नेभिगेशन
नेपाल

निर्वाचन अनुगमन गर्न मानव अधिकार आयोगको उच्चस्तरीय टोली देशैभर परिचालित

काठमाडौं । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली परिचालन गरेको छ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलका अनुसार काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न जिल्लामा आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारीसमेत सहभागी हुने उच्चस्तरीय अनुगमन टोली गठन गरिएको छ।

यसअघि आयोगले निर्वाचनपूर्व विभिन्न जिल्लामा अनुगमन गरी प्राप्त तथ्यका आधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई ध्यानाकर्षण गराइसकेको जनाएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभई मानव अधिकारसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषय हो। आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गर्दछौँ।”

मौन अवधि सुरु भइसकेको सन्दर्भमा आयोगले निर्वाचन आचारसंहिताको पालना गर्दै धैर्यता र संयमताका साथ मतदान प्रक्रियामा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेको छ।

“निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु सरकारको दायित्व हो भने यसलाई सफल बनाउन राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी तथा आमनागरिकको कर्तव्य हो,” विज्ञप्तिमा उल्लेख छ।

आयोगले निर्वाचन अवधिमा शान्ति सुरक्षामा आवश्यक सतर्कता अपनाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा मानव अधिकारमैत्री बनाउन सरकारलाई निर्देशन दिएको छ। साथै स्वास्थ्य सेवा, एम्बुलेन्स, शववाहन, सञ्चार, पानी, दूध, इन्धन आपूर्ति, असक्त मतदाताका लागि सवारी साधन तथा हवाई उडानजस्ता अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल