नेभिगेशन
प्रदेश

मतदान सामग्री ढुवानी अन्तिम चरणमा

विराटनगर । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा आवश्यक मतदान सामग्री ढुवानी कार्य अन्तिम चरणमा छ । प्रदेश निर्वाचन कार्यालय मोरङले सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयहरूमा चरणबद्ध रूपमा सामग्री पठाइरहेको जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १, २ र ४ का लागि आवश्यक मतपेटिका, घेराबारा लगायत ४९ प्रकारका मतदान सामग्री पठाउने काम जारी छ । मतपत्र र सुरक्षा सिल भने यसअघि नै सम्बन्धित कार्यालयहरूमा पु¥याइसकिएको छ । निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालका अनुसार सोमबारसम्म सबै निर्वाचन अधिकृतका कार्यालयहरूमा आवश्यक सामग्री पु¥याइसक्ने लक्ष्य छ । उनका अनुसार अघिल्ला निर्वाचनहरूमा ५१ प्रकारका सामग्री पठाइने गरिए पनि यसपटक छाप लगाउँदा प्रयोग हुने म्याट र झोला आयोगबाट नपठाइएको हो । आवश्यक सामग्रीको अभाव हुन नदिन अतिरिक्त सामग्रीसमेत पठाइएको उनले जानकारी दिए ।
निर्वाचन अधिकृतका कार्यालयहरूले मतदानमा खटिने कर्मचारीहरूलाई नियुक्तिपत्र वितरण गरिसकेका छन् । साथै, मतपत्र प्याकिङ कार्य पनि सम्पन्न भइसकेको छ । फागुन १८ गते बेलुकासम्म सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रमा पुगिसक्ने कार्यतालिका तय गरिएको छ ।
यससँगै राजनीतिक दलहरूसँग छलफल गरी मौन अवधि लगायतका सूचनाहरू सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन प्रदेश निर्वाचन कार्यालय र जिल्ला सुरक्षा निकायबीच आवश्यक समन्वयसमेत भइरहेको बताइएको छ ।
प्रदेश निर्वाचन कार्यालय मोरङले प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा एक–दुई पोका अतिरिक्त मतदान सामग्री तथा करिब १० वटा थप मतपेटिका पठाइएको जनाएको छ, ताकि आकस्मिक अवस्था आएमा तत्काल व्यवस्थापन गर्न सकियोस् ।
मोरङ जिल्लामा ६ वटा निर्वाचन क्षेत्र छन् । जिल्लाभर ३०६ मतदान स्थल र दुई वटा अस्थायी मतदान केन्द्रसहित कुल ८९० मतदान केन्द्र तोकिएका छन् । यस निर्वाचनमा मोरङका ७ लाख ८३ हजार ५० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा समग्र तयारी अन्तिम चरणमा पुगेको र तोकिएको मितिमा व्यवस्थित ढंगले मतदान सम्पन्न गराउन सम्पूर्ण संयन्त्र सक्रिय रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्