भक्तपुर । मुलुकका जुनसुकै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरोस् नेपाल मजदुर किसान पार्टीले निराश हुन नपर्ने एउटा खास क्षेत्र छ । त्यो हो भक्तपुर–१ । यहाँ अरु पार्टीलाई कहिल्यै सजिलो छैन । देशभर दलहरुका प्रभावशाली उममेदवारबीच प्रतिस्पर्धा छ । तर, यहाँ अन्य क्षेत्रमा जस्तो कतै नयाँ नतिजा आइहाल्छ की भन्ने बहस कम छ । बरु मतदाताबीच चर्चा भएको सुनिन्छ – यसपटक जितको मतान्तरचाहिँ कम हुन्छ की !
उनीहरुले यसो भन्नुको कारण यसअघिको चुनावी नतिजा हो । ०७९ को चुनावमा अरु सबै उम्मेदवारको मत जोड्दा भन्दा पनि धेरै मतान्तरले नेमकिपाका प्रेम सुवाल निर्वाचित भएका थिए । सुवालले ४२ हजारभन्दा बढी मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धीले जम्मा करिब १२ हजार मत प्राप्त गरेका थिए ।
भक्तपुर–१ नेमकिपाको गढ मानिन्छ । २०४८ देखि लगातार चुनाव जितिरहेको यो क्षेत्रमा नेमकिपाका प्रेम सुवाल ह्याट्रिक जितको तयारीमा रहँदा अन्य दल गढ भत्काउन कसरतमा छन् । विगतको चुनावी नतिजालाई हेर्ने हो भने नेमकिपाका प्रेम सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गर्दा एमालेका नवराज गेलालले ११ हजार ९६८ र राप्रपाले ९ हजार ३ सय ३ मत प्राप्त गरेका थिए । यो मतान्तरलाई कम गर्दै जित निकाल्नु अरु प्रतिस्पर्धीका लागि असम्भव नभए पनि सहज भने छैन ।
बिजुक्छे पथमा सुवाल, देखिन्छन् ढुक्क
२०७९ को निर्वाचनमा ३० हजारभन्दा बढीको फराकिलो मतान्तरले विजयी भएका प्रेम सुवाल यस पटक पनि बलियो उम्मेदवारका रूपमा मैदानमा छन् । ०४८ देखि ७० सम्म भएका ५ वटा चुनाव यो क्षेत्रमा नेमकिपका नारायणमान बिजुक्छेले जितेका थिए । अहिले सुवाल नारायणमान पथमा छन् । ०७४ र ०७९ मा जितेका सुवाल यसपटक जित्दै ह्याट्रिक गर्ने गृहकार्यमा छन् । उसो त सुवाल र नेमकिपामा सदाबहार संसद्मा प्रतिपक्षी दल हो । सरकारमा नजाने घोषित नीति नै छ भने स्थानीय सरकारमा जहाँ उसले जितेको छ, त्यहाँ नमूना काम गरेको छ । विपक्षीहरुले समेत भक्तपुर नगरपालिकाको कामको प्रशंसा गर्ने गरेका छन् ।
भक्तपुर नगरभित्रको सुदृढ संगठन, स्थानीय विकासको नमुना र संसद्मा खेलेको भूमिका नै सुवालको जितको बलियो आधार मानिएको छ । उनी भन्छन्, ‘हाम्रो प्रतिस्पर्धा विचार र सिद्धान्तसँग हो, व्यक्तिसँग होइन,’ उनी भन्छन् ।
यो क्षेत्रमा पर्ने भक्तपुर नगरपालिकामा १० वटै वडासहित सबै पद नेमकिपाले जितेको छ । नेमकिपाका सुनिल प्रजापतिले ३७ हजार २२५ मत ल्याएर मेयरमा विजयी हुँदा कांग्रेसले ३ हजार ३ सय ५२ र एमालेले २ हजार ९४४ मत पाएको थियो । चाँगुनारायण नगरपालिकामा भने कांग्रेसले ९ हजार ५ सय ५० मत ल्याएर मेयर जित्दा एमालेले ९ हजार १ सय ६० र नेमकिपाले ४,३७४ मत पाएको थियो । भक्तपुर नगरपालिकामा एकलौटी संगठन र चाँगुनारायणको विभाजित मतले नेमकिपाका लागि सहजता थपेको छ ।
प्रदेश सभा सदस्यको क्षेत्र भक्तपुर–१ (१) मा भने कांग्रेसले संगठन बलियो बनाउँदै लगेको छ । ०७६ को उपनिर्वाचन र ०७९ मा कांग्रेसले प्रदेश सभा जितेको छ । अर्कोतिर रास्वपाको पक्षमा देखिएको ह्वीम छ । कांग्रेस र रास्वपाले यसपटक सुवाललाई चुनौती दिनसक्ने ठानिएको छ ।
कांग्रेस प्रदेशबाट प्रतिनिधिसभामा फैलन खोज्दै
भक्तपुर–१ (१) मा कांग्रेसको संगठन बलियो देखिन्छ । ०७६ (उपनिर्वाचन) र ०७९ मा कांग्रेसले प्रदेशसभा जितेको छ भने चाँगुनारायण नगरपालिकामा पनि कांग्रेसले मेयर जितेको छ । अहिले कांग्रेस बदलिएको र देश बदल्ने, गगन थापालाई भावी प्रधानमन्त्री बनाउने भन्ने एजेण्डाले कांग्रेसप्रति मतदातामा केही आकर्षण बढाएको छ । यसको लाभ कांग्रेसले उठाउन सक्ने आकलन गरिएको छ ।
कांग्रेसबाट किरण न्यौपाने उम्मेदवार छन् । चाँगुनारायण नगरपालिकाका उनी स्थानीय स्तरमा भिजेका व्यक्तित्व हुन् । भक्तपुर–१ मा नगरपालिका क्षेत्र (नेमकिपाको गढ) भन्दा बाहिर पर्ने चाँगुनारायण नगरपालिकामा उनको राम्रो व्यक्तिगत र राजनीतिक प्रभाव रहेको कांग्रेस अगुवाहरुको दाबी छ ।
लामो समयदेखि अलपत्र रहेको भक्तपुर–नगरकोट सडक खण्डको निर्माण सम्पन्न गराउने कुरालाई उनले मुख्य मुद्दा बनाएका छन् । चाँगुनारायण क्षेत्रमा खानेपानीको चरम समस्या समाधान गर्न नयाँ योजनाहरू ल्याउने र चाँगुनारायण क्षेत्रमा रहेका भूमिहीन र जग्गाको लालपुर्जा नभएका स्थानीयका समस्या समाधान गर्ने, र नेमकिपाको पुरानो विरासतलाई ‘युवा र आधुनिक’ सोचले चुनौती दिने उनको दाबी छ । तर, लहर र चुनावी मुद्दालाई खासै प्रभाव नपार्ने यो क्षेत्रमा यसपटक केही नयाँ भयो भने आश्चर्य हुनेछ । सके जित्ने र नसके मतान्तर घटाउने योजनामा कांग्रेस देखिन्छ । उनका लागि चाँगुनारायण नगरपालिकामा बढिरहेको रास्वपा प्रभाव र एमाले चुनौती पनि सहज हुनेछैन ।
एमालेका पाका अनुभवी नेता मैदानमा
भक्तपुर–१ मा एमाले ०७९ मा दोस्रो भएको थियो । भारी मतान्तरले पछि पर्दा उसले जम्मा ११ हजार ९ सय ६८ मत प्राप्त गरेको थियो । एमालेले फागुन २१ को चुनावमा पुराना नेता सोमप्रसाद मिश्रलाई मैदानमा उतारेको छ । मिश्र चाँगुनारायण नगरपालिकाका पूर्वमेयर हुन् । चाँगुनारायण नगर क्षेत्रमा उनको प्रभाव रहेको मानिन्छ । एमालेको संगठित मत र उनको व्यक्तिगत लोकप्रियताले उनलाई बलियो प्रतिस्पर्धी बनाएको छ ।
