काठमाडौं (एजेन्सीहरू)– अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी मारिएको पुष्टि भएपछि मध्यपूर्व गम्भीर द्वन्द्वतर्फ धकेलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनी मारिएको घोषणा गर्दै उनलाई ‘इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ बताएका थिए । केही घण्टापछि इरानी सरकारी टेलिभिजनले कालो ब्यानरसहित विशेष प्रसारण गर्दै ८६ वर्षीय नेताको निधन पुष्टि ग¥यो । इरानले ४० दिनको राष्ट्रिय शोक र सात सार्वजनिक बिदा घोषणा गरेको छ ।

शनिबार बिहान सुरु भएको अमेरिका–इजरायल संयुक्त सैन्य अभियानमा तेहरानसहित विभिन्न रणनीतिक लक्ष्यमा प्रहार गरिएको दाबी गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले २०० लडाकू जेटमार्फत ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको र आवश्यक परेसम्म कारबाही जारी रहने चेतावनी दिए । अमेरिकी पक्षले आक्रमण ‘आसन्न खतरा हटाउन’ गरिएको बताएको छ ।
आक्रमणमा खामेनी नजिकका उच्च अधिकारीहरू पनि मारिएको इरानी न्यायपालिकाले जनाएको छ । रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपोर र शीर्ष सुरक्षा सल्लाहकार अली शामखानी ‘सहिद’ भएको पुष्टि गरिएको छ । खामेनीको स्पष्ट उत्तराधिकारी सार्वजनिकरूपमा तोकिएको थिएन, जसका कारण नेतृत्व संक्रमणलाई लिएर अन्योल बढेको छ । सरकारी टेलिभिजनका अनुसार राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ अधिकारीले अस्थायीरूपमा जिम्मेवारी सम्हालेका छन् । निर्वासित शाहका छोरा रेजा पहलवीले यस घटनालाई ‘इस्लामिक गणतन्त्रको अन्त्यतर्फको संकेत’ भएको बताएका छन् ।
खामेनीको मृत्यु पुष्टि भएसँगै इरानले तत्काल प्रतिआक्रमण सुरु गरेको छ । रिभोलुसनरी गाड्र्सले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमणको पहिलो लहर प्रहार गरेको जनाएको छ । इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमका अनुसार तेल अभिभ क्षेत्रमा एक महिलाको मृत्यु भएको र कम्तीमा २१ जना घाइते भएका छन् । देशभर खोज तथा उद्धार टोली परिचालन गरिएको छ ।
खाडी क्षेत्रमा पनि तनाव फैलिएको छ । संयुक्त अरब इमिरेट्सले अबुधाबी र दुबईमा १३७ मिसाइल र २०९ ड्रोन प्रहार भएको दाबी गरेको छ । अबुधाबी विमानस्थलमा कम्तीमा एक जनाको मृत्यु भएको र केही घाइते भएको जनाइएको छ । कतारले आफूविरुद्ध प्रहार गरिएका अधिकांश क्षेप्यास्त्र रोकेको दाबी गरेको छ भने बहराइनस्थित अमेरिकी पाँचौं फ्लीट आसपास विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इरानले रणनीतिक होर्मुज जलडमरूमध्ये बन्द गर्ने कदम चालेको घोषणा गरेको छ, जसबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुँदै आएको छ ।
क्षेत्रीय तनाव पाकिस्तानसम्म फैलिएको छ । कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमाथि आक्रमण प्रयासका क्रममा कम्तीमा आठ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको उद्धार सेवाले जनाएको छ । लाहोर र इस्लामाबादमा पनि प्रदर्शन चर्किएको छ ।
अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सैन्य कारबाहीले नियन्त्रणबाहिर जाने घटनाक्रम निम्त्याउन सक्ने चेतावनी दिए । युरोपेली नेताहरूले संयमता र वार्तामा फर्किन आग्रह गरेका छन् । बेलायत, फ्रान्स र जर्मनीले संयुक्त विज्ञप्ति जारी गर्दै कूटनीतिक समाधानमा जोड दिएका छन् ।
रुस र चीनले आक्रमणको कडा निन्दा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई मानव नैतिकता र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भनेका छन् । चिनियाँ विदेश मन्त्रालयले इरानको सार्वभौमिकतामाथिको गम्भीर अतिक्रमण भन्दै तत्काल सैन्य कारबाही रोक्न आग्रह गरेको छ ।
आक्रमणपछिको अवस्थालाई लिएर संयुक्त राष्ट्रसंघको आणविक एजेन्सी (आईएईए)ले असाधारण बैठक बोलाउने निर्णय गरेको छ । इरानको आणविक कार्यक्रमको भविष्य र सम्भावित सुरक्षा जोखिमबारे अन्तर्राष्ट्रिय समुदायमा चासो बढेको छ ।
यसबीच खाडीका धेरै देशले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्णरूपमा बन्द गरेका छन् । हजारौं अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्, जसले विश्वव्यापी हवाई यातायातमा ठूलो अवरोध सिर्जना गरेको छ ।
