नेभिगेशन
प्रदेश

मधेशका सभामुख रामआशिष यादव ‘महामूर्ख’ घोषित

काठमाडौँ । मधेश प्रदेशसभाका सभामुख रामआशिष यादव ‘महामूर्ख’ घोषित भएका छन्। होरी पर्वका अवसरमा मिथिला नाट्य कलापरिषद्ले जनकपुरमा आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यस वर्षको ‘महामूर्ख’को उपाधि सभामुख यादवलाई प्रदान गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका तथा जनक मन्दिरको सह–आयोजनामा गरिएको दई दिने होरी महोत्सव तथा महामूर्ख सम्मेलन गरिएको थियो।

सभामुख यादवलाई मिथिला नाट्यकला परिषद्का अध्यक्ष सुनिल मल्लिक, पूर्वअध्यक्ष प्रमेश झा, सुनिल मिश्रलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।

सोही कार्यक्रममा आधुनिक शिक्षामा योगदान दिएबापत राकेश कर्णलाई वैशाखानन्द, मैथिली अभियानी विभा झालाई तिलविखनी, कानुन व्यवसायी विपिनकुमार झालाई लवरसट्का, पत्रकार एवं साहित्यकार हिमांशु चौधरीलाई जी हजुरिया सम्मानले सम्मानित गरिएको छ।

कवि एवं साहित्यकार दिगम्बर झा दिनमणिलाई पोना पण्डित, शिक्षासँगै संस्कार दिने निजी विद्यालयका सञ्चालक विश्वलाल सिंहलाई पटमूर्ख, जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख अञ्जु पाण्डेलाई मनतोरिया, न्युरो सर्जन डा।विजय राउतलाई विसखोपडा, उद्योगपति प्रदीप चौधरीलाई तरघुस्ताले सम्मानित गरिएको छ।

महामूर्ख सम्मेलनमा ह्यान्डबलका खेलाडी पवन कर्णलाई बज्रकिट, सुन व्यवसायी पवन ठाकुरलाई डपोरशङ्ख, मिथिला चित्रकार राजकुमारी मण्डललाई तरघुस्की, युवा लव अधिकारीलाई लोढाशङ्कर तथा नेपाल टेलिभिजनका मैथिली समाचार वाचक दीपक कर्णलाई लम्बोदर सम्मानले सम्मानित गरिएको छ।

कार्यक्रममा बोल्दै सभामुख रामआशिष यादवले महामूर्खको उपाधिले सम्मानित हुन पाएकामा खुसी व्यक्त गर्दै मिथिला नाट्यकला परिषद्ले मिथिलाको कला, संस्कृति र संस्कारलाई जीवन्त राखेकामा खुसी व्यक्त गरे।

महामूर्ख सम्मेलनमा दिगम्बर झा दिनमणि, पुनम झा मैथिल, पत्रकार सन्तोष कर्ण, विजयदत्त मणिसहितका कविले होरीमा आधारित कवितावाचन गरेका थिए । कार्यक्रममा मिथिला नाट्यकला परिषद्का कलाकारहरूले दोकान नाटक क्षणिकाका साथै विभिन्न प्रकारका होरीका गीतहरू गाएका थिए। (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्