नेभिगेशन
प्रदेश

सुनसरीको उत्कृष्ट पालिका बराहक्षेत्र

सुनसरी, ९ भदौ ।  बराहक्षेत्र नगरपालिका सुनसरीको उत्कृष्ट पालिका बनेको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये बराहक्षेत्र नगरपालिका उत्कृष्ट पालिका बन्न सफल भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा कान्छो नगरपालिकाका रूपमा रहेको बराहक्षेत्र जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै पहिलो बनेको छ ।

संघीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने सशर्त र निःशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बराहक्षेत्र नगरपालिकाले १०० पूर्णांकमा ८५.७५ अंक प्राप्त गरेको छ ।

यस्तै, यो नगरपालिका कोशी प्रदेशको उत्कृष्ट अंक ल्याउने पालिकामध्ये पाँचौं स्थान पनि छ । कोशी प्रदेशमा १३६ वटा स्थानीय तह छन् । इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशको प्रथम नगरपालिका बनेको छ । यो नगरपालिकाले यस्तै ९० .५० अंक प्राप्त गरेको छ ।

९० अंक प्राप्त गर्दै इलामको इलाम नगरपालिका दोस्रो, ८७.२५ अंक प्राप्त गर्दै विराटनगर महानगरपालिका प्रदेशको तेस्रो, ८६.५० अंक प्राप्त गर्दै खोटाङको हलेसी तुवाचुंग नगरपालिका चौथो, ८६ अंक प्राप्त गर्दै झापाको कन्काई नगरपालिका चौथो बनेका छन् ।

बराहक्षेत्र, प्रदेश र जिल्लामै उत्कृष्ट पालिका बन्नुमा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा नगरबासीको सहयोगको ठूलो योगदान रहेको नगर प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल बताउँछन् । ‘जनप्रतिनिधिको काममा नगरबासीको सधै सकारात्मक सहयोग छ,’ उनले भने, ‘कर्मचारीले पनि नतिजा देखिनेगरी काम गरेको हुँदा उत्कृष्ट बन्न सफल भएका छौं ।’

नगरपालिका प्रदेश र जिल्लामा उत्कृष्ट बनेपछि बराहक्षेत्रबासी समेत उत्साहित भएका छन् । नगरपालिकाले नागरिकको सेवामा राम्रो काम गरेकाले नै उत्कृष्ट बनेको स्थानीय दिनेश पोखरेल बताउँछन् । यो उपलब्धिलाई आत्मसात् गदै नगरको विकास र सेवामा अझ प्रभावकारी भएर लाग्न नगरपालिकालाई उनको सुझाव छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पन्न आर्थिक वर्षको बजेट तथा योजना तर्जुमा, वित्तीय एवम् आर्थिक व्यवस्थापन, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, सहकार्य र समन्वयलगायत १० वटा विषयमा गुणस्तर परीक्षण गर्ने गरेको छ ।

यसै आधारमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन रिर्पाेट सार्वजनिक गर्ने गरेको छ । बराहक्षेत्रले लगातार ३ वर्षदेखि लगातार प्रभावकारी कार्य सम्पादनमा उत्कृष्ट अंक हासिल गर्दै आएको छ । ९२ हजार जनसंख्या रहेको बराहक्षेत्रमा ११ वटा वडा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्