नेभिगेशन
दृष्टिकोण

नेवाः संस्कार र संस्कृतिमा शिवरात्री

प्रेममान डंगोल
नेवाः समुदाय लोक धर्म, संस्कृति र परम्पराको धेरै नै विशेषताले भरिएको देखिन्छ । अनादिकालदेखि चल्दै आइरेहेको नेवाः संस्कृति मध्ये शिवरात्रीको ठूलो महत्व छ । नेवाः धर्म, संस्कृति अनुसार शिवरात्रीका दिन सिलाचः¥हेका रुपमा मान्दै आइरहेका छन । पहिला पहिला नेवार केटाकेटीहरुले शिवरात्रीका दिन ‘सिलाचा च्वने यात सिँ निका हिं मब्यूसा खवःसिँ तये, सिलाचा पने यात सिँ निका हिं, महाद्यःया चिकुल, मब्यूसा खवः स्वाहायेका यने’ अर्थात ‘शिवरात्रीमा बस्नलाई दाउरा दुईवटा काटेर देउ, नदिए अग्लो दाउरा राख्छु, शिवरात्रीमा बस्नलाई दाउरा दुईवटा देउ, महादेवलाई जाडो भयो, नदिए आग्लो तानेर लान्छौं ।’ भन्दै गीत गाउँदै घरै पिच्छे दाउरा माग्न जाने गर्थे । आजका बालाबालिकाहरुलाई आग्लो भन्ने नै थाहा नहुन सक्छ । यसरी नेवारीपनले शिवरात्री मनाउने सन्दर्भमा महादेवलाई जाडो भयो दाउरा देउ भन्दै टोल टोलमा गएर घर घरमा दाउरा मागेर रातभर दाउरा बालेर धुनी जगाई जाग्राम बसेर महादेवको पूजा गर्ने, हलुवा स्वारी, रोटी मिठाई, फलफूल आदि प्रसाद खाने गर्दछन । यो चलन हाल त्यति देखिंदैन तर कतै कतै गाउँघर र शहरमा भने यो चलन बाँकी नै छ । 

सिलाचः¥हे शव्दलाई हामीले यसरी बुझ्नु पर्छ । ‘सिँ’ को अर्थ शिव, ‘ला’ को अर्थ महिना, ‘चः¥हे’ को अर्थ चतुर्दशी अनि ‘चा’ को अर्थ जाग्राम बस्ने रात्री । 

शिवरात्रीका दिन देशका विभिन्न स्थानमा रहेका महादेवका मन्दिरहरुमा भक्तनजहरुको भीड नै भइरहेको हुन्छ । विहानदेखि बेलुकासम्म महादेवको पूजा आराधना गर्नेहरु भई नै रहन्छन । काठमाडौको गौशाला स्थित पशुपतिनाथको दर्शन गर्न र पूजा गर्न लाखौं भक्तजनहरुको भीड भइरहेको हुन्छ । देशका विभिन्न स्थानबाट र छिमेकि देश भारत र अन्य देशहरुबाट पनि लाखौं भक्तजनहरु आएर पशुपतिनाथलाई श्रद्धा भक्तिपूर्वक पूजा गर्ने गर्छन । त्यस्तै मित्र राष्ट्र भारतबाट कैयौं साधु, सन्त, महन्त, जोगी, सन्यासीहरु पनि आइरहेका हुन्छन । शिवरात्री महादेवको जन्म भएको रात्री भएकोले नै शिवरात्री भनिने हो भने भगवानको जन्मोत्सव मनाउन पशुपति मैं रातभर जाग्राम बस्नेहरु पनि धेरै नै हुन्छन । 

शिवरात्रीको दिन मैं कतिपय नेवारहरुको गुठि मनाउने पनि गरिन्छ । शिवरात्रीका दिन गुठि मनाउने नेवारहरुले धेरै जसो सी गुठि अर्थात मरण गुठि मनाएर भोज खाने गर्छन । यसरी मरण गुठि मनाउने नेवारहरुले पशुपतिको दक्षिणमुखी अघोर महादेवलाई मसानेश्वरको रुपमा मान्ने हो भनिन्छ । 

नेपाल भाषामा सिलाचः¥हे भनिन्छ भने खस भाषामा शिवरात्री भनिन्छ । शिवको महत्व हामीले बुझेर शिवले लोकल्याणका लागि दिनु भएका उपदेशहरु बुझेर हामीले हाम्रो जीवन सार्थक पार्न सकेमा मात्र हामीले शिवरात्री मानेको महत्व हुन्छ । 

धर्म गर्ने नाममा महादेवको मुहारमात्र संझेर वा मूर्तिलाई नमस्कार मात्र गरेर वा चामल अक्षताले मात्र पूजा गर्दैमा धर्म हुने होइन । साँच्चै महादेवलाई मान्ने हो भने महादेवले दिनुभएको उपदेशको पालना गर्नु नै महादेवको आरधना गरेको ठहर्छ । त्यसैले यस कुरालाई बुझेर महादेवले दिनुभएको अष्टाङ्गयोगमा मन दिएर आफ्नो जीवन सार्थक पार्न सक्नुपर्छ । यही नै धर्मको पालना हो अनि यही नै शिवरात्रीको महत्व पनि हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्