसभा निर्वाचनबाट बिर्साउने तयारीमा छन् । यसपटक आफूले जित्ने उनको दाबी छ । ‘कांग्रेस बदल्यौं, अब देश बदल्छौं’ भन्ने नारासहित उनी घरदैलो अभियानमा व्यस्त छिन् । उनका लागि एमालेको नयाँ उम्मेदवार र रास्वपामा देखिएको ह्वीम र हेभिवेट उम्मेदवारको चुनौती भने सहज हुने छैन ।
२४ उम्मेदवार प्रतिस्पर्धामा
विभिन्न राजनीतिक दलका १८ र ६ जना स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिलकुमार कार्की, उज्यालो नेपालबाट रामेश्वर श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट रणवीर क्षेत्री सिंह, नेपाल मजदुर किसान पार्टीबाट शान्त महर्जन, राष्ट्रिय जनमोर्चाबाट रोशन दानी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजु रोक्का, मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज गुरुङ प्रतिष्पर्धामा छन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का एन्जिसराज प्रसाई, जय मातृभूमि पार्टीका अनुपमुनि बज्राचार्य, श्रम संस्कृति पार्टीका बलराम श्रेष्ठ, मितेरी पार्टी नेपालका मदन पोखरेल पनि चुनावी दौडमा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का माइला लामा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मदन डंगोल, आम जनता पार्टीबाट ईरश श्रेष्ठ र स्वतन्त्र उम्मेदवार जुद्धबहादुर कार्की, पुनमाया महर्जन, पञ्चकुमारी मानन्धर, मधुसुदन शर्मा, सुमित्रा श्रेष्ठ, हरिप्रसाद घिमिरे प्रतिस्पर्धामा छन् ।