नेभिगेशन
नेपाल

पाहा जोगाउने चुनौती

काठमाडौं । काली पाहाको अध्ययन तथा संरक्षणका लागि चितवनमा गरिएको अध्यननले मानवीय आनिबानिमा परिवर्तन र वासस्थानको संरक्षणका कार्य सँगै अगाडी बढाउनुपर्ने देखाएको छ ।
काली पाहाको संरक्षणका लागि चितवनको हात्तीवनमा एक वर्षे परियोजना सञ्चालन गरेको वातावरण संरक्षण तथा अध्ययन केन्द्रका जनक खतिवडाले काली पाहामाथि शोध गर्ने क्रममा विश्वका लागि नै नौलो प्रजातिका रुपमा चितवनको इच्छाकामना गाँउपालिकाको हात्तीबांग क्षेत्रबाट यो प्रजातिको अभिलेख गरेका थिए ।
विश्वभरका प्रजातिहरुको संरक्षणको अवस्था चित्रित गर्ने आईयूसिएनको रातो सूचीमा पछिल्लो समय काली पाहा संवेदनशील  सूचीमा रहेको छ । नेपालमा संरक्षणका हिसाबले उभयचरहरु खासै प्राथमिकतामा परेको देखिन्न । संरक्षणको आवश्यकता तथा संरक्षणका प्रयासबीचको अन्तर कम गर्नका निम्ति फिल्ड अध्ययन, घरधुरि सर्वेक्षण तथा इको क्लबमार्फत विद्यार्थीमा सचेतना फैलाउने उद्देश्यका साथ उक्त परियोजना सञ्चालन गरिएको केन्द्रकी अध्येता तथा परियोजनाकि संयोजक पुजा पौडेलले जनाइन् ।
विश्वभर हालसम्म ९००० भन्दा बढि उभयचरका प्रजातिको अध्ययन गरिएको छ भने मेरुदण्ड भएका प्रजातिहरु मध्य सबैभन्दा बढि संकटमा रहेका प्रजातिमा उभयचरहरु पनि पर्दछन् ।
उभयचरहरुले किरा फट्याग्रा जस्ता प्रजातिको नियन्त्रणमा साथै खाद्यचक्रको माथिल्लो तहमा रहेका प्रजातिका आहाराका रुपमा काम गर्ने भएकाले उनीहरुको विशिष्ठ पारिस्थितिकीय महत्व छ । यी प्रजाति सफा पानीका स्रोतमा मात्र बस्ने भएकाले काली पाहाले पारिस्थितिकिय प्रणालीको स्वच्छताको सुचकको रुपमा पनि काम गर्छ ।
फिल्ड सर्बेक्षणको लागि हात्तिबांगमा अवस्थित बिजोक खोला, तोबांग खोला र रिद्धि खोलामा दिउसो र बेलुकाको समयमा सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणमा ३ वटा पाहा प्रजाति मध्ये काली पाहा, ढ्यांग पाहा र पहेंले पाहा रेकर्ड गरिएको थियो ।
सामाजिक  सर्वेक्षण अन्तर्गत २०७ घरधुरीमा गरिएको सर्वेक्षणले  करिब ८० प्रतिशत उत्तरदाताहरु पाहा सिकार गर्ने काममा संलग्न भएको पाइएको अध्ययनमा संलग्न रीति पाठकले जनाइन् ।
वातवरण अध्ययन तथा संरक्षण केन्द्रका प्रविन लामाका अनुसार यस कार्यक्रमले स्थानीय समुदाय र विद्यार्थीहरुमा उभयचर संरक्षणको सन्देश दिन सकिएको बताए । वातवरण अध्ययन तथा संरक्षण केन्द्रका अध्यक्ष  नारायण निरौला अनुसार केन्द्रले नियमित रुपमा सञ्चालन गरिरहेको ‘क्रोकिंग मनसून’ कार्यक्रमका रुपमा यो कार्यक्रम सञ्चालन गरिएको जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्