नेभिगेशन
प्रदेश

सर्लाही २ मा नेकपाको चुनौती कांग्रेस, रास्वपाबीच टक्करको सम्भावना

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही निर्वाचन क्षेत्र नम्बर २ यतिबेला देशकै चासोको केन्द्र बनेको छ । मधेस राजनीतिका दुई प्रभावशाली तथा अनुभवी नेता महेन्द्र राय यादव र राजेन्द्र महतो पुनः एउटै निर्वाचन क्षेत्रमा आमनेसामने भएपछि चुनावी अहिले सर्लाही २ को माहोल तातेको छ । महतो राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष हुनु भने यादव नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता हुन् । यसपटकको प्रतिस्पर्धा अझ बहुआयामिक बनेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सर्लाही जिल्लाका कार्यवाहक सभापति डा. सरोजकुमार राय, नेकपा एमालेका नागेश्वर साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोको उम्मेदवारीले चुनावलाई त्रिकोणात्मक मात्र होइन, बहुपक्षीय बनाएको छ ।
आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही २ मा उम्मेदवारहरुले हूलाकी सडक,खानेपानी,शिक्षा, कृषि, रोजगार,स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
महेन्द्र राय यादव र राजेन्द्र महतो दुवै मधेस आन्दोलनका प्रमुख हस्तीका रूपमा परिचित हुनुहुन्छ । मधेसी अधिकार, पहिचान, संघीयता र समावेशी प्रतिनिधित्वका मुद्दामा लामो समयदेखि सक्रिय यी दुई नेताबीचको प्रतिस्पर्धा नयाँ भने होइन ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का तर्फबाट महिन्द्र राय यादव समानुपातिकतर्फ सांसद बनेका थिए । २०४८ सालयता भएका निर्वाचनमा २०६४ सालमा मात्र प्रत्यक्ष उम्मेदवार बनेका थिएनन् । २०६४ सालमा तत्कालीन सदभावना पार्टीका उम्मेदवार बनेर सर्लाही–४ बाट राजेन्द्र महतो निर्वाचित भएका थिए । त्यो निर्वाचनमा तमलोपा र सदभावना पार्टीबीच चुनावी तालमेल समेत भएको थियो । महिन्द्र राय यादव २०४८ सालदेखि उम्मेदवार बन्दै आएका छन् । २०४८ सालमा नेकपा मानन्धर समूहबाट उम्मेदवार बनेर पराजित भएका महिन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर १ बाट २०५१ र २०५६ सालको निर्वाचन एमालेबाट जितेका हुन् । त्यसयताका सबै निर्वाचन यादवले जित्दै आएका छन् । महिन्द्र राय यादवले  हूलाकी सडक,खानेपानी,शिक्षा, कृषि, रोजगार,स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
२०६४ सालदेखि कम्युनिस्ट राजनीति छोडेर मधेस केन्द्रित राजनीतिमा होमिएका महिन्द्र राय यादव २०७९ सालदेखि फेरि कम्युनिस्ट पार्टीमा लागेका हुन् । राजेन्द्र महतोले सुरूदेखि नै मधेस केन्द्रित पार्टीको राजनीति गर्दै आएका छन् । २०४८ र २०५१ सालमा तत्कालीन सदभावना पार्टीबाट उम्मेदवार बनेर पराजित भएका महतो २०५६ सालमा भने विजयी भएका थिए ।
यादव र महतोबीच २०७० सालमा पनि प्रतिस्पर्धा भएको थियो । त्यो निर्वाचनमा पनि महतो पराजित भएका थिए । यादवले तराई–मधेस सदभावना पार्टीका तर्फबाट निर्वाचन जितेका थिए भने महतो सदभावना पार्टीका उम्मेदवार थिए । २०७० को निर्वाचनमा यादव र महतोले सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिस्पर्धा गरेका थिए । २०७४ सालमा भने यादव र महतो एउटै पार्टीमा थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महिन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट विजयी भएका थिए भने राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ मा गएका थिए । तेस्रो मधेस आन्दोलनको रापतापको बलमा जनकपुर पुगेका महतोले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई हराएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राजेन्द्र महतो धनुषा–३ बाट विजयी भएका थिए ।
२०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर महिन्द्र राय यादव विजयी भएका थिए । २०७९ सालको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका राजेन्द्र महतो दोस्रो भएका थिए ।
२०७९ मा भने सर्लाही–२ मा महिन्द्र राय यादव र राजेन्द्र महतो आमनेसामने भएका थिए, जहाँ महिन्द्र राय यादवले दुई हजार ११ मतान्तरले राजेन्द्र महतोलाई पराजित गरेका थिए । २०७९ को निर्वाचनमा यादवले २३,५२९ मत पाएका थिए भने महतोले २१,५१८ मत प्राप्त गरेका थिए ।
राजेन्द्र महतो चूनाबी एजेन्डा संबिधान र सासन सबैनेपालीका पहूजमा हूनू प्रर्छ मधेसि जनताको अधिकार र पहीचानको एजेन्डा राजेन्द्र महतोको ३५ वर्षदेखिको राजनीतिक मूख्य एजेन्डा रहदै आएको बताए । हुलाकी सडक,खानेपानी,शिक्षा, कृषि, रोजगार,स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
यता कांग्रेस उम्मेदवार नेपाली कांग्रेस सर्लाहीका सभापति डा. सरोज रायले पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछन् । सर्लाही ४ मा सभापति गगन थापा उम्मेदवार बनेकाले २ नम्बरमा त्यसको प्रभाव देखिने उनको बुझाइ छ । सभापति थापा मधेस झरेपछि कांग्रेसको पक्षमा जबर्जस्त माहोल बनेको भन्दै सर्लाहीका चारै जना उम्मेदवार विजयी हुने रायले दाबी गरेका छन ।
रास्वपाले मधेसी समुदायका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि मधेस तरंगित छ । युवा पंक्ति रास्वपाप्रति आकर्षित देखिँदा पुराना र मधेसवादी दलका उम्मेदवार दबाबमा देखिन्छन् । रास्वपा उम्मेदवार रबिन महतो जनताको समस्या, सपना र भविष्यको नारा दिएर चुनावी मैदानमा छन् । यादबले सर्लाही २ मा आफ्नो पक्षमा अझै माहोल बढाउन सक्छन् या सक्दैनन्, निर्वाचनको नतिजा त्यसैले तय गर्ने देखिन्छ ।
प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र न. २ मा मलंगबा, हरिपूर्वा, कबिलासी, ईश्वरपूर नगरपालिका साथै कौडेना, पर्सा, ब्रह्मपुरी, विष्णु गाउँपालिका रहेका छन् । मलंगवा नगरपालिका हरिपूर्वा नगरपालिका सबै वडाहरू यो निर्वाचन क्षेत्रमा पर्दा कबिलासि नगरपालिकाको ८, ९, १० ईश्वरपुर नगरपालिकाको १५ नम्बर वडा मात्र पर्छ । कौडेना, पर्सा, ब्रह्मपुरी गाउँपालिका सबै वडाहरू यो निर्वाचन क्षेत्रमा पर्छन् । विष्णु गाउँपालिकाको ५, ६, ७, ८ वडा सर्लाही क्षेत्र नम्बर २ मा पर्छ । सर्लाही क्षेत्र नम्बर २ मा ४९ वडा रहेका छन् । क्षेत्र नम्बर २ मा १ लाख २५ हजार ३११ मतदाताका लागि ७.७ मतदानस्थलमा १५८ केन्द्र स्थापना गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्