नेभिगेशन
प्रदेश

दाङमा एमालेको झण्डा जलाइएपछि राजनीतिक तनाव चर्कियो, तीन पक्राउ

बुटवल । तुलसीपुरको वीरेन्द्र चोकमा नेकपा एमालेको ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनापछि दाङको राजनीति एकाएक तातिएको छ । निर्वाचन नजिकिँदै गर्दा भएको उक्त घटनाले जिल्लामा प्रतिस्पर्धा थप तिक्त बनाएको छ ।
एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला तथा गृह नगर तुलसीपुरमै पार्टीको झण्डा जलाइएपछि एमालेले यसलाई प्रतिष्ठासँग जोडेको छ । बिहीबार राति भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शुक्रबार दाङसहित काठमाडौंमा एमालेले विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह घोराहीमा हुने सभाका लागि दाङ आउने खबरसँगै समर्थकहरू तुलसीपुरमा भेला भएका थिए । सोही क्रममा केही व्यक्तिहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएको दृश्य सार्वजनिक भएको हो । त्यस्तै, राजा वीरेन्द्रको शालिकमा चढेर रास्वपाको झण्डासहित उभिएको तस्बिर सार्वजनिक भएपछि राजावादी समूहसमेत आक्रोशित बनेका छन् ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले घटनालाई ‘लोकतन्त्र र संविधानविरुद्धको अपराध’ भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले झण्डा जलाउनेलाई प्रशासनले कारबाही नगरे पार्टी आफैँ प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । जिल्ला अध्यक्ष शिवकुमार आचार्यले पनि विज्ञप्ति जारी गर्दै घटनालाई अराजक र उत्तेजनापूर्ण गतिविधि बताएका छन् । नेतृ शान्ता चौधरी र कोमल वलीले समेत प्रतिद्वन्द्वी दलको प्रतीकमाथि आक्रमण लोकतान्त्रिक प्रणालीमाथिको चुनौती भएको टिप्पणी गरेका छन् ।
उता रास्वपा भने रक्षात्मक देखिएको छ । जिल्ला सभापति विनय घिमिरेले झण्डा जलाउने कार्यमा पार्टीको कुनै नीति वा संलग्नता नरहेको स्पष्ट पारेका छन् । सभापति लामिछानेको स्वागतमा जुटेको भीडमा घुसेका अवाञ्छित तŒवले भ्रम फैलाउन यस्तो गतिविधि गरेको दाबी रास्वपाको छ । लुम्बिनी प्रदेश सभापति देवराज पाठकले पनि पार्टीको आधिकारिक नीतिमा कुनै दलको झण्डा जलाउने कार्य अस्वीकार्य रहेको बताएका छन् । यसबीच रास्वपाले रुपन्देहीको भैरहवा र पोखरामा तय गरिएका चुनावी सभा स्थगित गरेको छ ।
तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान तीव्र पारेको छ । प्रहरीका अनुसार झण्डा जलाएको आरोपमा तीन जना पक्राउ परेका छन् । सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर–७ का ५५ वर्षीय बुद्धिबहादुर बस्नेत, तुलसीपुर–४ का ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ का २४ वर्षीय विक्रम परियारलाई नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्यको पनि खोजी जारी रहेको प्रहरीले बताएको छ  ।
यसको तरंग काठमाडौंसम्म पुगेको छ । निर्वाचनको संघारमा देखिएको यो घटनाले दाङसहित देशभर राजनीतिक मुठभेडको जोखिम बढाउने सम्भावना रहेको विश्लेषण सुरक्षा निकायहरुले गरेका छन् । सामाजिक सञ्जालको उत्तेजना सडकमा पोखिँदा लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठेको स्थानीयको टिप्पणी छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्