नेभिगेशन
अर्थतन्त्र

खाडीको तनावले पेट्रोल पम्पमा भीड

काठमाडौं । खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ अभाव हुने भयले काठमाडौंका पेट्रोल पम्पहरूमा लामो लाइन देखिन थालेको छ । इन्धन आपूर्ति असहज हुने आशंकामा पम्पमा सवारीधनीहरूको भीड बढ्दा वितरण परिमाण दुई दिनमै ह्वात्तै बढेको छ । तर नेपाल आयल निगमले देशभर इन्धन आपूर्ति र मूल्यमा तत्काल कुनै समस्या नरहेको दाबी गरेको  छ ।
इरान, अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १३ प्रतिशतसम्म बढेको छ । तेल उत्पादक क्षेत्रमै तनाव चुलिँदा त्यसको असर नेपालमा पनि पर्न सक्ने त्रास उपभोक्तामा देखिएको हो । यही मनोवैज्ञानिक प्रभावका कारण काठमाडौं उपत्यकामा पेट्रोल र डिजेलको बिक्री अस्वाभाविक रूपमा बढेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोल र डिजेल नियमित रूपमा आइरहेको छ । ‘हामीले फागुन १६ गते मात्र स्वचालित मूल्य प्रणालीअनुसार दुई साताका लागि मूल्य समायोजन गरिसकेका छौं । अब १५ दिनसम्म मूल्य यथावत् रहन्छ, तत्काल वृद्धि हुँदैन,’ उनले भने । उनका अनुसार बजारमा देखिएको भीड वास्तविक अभावका कारण नभई मनोवैज्ञानिक त्रास हो ।
ठाकुरले आफूले समेत बजार अनुगमन गरी अवस्था बुझेको बताउँदै केही पम्पमा लाइन देखिए पनि सामान्य अवस्थामा वितरण भइरहेको उल्लेख गरे । ‘भण्डारण पर्याप्त छ, अभाव हुँदैन,’ उनले भने । उपभोक्तालाई अनावश्यक रूपमा नआत्तिन र इन्धन सञ्चय गरेर नराख्न उनको आग्रह छ । अत्यधिक सञ्चयले कृत्रिम अभाव सिर्जना गर्नुका साथै आगलागी वा दुर्घटनाको जोखिम बढाउन सक्ने उनले बताए । 
निगमका अनुसार नेपालमा दैनिक करिब २ हजारदेखि २ हजार ५ सय किलोलिटर पेट्रोल र करिब ४ हजार किलोलिटर डिजेल खपत हुन्छ । पाइपलाइनमार्फत २४ घण्टामा ६ हजारदेखि ७ हजार किलोलिटर इन्धन आपूर्ति भइरहेको छ, जुन आन्तरिक मागभन्दा बढी हो । काठमाडौं उपत्यकामा सामान्यतया दैनिक ८ सय किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेल खपत हुने गरेकामा आइतबार पेट्रोलको बिक्री १ हजार ६ सय ५० किलोलिटर र डिजेल १ हजार २ सय ५० किलोलिटर पुगेको तथ्यांक निगमले सार्वजनिक गरेको छ ।
नेपालले भारतसँग प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । भारतले विभिन्न देशबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर नेपालसहित छिमेकी देशलाई बिक्री गर्छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भए पनि तत्काल आपूर्ति अवरुद्ध हुने अवस्था नरहेको निगमको दाबी छ ।
उता आगामी प्रतिनिधिसभा निर्वाचन र लगातार सार्वजनिक बिदालाई ध्यानमा राख्दै निगमले विशेष आपूर्ति योजना लागू गरेको छ । निर्वाचन अवधिमा सम्भावित माग वृद्धि र ढुवानी अवरोधको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिनमा पनि देशभरका प्रादेशिक कार्यालय, डिपो र शाखा कार्यालय खुला राख्ने निर्णय गरिएको छ ।
निगमका अनुसार कोशीको विराटनगर, मधेशको अमलेखगञ्ज, बागमतीको थानकोट, गण्डकीको पोखरा र लुम्बिनीको भैरहवा प्रादेशिक कार्यालयहरू बिदाका दिन सञ्चालनमा रहनेछन् । त्यस्तै महेन्द्रनगर (धनुषा), नेपालगञ्ज, सुर्खेत, धनगढीका डिपो तथा चारआली (झापा) र वीरगंज शाखा कार्यालय पनि तोकिएको समयअनुसार खुला रहनेछन् । बिदा अवधिमा कुनै प्राविधिक वा व्यवस्थापकीय समस्या आए तत्काल समाधान गर्न प्रत्येक कार्यालयमा जिम्मेवार सम्पर्क व्यक्ति तोकिएको निगमले जनाएको छ ।
निगमले बजार अनुगमनका लागि दुई टोली परिचालन गरिसकेको छ । आपूर्ति शृंखला नियमित रहेको, पर्याप्त मौज्दात रहेको र मूल्य दुई सातासम्म स्थिर रहने दोहो¥याउँदै निगमले हल्ला र अफवाहको पछि नलाग्न सर्वसाधारणसँग आग्रह गरेको छ । खाडी क्षेत्रको तनावले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भने अस्थिरता ल्याइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्