तर, भक्तपुर नगरपालिका क्षेत्रभित्र मत तान्न उनी र उनको पार्टीलाई सधैं कठिन हुने गरेको छ । यसपटक कांग्रेसका किरण न्यौपाने र रास्वपाका रुकेश रञ्जितसँगको त्रिपक्षीय प्रतिस्पर्धाले उनलाई थप चुनौती थप्ने छ । मिश्रले आफूलाई अनुभव र विकासको वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेका छन् । उनी नेमकिपाको लामो विरासतलाई तोडेर भक्तपुरमा एमालेको झण्डा फहराउने दाउमा छन् ।
रास्वपा पनि जितको खोजीमा
नेमकिपाको गढ भत्काउन यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले रुकेश रञ्जितलाई मैदानमा उतारेको छ । नयाँ पुस्ताका मतदाता र चाँगुनारायण क्षेत्रमा रास्वपाले आफ्नो प्रभाव बढाउन खोजेको देखिन्छ । नेमकिपाका बलियो संगठन, कांग्रेस र एमालेजस्ता परम्परागत दलसँग प्रतिस्पर्धा गर्नु रुकेशका लागि ठूलो चुनौती हो । उनले भक्तपुरका मतदातालाई मत बदल्न आग्रह गरिरहेका छन् ।
दुई नगरपालिका
भक्तपुर–१ अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका सबै वडा पर्छन् । दुइटा नगरपालिकाका १९ वटा वडा हेर्दा संख्यामा सानो लागे पनि यो क्षेत्र ठूलो छ । भक्तपुरदेखि नगरकोटसम्म फैलिएको भूभागमा कतिपय वडाका एउटै मतदानस्थलमा १२ हजार जनाभन्दा बढी मतदाता छन् ।
भक्तपुर नगरपालिका नेमकिपाको गढ मानिन्छ । चाँगुनारायण नगरपालिकामा भने मिश्रित जनमत छ । ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १० वटै वडा नेमकिपाले जितेको छ । चाँगुनारायणमा भने नेमकिपाले वडा नं. ९ को वडाध्यक्ष मात्रै जितेको छ । अरू वडामा भने कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष निर्वाचित भएका छन् ।
२५ उम्मेदवार मैदानमा
यो क्षेत्रमा १६ राजनीतिक दल र ९ जना स्वतन्त्र गरी २५ जना उम्मेदवार छन् । नेमकिपाका सुवाल, कांग्रेसका किरण न्यौपाने, एमालेका सोमप्रसाद मिश्र, राप्रपाका भरतबहादुर खड्का, राजमोका ईश्वरीप्रसाद पैयानी, रास्वपाका रञ्जित उम्मेदवार छन् ।
त्यस्तै प्रलोपाका रवि खाइजू, नेकपा माओवादीका चन्द्रमान कोजू, नेकपा संयुक्तको दामोदर काफ्ले, नेपालका लागि नेपाली पार्टीका दीपककुमार पोखरेल, आमजनता पार्टी (एकल चुनाव चिह्न) देवेन्द्र ठाकुर, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, उज्यालो नेपाल पार्टीका रमेश बल्ल, जसपा नेपालका श्यामसुन्दर शिल्पकार, मितेरी पार्टी नेपालका सावित्री न्यौपाने र नेपाल कम्युनिस्ट पार्टीका हरिराम लबजू उम्मेदवार छन् । यो क्षेत्रमा कुल मतदाताको संख्या १ लाख ७ हजार ५४ छ । जसमा महिला ५४ हजार ९ सय ८८ र पुरुष ५२ हजार ६६ छ ।
भक्तपुर–१ को चुनावी इतिहास
२०४८ नारायणमान बिजुक्छे नेमकिपा
२०५१ नारायणमान बिजुक्छे नेमकिपा
२०५६ नारायणमान बिजुक्छे नेमकिपा
२०६४ नारायणमान बिजुक्छे नेमकिपा
२०७० नारायणमान बिजुक्छे नेमकिपा
२०७४ प्रेम सुवाल नेमकिपा
२०७९ प्रेम सुवाल नेमकिपा