रौतहट, ९ भदौ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीविरुद्ध स्थानीयले तस्वीरमा जुत्ताको माला लगाएर विरोध गरेका छन् । सोमबार नेकपा एमालेको नेतृत्वमा नगर कार्यालयअगाडि प्रदर्शन गरिँदै कार्यवाहक नगरप्रमुख अमबेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवको तस्वीरमा जुत्ताको माला लगाइएको हो ।
प्रदर्शनमा सहभागीहरूले नगरपालिकामा भ्रष्टाचार बढेको, बजेट दुरुपयोग भएको र जनताको गुनासो नसुनेको भन्दै आक्रोश पोखे । नेकपा एमाले फतुवा विजयपुर नगर कमिटीका सचिव सन्तोषकुमार साहले भने, ‘नगरमा आएको बजेट कमिसनको आधारमा बाँडिन्छ, विकास देखिँदैन । हामी गुनासो लिएर पुग्दा उनीहरू कार्यालयबाट भाग्छन् ।’
उनले थपे, ‘हामी भ्रष्टाचारमुक्त नगरपालिका बनाउन चाहन्छौ । तर नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत जनताको हैन, आफ्नै फाइदाको लागि काम गर्छन् ।’ साहले यस्ता व्यवहारले स्थानीयलाई आक्रोशित बनाएको बताए । प्रदर्शनमा एमाले नेता अनन्त पौडेलले पनि नगरपालिकाले पारदर्शिता नदेखाएको आरोप लगाए । ‘नगरमा सबै काम गुपचुप हुन्छ । जनताको लागि आएको बजेट जनताकै हितमा खर्च हुनुपर्ने हो,’ उनले भने ।
उता, प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले भने प्रदर्शनको आलोचना गरे । उनले भने, ‘यो एजेन्डाविहीन अराजक प्रदर्शन हो । कानूनी राज्यमा यस्तो गतिविधि स्वीकार्य छैन ।’ यादवले आफू कानूनी प्रक्रिया अनुसार काम गर्ने राष्ट्रसेवक भएको बताउँदै उजुरी भए सम्बन्धित निकायमा दिन सुझाव दिए ।
फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपालप्रसाद यादव २०८० असोजमा विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएपछि निलम्बनमा परेका छन् । त्यसयता उपप्रमुख अमबेया खातुन कार्यवाहक नगरप्रमुखको जिम्मेवारीमा छिन् ।