तेहरानबाट सुरु भएको यो घटनाक्रम अब खाडी क्षेत्र हुँदै विश्व शक्तिहरूलाई प्रत्यक्षरूपमा तान्दै गएको छ । खामेनीको मृत्यु, इरानको तीव्र प्रतिआक्रमण र महाशक्तिहरूको कूटनीतिक टकरावले मध्यपूर्वलाई नयाँ, सम्भावितरूपमा व्यापक क्षेत्रीय युद्धको संघारमा उभ्याएको विश्लेषकहरूले चेतावनी दिएका छन् ।
१७ लाखभन्दा बढी नेपाली प्रभावित, धैर्यको सरकारी अपिल
अमेरिका–इरान तनाव चर्किएर खाडी क्षेत्रमा द्वन्द्व फैलिँदा पश्चिम एसियाका विभिन्न देशमा रहेका १७ लाखभन्दा बढी नेपाली नागरिक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इरान, यूएई, साउदी अरब, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा गरी हाल १७ लाख २९ हजार २८८ नेपाली छन् ।
मन्त्रालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न मुलुकमा रहेका नेपालीलाई धैर्य गर्न र सम्बद्ध राजदूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ ।
मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी श्रेष्ठका अनुसार उक्त तथ्यांक सम्बन्धित देशस्थित नेपाली दूतावासबाट लिखित रूपमा प्राप्त भएको हो । ‘यो सरकारी निकायबाट प्राप्त डाटा भएकाले वैध रूपमा बसेका नेपालीको संख्या हो,’ उनले भने, ‘अवैध रूपमा बस्दै आएका केही व्यक्ति यसमा समेटिएका नहुन सक्छन् ।’ हाल इरानमा ६ जना नेपाली रहेको जानकारी पनि मन्त्रालयले दिएको छ ।
द्वन्द्वका कारण खाडी क्षेत्रका धेरै देशले हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् । त्यसको असर नेपालबाट रोजगारीका लागि जाने र बिदा सकेर फर्किने नेपालीमा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।
बर्दियाका किशोर पुन शनिबार कतार जान विमानस्थल पुगे पनि उडान स्थगित भएपछि फर्किन सकेनन् । ‘हिजो एयरपोर्टमै सुतेर रात बिताएँ, अब कहिले फ्लाइट हुन्छ थाहा छैन,’ उनले भने । कैलालीकी सरला विक पनि साउदी अरब जान नपाई विमानस्थल धाइरहेकी छन् । दुबई फर्किन लागेका मोरङका दिलीपप्रसाद राजवंशी टिकट रिफन्ड तथा पुनः उडानबारे अन्योलमा छन् । ‘दुबईको एयरपोर्ट बन्द छ भन्छन्, तर अब के गर्ने भन्ने स्पष्ट छैन,’ उनले गुनासो गरे ।
नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले गन्तव्य देशका विमानस्थल अनिश्चितकालका लागि बन्द भएकाले अवस्था सामान्य नभएसम्म उडान सञ्चालन सम्भव नभएको बताइन् । यात्रुलाई टिकट रिफन्ड वा पुनः तालिकाबारे कार्यालयमै सम्पर्क गर्न आग्रह गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले उडान खुल्नु तीन–चार घण्टाअघि यात्रुलाई जानकारी गराउन एयरलाइन्सलाई निर्देशन दिइएको बताए ।
सरकारले भने विदेशस्थित नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ट्रान्जिटमा वा गन्तव्य मुलुकका विमानस्थलमा अलपत्र परेका नेपालीलाई तत्काल फर्काउन नसकिने भएकाले जहाँ छन् त्यहीँ सुरक्षित राख्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री बालानन्द शर्माले ‘अवस्था सामान्य छैन, सबै विमानस्थल बन्द छन्, त्यसैले तत्काल उद्धार सम्भव छैन,’ भन्दै सम्बन्धित दूतावासलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको बताए ।
परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै खाडी मुलुकमा रहेका नेपालीलाई सकेसम्म घरभित्रै सुरक्षित बस्न, स्थानीय प्रशासनका सुरक्षा निर्देशन पालना गर्न र दूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालका अनुसार हालसम्म उक्त क्षेत्रमा रहेका नेपाली सुरक्षित छन् र घटनाक्रम नजिकबाट अनुगमन भइरहेको छ । सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राखी ‘¥यापिड एक्सन टिम’ गठन गर्ने तयारी पनि गरिएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मध्यपूर्वका आठ दूतावास र दुई कन्सुलर कार्यालयमार्फत निरन्तर समन्वय भइरहेको छ । ‘नेपाली नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने ।
द्वन्द्व लम्बिँदै गए खाडी क्षेत्रमा कार्यरत लाखौं नेपाली श्रमिकको रोजगारी, आवागमन र दैनन्दिन जीवनमा थप असर पर्ने चिन्ता बढेको छ । सरकार र दूतावासले संयम अपनाउन तथा आधिकारिक सूचना मात्रै विश्वास गर्न आग्रह गर्दै नेपालीलाई धैर्य र सतर्कता अपनाउन अपिल गरेका छन् ।