काठमाडौ, ९ भदौ । नाडा अटो शो २०२५ मा जिली एक्स फाइभका १८७ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ । ड्रीम स्मार्ट चाइनाको अधिकृत आयातकर्ताका रूपमा नेपालमा जिली एक्स फाइभ विद्युतीय गाडी भित्राउने एलआरआर मोटर्स प्रालिले नाडा अटो शोमा धेरै गाडी बुकिङ गरेर सुरुवाती सफलता हासिल गरेको जनाएको छ ।
म्याक्स र प्रो गरी दुईवटा भेरियन्ट प्रदर्शनीमा राखिएको जिली एक्स फाइभ विद्युतीय गाडीको स्टलमा ठूलो संख्यामा अवलोकनकर्ताको भीड लागेको थियो । अत्याधुनिक प्रविधि, अधिक रेञ्ज, र आकर्षक डिजाइनका कारण जिली एक्स फाइभले भरपर्दो , प्रिमियम र स्टाइलिश विद्युतीय गाडी खोज्ने ग्राहकको नजरमा परेका कारण उल्लेख्य संख्यामा बुकिङ गर्न सफल भएको एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले बताए ।
‘नाडामा जिली एक्स फाइभ विद्युतीय गाडीले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई धेरै हौसला प्रदान गरेको छ,’ उनले भने, ‘नाडा अटो शोको अवधिभर १८७ वटा बुकिङ हुनुले जिलीको नवप्रवर्तनमा विश्वास बढेको छ ।’ उनले जिलीको बुकिङले नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत देखाएको पनि बताए ।
यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय विद्युतीय गाडी उपलब्ध गराउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको उनको भनाइ छ । श्रेष्ठका अनुसार, जिली एक्स फाइभ श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरूलाई आकर्षित गराएको हो ।
गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रीले ८ वटा निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित भएको छ । यो ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ । जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै हो । साथै आयातकर्ता एलआरआर मोटर्सले जिलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेन्टीसमेत दिएको छ ।
एलआरआर मोटर्सका अनुसार, नाडामा जिली एक्स फाइभको सफलताले कम्पनीको वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने र नेपालको हरित गतिशील भविष्यलाई समर्थन गर्ने दृष्टिकोणलाई अझ सबल बनाएको छ । बुक गरिएका गाडीहरूको डेलिभरी पनि सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।