नेभिगेशन
प्रदेश

निर्वाचन सामग्रीसहितको गाडी दुर्घटना, दुईको मृत्यु

रामेछाप । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परी रामेछापमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख डा. केशव धामीले जनाए ।
मन्थली अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ । उनी रामेछाप नगरपालिका– २ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए । मृतक घिमिरे मन्थली नगरपालिका– ७ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको खुलेको छ ।
सोमबार अपराह्न निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको निशान ट्रक रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको सिरुवारी भिरबाट खसेको थियो । दुर्घटनामा ६ जना घाइते भएका थिए । ३ जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । यसअघि दुर्घटनास्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको थियो ।
रामेछाप नगरपालिका –२ स्थित शीतलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत रवीराज खड्काका अनुसार उनीसहित तीन जना गाडीबाट हाम फालेर बाँच्न सफल भएका हुन् । दुर्घटनामा घाइते भएका दुई जना पुरुष र तीन जना महिलालाई उपचारका लागि नेपाली सेना को हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्