काठमाडौं । ललितपुर–३ मा डा. तोसिमा कार्की पुनः मैदानमा उत्रिँदा पुराना दल साख फर्काउने रणनीतिमा छन् । २०७० यता दोहो¥याएर कसैले जित्न नसकेको इतिहासका बीच कार्कीले विरासत जोगाउने कि परिणाम फेरिने भन्ने प्रश्नले यो क्षेत्रको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनको सरगर्मीबीच सबैजसो उम्मेदवार घरदैलोमा छन् । दलीय गठबन्धन नहुँदा सबै आआफ्नो निर्वाचन चिन्हका साथ प्रचारमा छन् । अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी भएकी रास्वपाकी कार्कीसँगै पुराना र नयाँ पार्टीका उम्मेदवार प्रतिस्पर्धामा छन् । कार्की जीत जोगाउने चुनौतीमा रहँदा अन्य उम्मेदवार यसपटक उनलाई रोक्ने रणनीतिमा देखिन्छन् । यो क्षेत्रको चुनावी इतिहास रोचक छ । दोहो¥याएर जितेको सहज विगत छैन । ०७० मा जितेका कांग्रेसका मदन अमात्य ०७४ मा पराजित भए । ०७४ मा जितेकी पम्फा भुषाल ०७९ मा पराजित भइन् । ०७९ मा जितेकी तोसिमा कार्कीलाई यही भएर पनि अलि बढी नै दौडधुप परेको छ । उनले ०७० यताको चुनावी इतिहास तोड्छिन् वा पुनरावृत्ति, हुन्छ ? चासोका साथ हेरिएको छ ।
०७९ को चुनावमा कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्कालाई १८ हजार १ सय ७३ मतको भारी अन्तरले पराजित गरेकी थिइन् । तत्कालीन ऊर्जा मन्त्री तथा माओवादी केन्द्रकी नेत्री पम्फा भुसाल तेस्रो स्थानमा सीमित भएकी थिइन् । जितको विरासत जोगाउन कार्कीलाई यसपटक सहज छैन । यो क्षेत्रमा गुमेको साख फर्काउन कांग्रेस–एमाले लागिपरेका छन् । उज्यालो पार्टीसहितका नयाँ दल र स्वतन्त्र उम्मेदवार पनि ०७९ मा कार्कीले निकालेजस्तै अनपेक्षित जित निकाल्ने दौडमा छन् ।
ललितपुर–३ विगतमा वामपन्थी गढका रुपमा परिचित क्षेत्र हो । ०७४ मा वाम गठबन्धनकी उम्मेदवार भुसाल निर्वाचित भएकी थिइन् ।
डर पुरानै पार्टीको
ललितपुर–३ को पछिल्ला परिणामलाई हेर्दा दोहो¥याएर चुनाव कुनै पनि दल वा उम्मेदवारका लागि सहज देखिँदैन । ०७४ को ‘वाम वर्चस्व’ र ०७९ को ‘वैकल्पिक लहर’ बीच अहिलेको चुनावको लहर कता जान्छ भन्ने टुंगो छैन ।
तर, रास्वपा उम्मेदवार कार्की यसपटक पनि आफूले चुनाव जित्ने दाबी गर्छिन् । सांसदका रुपमा आफूले गरेका काम र अधुरा योजनालाई पूर्णता दिने एजेन्डासहित उनी मत मागिरहेकी छन् । उनले राज्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा गरेको सुधार, संसद्मा उठाएका नागरिकका आवाज र इमानदार राजनीतिको जगमा पुनः मत पाउने आशा राखेकी छन् । तर, मतदाताहरूले भने यस पटक उनीसँग विकासका ठोस नतिजा र निर्वाचन क्षेत्रमा उनको नियमित उपस्थितिबारे प्रश्न राखिरहेका छन् । कतिपय ठाउँमा त उनी प्रतिरक्षात्मक बन्न पुगेकी छन् । तर, उनलाई जित्न सक्ने उम्मेदवारकै रुपमा रास्वपाले राखेको छ । यद्यपि ०७९ मा कांग्रेसले माओवादीसँग चुनावी गठबन्धन गरेको थियो । जसअनुसार आफ्नो उम्मेदवार नदिई माओवादीकी भुसालका लागि जोडबल गरेको थियो । कांग्रेस समर्थकलाई त्यसले थपेको निराशाको लाभ उठाएकी कार्कीलाई यसपटक कांग्रेस उम्मेदवारले थप चुनौती थप्ने देखिन्छ ।
साख जोगाउने कसरत
०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका मदनबहादुर अमात्य विजयी भएका थिए । उनले एमाले र माओवादीका उम्मेदवारहरूलाई पराजित गरेका थिए । तर, उनी ०७४ को निर्वाचनमा वाम गठबन्धनकी पम्फा भुसालसँग झिनो मतान्तर अर्थात १ हजार ७ सय ८ ले पराजित भए । ०७९ को निर्वाचनमा कांग्रेसले माओवादीसँग गठबन्धनका कारण पार्टीबाट उम्मेदवार उठाएन ।
तर, यसपटक कांग्रेसले ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठलाई मैदानमा उतारेको छ । स्थानीय, भूगोलमा भिजेको र जिल्लामा काम गरेका कारण श्रेष्ठलाई बलियो दाबेदारका रुपमा हेरिएको छ । बदलिएको कांग्रेसको सन्देश र भावी प्रधानमन्त्रीमा गगन थापाको नारा लिएर उनी मत मागिरहेका छन् । श्रेष्ठका लागि यसअघिको विजेता कार्कीको राजनीतिमा देखिने उपस्थिति र अहिलेको नयाँ दलप्रतिको आकर्षण मुख्य चुनौती हुने ठानिएको छ । कांग्रेस संगठनात्मक मत र स्थानीय पहिचानका आधारमा नतिजा उल्ट्याउने तयारीमा छ ।
