सर्लाही । यतिबेला सर्लाही–४ निकै चर्चामा छ । नेपाली कांग्रेसका सभापति गगन थापा र माघ ५ गतेबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका अमरेश सिंह यहाँका चर्चित उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा लामो समयदेखि निर्वाचन लड्दै आएको क्षेत्र काठमाडौं–४ छाडेर मधेश झरेका छन् । उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको प्रतिस्पर्धाका लागि काठमाडौं–४ छाडेर सर्लाही–४ झरेका हुन् । यहाँ कांग्रेस सभापति थापा कांग्रेसकै पुराना अनुभवी नेता डा. अमरेशकुमार सिंहसँग आमने–सामने हुने भएका छन् ।
आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारहरू प्रचारमा व्यस्त छन् । निर्वाचन अन्तर्गत सर्लाही–४ यसपटक देशव्यापी चासोको केन्द्र बनेको छ ।
यहाँ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी मैदानमा छन् । थापाको उमेदवारीसँगै यो क्षेत्र केवल स्थानीयमा सीमित नरही राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा परिणत भएको छ । सर्लाही–४ को चुनावको मुख्य विशेषता भनेकै धेरै उम्मेदवारहरूबीचको कडा प्रतिस्पर्धा हुनु हो । अघिल्ला निर्वाचनहरूमा तेस्रो र चौथो स्थानमा रहने उमेदवारले समेत सातदेखि आठ हजारसम्म मत ल्याउने गरेका छन् । यसले गर्दा, यहाँ दुई उमेदवारबीचको मात्र नभएर बहुप्रतिस्पर्धा हुने निश्चित देखाउँछ ।
सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा र रास्वपाका डा. अमरेशकुमार सिंहसँगै नेकपा एमालेका अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिश राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, जनमत पार्टीका राकेशकुमार मिश्र लगायत ३९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सर्लाही क्षेत्र नम्बर ४मा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट रामेश्वर राय यादव पनि उम्मेदवार छन् । लामो समय नेपाल सद्भावना पार्टी र त्यसपछि तत्कालीन मधेसी जनाधिकार फोरम नेपालमा रहेर राजनीति सक्रिय उनी संविधान निर्माणपछि माओवादी प्रवेश गरेका थिए । माओवादीबाट २०७४ मा सर्लाही–३ बाट जितेका उनी श्रममन्त्रीसमेत भएका थिए । २०४८ सालमै राष्ट्रियसभा सदस्यमा चुनाव जितेका उनले एकपटक सर्लाही–२ र अर्कोपटक सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भइसकेका व्यक्ति हुन् ।
यसपटक सर्लाही–३ मा भने उनी आबद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नारायणकाजी श्रेष्ठलाई टिकट थमाएपछि उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरे । र, सर्लाही–४ बाट जितेर संसद्को यात्रा गर्ने दाउमा लागिपरेका छन् ।
एकै घरका दुई जना उम्मेदवार
नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अमनिशकुमार यादव र स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरू दिदीभाइ हुन् ।
२७ वर्षीय अमनिशकुमारले अन्तिम समयमा एमालेको तर्फबाट टिकट पाएका थिए । एमालेले यहाँ पहिले रवि सिंह कुशवाहलाई टिकट दिएको थियो तर अमनिशकुमारका बुवा शिवपुजन राय माघ ५ गते नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी एमाले प्रवेश गरेसँगै अमनिशकुमारले एमालेबाट उम्मेदवारी दिएका हुन् ।
कस्तो थियो २०७९ को निर्वाचन ?
सिंहले २०७० (संविधानसभा) २०७४ र २०७९ मा लगातार तीनपटक चुनाव जितिसकेका छन् । २०७० र २०७४ मा कांग्रेसबाटै चुनाव जितेको भए पनि २०७९ मा कांग्रेसको बागी उम्मेदवारको रूपमा डा. अमरेशकुमार सिंह स्वतन्त्र उमेदवार थिए । ‘माछा’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका अमरेशले कांग्रेसका आधिकारिक उमेदवार नागेन्द्र कुमारलाई एक हजार ७६४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । अमरेशले २० हजार १७ मत प्राप्त गर्दा नागेन्द्रले १८ हजार २५३ मत पाएका थिए । २०७९ सालको निर्वाचनमा अर्की स्वतन्त्र उमेदवार मधुमालाकुमारी यादव १४ हजार ६२२ मतसहित तेस्रो स्थानमा रहिन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका राकेशकुमार मिश्र पाँच हजार ८१३ मतसहित चौथो भए । यी तथ्यांकहरूले सर्लाही–४ मा मत विभाजन कति गहिरो छ भन्ने स्पष्ट संकेत गर्छ । राकेशकुमार मिश्र अहिले जनमत पार्टी बाट उम्मेदवार रहेका छन ।
