नेभिगेशन
खेलकुद

नाजी सलाम बन्यो घातक

रियल म्याड्रिड र बेन्फिकाबीचको च्याम्पियन्स लिग खेलका दौरान रंगशालामा नाजी सलाम (एक प्रकारको प्रतिबन्धित फासीवादी संकेत) गर्ने आफ्नै क्लबका एक सदस्यलाई रियल म्याड्रिडले प्रतिबन्ध लगाएको छ । उनी दर्शकका रुपमा रंगशालामा उपस्थित थिए । खेल सुरु हुनुअघि नै टेलिभिजन क्यामेरामा कैद भएका ती व्यक्तिलाई क्लबले तत्कालै पहिचान गरी सान्टियागो बेर्नाबेउ रंगशालाबाट बाहिर निकालेको थियो । उनको नाम भने गोप्य राखिएको छ ।
क्लबले एक विज्ञप्ति जारी गर्दै ती सदस्यलाई स्थायी रूपमा निष्कासन गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । खेलकुद र समाजमा घृणा फैलाउने यस्ता कार्यहरूको कडा निन्दा गर्दै रियल म्याड्रिडले हिंसा र भेदभावविरुद्ध शून्य सहनशीलता अपनाउने स्पष्ट पारेको छ ।
यो खेल हुनुअघि नै दुई क्लबबीचको सम्बन्धमा तनाव उत्पन्न भइसकेको थियो । अघिल्लो लेगको खेलमा बेन्फिकाका खेलाडी जियानलुका प्रेस्टियान्नीले रियलका स्टार भिनिसियस जुनियरमाथि जातीय दुव्र्यवहार गरेको आरोप लागेको थियो । यद्यपि प्रेस्टियान्नीले ती आरोपहरू अस्वीकार गर्दै आएका छन्, तर युएफाले अनुसन्धान नसकिउन्जेल उनलाई मैदान उत्रिन प्रतिबन्ध लगाएको थियो । उनको पुनरावेदन समेत खारेज भएपछि उनले यो महŒवपूर्ण खेल गुमाउनु परेको थियो ।
मैदानभित्रको नतिजामा रियल म्याड्रिडले बेन्फिकालाई २–१ ले हराउँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित ग¥यो । टोलीको जितमा गोल गरेका भिनिसियस जुनियरले खेलपछि सामाजिक सञ्जालमा जातीयवाद विरोधी ब्यानरको तस्बिर राख्दै ‘नृत्य जारी छ’ भन्ने ब्यानर टाँगिएको थियो ।
खेलपछि बोल्दै रियलका मिडफिल्डर ओरेलियन चुआमेनीले यो जित फुटबलको मात्र नभई जातीयवादविरुद्ध लड्ने सबैको साझा विजय भएको बताए । प्रशिक्षक आल्भारो आर्बेलोआले पनि भिनिसियसको प्रदर्शनको प्रशंसा गर्दै उनी यस्तो सफलताको हकदार रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्