एमाले पनि उत्साही
रास्वपाको लहर देखिएको ०७९ को निर्वाचनमा यो क्षेत्रमा एमालेका उम्मेदवार अमृत खड्का १२ हजार ९ सय ६३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी बनेका थिए । जबकी ०७९ मा कांग्रेस र माओवादी गठबन्धनकी ‘हेभिवेट’ मानिएकी पम्फा भुसाल तेस्रो भएकी थिइन् । ०५१ र ०५६ मा एमालेका रघुजी पन्त यो क्षेत्रबाट निर्वाचित भएका थिए ।
एमालेले फागुन २१ को चुनावका लागि सन्दन थापामगरलाई उम्मेदवार बनाएको छ । ललितपुर–३ को शहरी र ग्रामीण दुवै भेगमा एमालेका टोल कमिटी र भ्रातृ संगठनहरू सक्रिय छन् । ललितपुर महानगरपालिकाका केही वडाहरूमा एमालेको राम्रो पकड छ । ललितपुर महानगरका ५ वटा वडा जितेको एमाले अरु वडामा निकटतम प्रतिस्पर्धी थियो । एमालेले वडा तहमा देखाएको प्रदर्शनले यस क्षेत्रमा बलियो उपस्थिति देखाउँछ । उसो त प्रदेश (१)मा एमालेका रघुनाथ महर्जन ०७९ मा निर्वाचित भएका थिए । यसले पनि एमालेको उपस्थिति कमजोर छैन भन्ने देखाउँछ । आफ्नो संगठन एकताबद्ध बनाउने, नयाँ मतदाता तान्ने र चुनावी परिणाम आफ्नो पक्षमा पार्नेगरी एमालेले चुनावी अभियान चलाइरहेको छ ।
नेकपा पनि छैन कमजोर
२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको ‘वाम गठबन्धन’ यस क्षेत्रमा निकै बलियो देखिएको थियो । तत्कालीन समयमा माओवादी नेतृ पम्फा भुसालले २४ हजार ३६ मत प्राप्त गर्दै विजयी हासिल गरेकी थिइन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यसपटक राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ । ०७९ मा ललितपुर–३ (१) मा माओवादी केन्द्रका राजकाजी महर्जन उम्मेदवार थिए । उनले ९ हजार ८० मत प्राप्त गरे पनि जित्न सकेनन् । अहिले उनै महर्जनलाई नेकपाले उम्मेदवार बनाएको छ । वामपन्थी अरु घटक पनि जोडिएकाले महर्जन यसपटक चुनाव जित्ने दाबी गर्छन् । तर, रास्वपा, कांग्रेस र एमालेको चुनौती सामना गर्न नेकपाका लागि सहज भने देखिएको छैन ।
नयाँ शक्तिको प्रभाव
यस क्षेत्रमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट डा. विजय पन्तको उम्मेदवारीले पनि चर्चा बटुलेको छ । स्वास्थ्य सुधारको एजेन्डा बोकेका पन्त र अन्य स्वतन्त्र उम्मेदवारहरूले काट्ने मतले मुख्य प्रतिस्पर्धीहरूको हार–जितमा ठुलो असर पार्ने विश्लेषण गरिएको छ । यद्यपि पन्त भने चुनावी अभियानमा सकारात्मक प्रतिक्रिया पाइरहेको र ०७९ को परिणामले अनपेक्षित नतिजा दिएको चर्चा गर्दै परिणाम आफ्नो पक्षमा आउने दाबी गर्छन् ।
२० उम्मेदवार मैदानमा
ललितपुर–३ मा स्वतन्त्र ५ सहित २० जना उम्मेदवार छन् । डा. तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जितेन्द्रकुमार श्रेष्ठ कांग्रेस, सन्दन थापा मगर एमाले, राजकाजी महर्जन नेकपा, सबिनकुमार खड्का राप्रपा, रमिला महर्जन नेमकिपा, डा. विजय पन्त उज्यालो नेपाल, कृष्णदेवी महर्जन जसपा, निल गोविन्द महर्जन राजमो, यज्ञप्रसाद पन्त नेकपा (संयुक्त), खगेन्द्र महर्जन नेकपा (माओवादी), ऋतुवर्तन राई श्रम संस्कृति, श्यामबहादुर राई संयुक्त नागरिक, डिल कुमार महर्जन मंगोल नेशनल र विष्णुराज खड्का प्रलोपाबाट उम्मेदवार छन् । यस्तै, स्वतन्त्र उम्मेदवारहरू अञ्जु करञ्जित, रुपेश शाह, विमर्श मिश्रा, अशोजकुमार महर्जन र राधेश्याम खड्का छन् ।
मतदाता ८.८ प्रतिशत बढेको क्षेत्र
यस क्षेत्रमा ललितपुर महानगरपालिका वडा नं १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २५ र २९ का साथै गोदावरी नगरपालिकाका वडा नं १२ र १४ समेत गरी कूल १७ वटा वडा पर्ने गर्छन् ।
यस क्षेत्रमा कुल १ लाख २ हजार ४३७ मतदाता छन् । ०७९ को निर्वाचनको तुलनामा करिब ८.८ प्रतिशतले यो संख्या धेरै हो । महिला मतदाता ५३ हजार २६ छ भने पुरुष मतदाता ४९ हजार ४ सय ११ छ ।