पछिल्लो निर्वाचन इतिहास
पछिल्लो निर्वाचन इतिहासले यस क्षेत्रमा दलभन्दा पनि व्यक्तिकेन्द्रित रहँदै आएको देखाउँछ । यो क्षेत्रबाट महन्थ ठाकुरले २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा लगातार विजयी हासिल गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका शिवपुजन यादव विजयी भए । त्यसयता भने यो क्षेत्र डा. अमरेशकुमारको राजनीतिक प्रभावमा रहँदै आएको छ । सिंहले २०७० र २०७४ सालमा नेपाली कांग्रेसका आधिकारिक उमेदवारका रूपमा निर्वाचन जितेका थिए । ती निर्वाचनमा कांग्रेसको संगठनात्मक संरचना र सिंहको व्यक्तिगत लोकप्रियताले निर्णायक भूमिका खेलेको मानिन्छ ।
यसपटकको चुनावी समीकरण
यसपटक डा. अमरेशकुमार स्वतन्त्र उमेदवार होइनन् । उमेदवारी दर्ता हुनु एक दिनअघि मात्र उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दै टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन् । रोचक तथ्य के छ भने, २०७९ को निर्वाचनमा यही क्षेत्रमा रास्वपाका उम्मेदवार धीरज ठाकुर ३१८ मत प्राप्त गर्दै नवौँ स्थानमा सीमित भएका थिए । सर्लाही–४ मा यसपटक कांग्रेसबाट थापा, नेकपा (एमाले)बाट अवनिशकुमार यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रजनिश राय, जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रामेश्वरराय यादव र जनमत पार्टीबाट राकेश मिश्रलगायत उमेदवार प्रतिस्पर्धामा छन् ।
राकेश मिश्र २०७४ सालमै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी सर्लाही क्षेत्र नम्बर ४ बाट राजपाबाट उमेदवार बने तर पराजित भय २०७९ सालमा फेरी उनी उपेन्द्र यादव नेतृत्वको जसपाबाट चुनावमा होमिए । यो चुनावमा जसपाले नेकपा एमालेसँग गठबन्धन गरेको थियो भने काँग्रेस, माओवादी लगायतको पाँच दलिय गठबन्धन थियो तर चुनावमा उनी पराजित भय । त्यसपछि पनि निरन्तर जनताकै सेवामा लागेका उनी अहिले जनमतबाट उम्मेदवार बनेका छन् । यो पटक उनले गगन र अमरेशलाई पछि पार्न सक्ने आंकलन गरिरहेका छन ।
सर्लाही–४ मा शिक्षा, स्वास्थ्य, खानेपानी र सडक पूर्वाधारको पर्याप्त पहुँच अझै हुन सकेको छैन । समग्रमा हेर्दा, सर्लाही–४ को चुनावी इतिहासले मतदाताले पार्टीभन्दा उमेदवारको छवि, व्यवहार र स्थानीय पहुँचलाई प्राथमिकता दिँदै आएको स्पष्ट देखिन्छ । धेरै उमेदवारबीचको प्रतिस्पर्धा, मत विभाजन र व्यक्तित्व तथा संगठनको टकरावका बीच यसपटक सर्लाही–४ को जनमत को तर्फ जाला भन्ने प्रश्नले राजनीतिक वृत्तलाई कौतुहल बनाइरहेको छ ।
अहिले मतदाता संख्या कति ?
सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत बरहथवा, गोडैता र बलरा नगरपालिका तथा बसबरिया, विष्णु, धनकौल र रामनगर गाउँपालिका पर्दछन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको पछिल्लो तथ्याङ्क अनुसार २०७९ को तुलनामा यसपटक मतदाताको संख्या ७.५७ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, ८ हजार ५ सय १८ नयाँ मतदाता थपिएसँगै अब सर्लाही ४ मा कुल मतदाता संख्या १ लाख २१ हजार १२ पुगेको छ । यस क्षेत्रमा कुल ५१ वडा रहेका छन् । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख २१ हजार १२ रहेको छ । मतदानका लागि ८१ मतदान स्थल र १ सय ५४ मतदान केन्द्र तोकिएका छन् ।
यहाँ रहेका ८१ वटै मतदान स्थल सुरक्षाको दृष्टिले ‘अति संवेदनशील’ सूचीमा परेका छन् । सीमावर्ती क्षेत्र, विगतका चुनावी अनुभव र बहुकोणीय प्रतिस्पर्धाका कारण सुरक्षालाई प्रमुख चुनौतीका रूपमा हेरिएको छ ।
सर्लाही–४ को निर्वाचन यस पटक केवल स्थानीय प्रतिस्पर्धामा सीमित छैन । कांग्रेसको परम्परागत विरासत जोगाउने प्रयास, पार्टी नेतृत्वको प्रतिष्ठा, बागी राजनीतिबाट उदाएका अमरेश सिंहको निरन्तर प्रभाव र नयाँ राजनीतिक शक्तिको उपस्थिति—यी सबै पक्षले यो निर्वाचनलाई विशेष बनाएका छन् ।
अब सर्लाही–४ का मतदाताले कसलाई रोज्छन् भन्ने कुराले न केवल यस क्षेत्रको प्रतिनिधित्व तय गर्नेछ, फेरि मधेशको राजनीतिक दिशा र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्नेछ ।