काठमाडौं (संवाददाता) – प्रधानमन्त्री केपी शर्मा ओली आगामी शुक्रबार छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको पाँचदिने भ्रमणमा जाँदैछन् । राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एसईओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणको तालिका बुधबार सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओली ‘शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सव’मा सहभागिता जनाउँदैछन् । भ्रमणका लागि शुक्रबार चीनतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भदौ १६ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । साथसाथै शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागी केही विश्व नेताहरूसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ । साथसाथै प्रधानमन्त्री ओलीले भदौ १७ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ताको कार्यक्रम रहेको छ ।
भदौ १८ मा बेइजिङमा आयोजना हुने ‘जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सवका स्मृति कार्यक्रम’मा सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।