नेभिगेशन
प्रदेश

मतदान अधिकृत तालिम सुरु

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङ जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि एक दिने तालिम सुरु गरिएको छ । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार फागुन १० गतेदेखि मोरङ क्षेत्र नम्बर ६ बाट तालिम कार्यक्रम सुरु गरिएको हो । उक्त तालिम प्रत्येक निर्वाचन क्षेत्रमा चरणबद्धरूपमा सञ्चालन गरिँदै फागुन १५ गतेसम्म सम्पन्न गरिनेछ ।

प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालका अनुसार तालिम सम्पन्न भएपछि फागुन १८ गतेदेखि सम्बन्धित मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई आवश्यक निर्वाचन सामग्री उपलब्ध गराई सम्बन्धित मतदान केन्द्रतर्फ खटाइनेछ । उनले निर्वाचनको सम्पूर्ण तयारी योजनाबद्धरूपमा अघि बढाइएको र मतदान अधिकृतहरूलाई जिम्मेवारीप्रति स्पष्ट पार्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । तालिममा निर्वाचनसम्बन्धी ऐन–कानून, मतदान केन्द्र व्यवस्थापन, मतदाता पहिचान प्रक्रिया, मतपेटिका तथा मतपत्र व्यवस्थापन, मतगणनाको प्रारम्भिक प्रक्रिया र निर्वाचन सुरक्षा सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिइएको छ । सम्भावित विवाद, अवरोध वा आकस्मिक परिस्थितिमा कसरी संयमित र कानूनीरूपमा समाधान गर्ने भन्ने विषयमा पनि सहभागीहरूलाई जानकारी गराइएको कार्यालयले जनाएको छ ।

मोरङ जिल्लामा कुल ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदान केन्द्र रहेका छन् । फागुन १० गते मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतका १ सय ४९ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र गरी १ सय ५० केन्द्रका लागि मतदान अधिकृत तथा सहायक अधिकृतहरूलाई तालिम दिइएको छ । आवश्यक जनशक्ति सुनिश्चित गर्न २ प्रतिशत थप गरी कुल ३ सय ६ जनालाई प्रशिक्षण दिइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकारी दंगालले मतदान अधिकृतहरू निर्वाचन प्रक्रियाका मुख्य जिम्मेवार व्यक्तित्व भएकाले उनीहरूको दक्षता र तयारीले नै निर्वाचनको विश्वसनीयता निर्धारण गर्ने बताए । उनले सबै अधिकृतलाई निष्पक्षता, पारदर्शिता र आचारसंहिताको पूर्ण पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । मोरङमा तालिम कार्यक्रमसँगै मतदान केन्द्रको भौतिक तयारी, आवश्यक सामग्री व्यवस्थापन तथा सुरक्षा संयन्त्रसँग समन्वयको कार्य पनि तीव्ररूपमा अघि बढाइएको जनाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउन सम्बन्धित निकायहरू पूर्ण तयारीमा रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्