नेभिगेशन
नेपाल

परराष्ट्रले बनायो ‘इमर्जेन्सी रेस्पोन्स टिम’

काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै कूटनीतिक र प्रशासनिक पहल सुरु गरेकोे छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले उक्त क्षेत्रमा रहेका करिब १८ लाख नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कूटनीतिक र प्रशासनिक पहलहरू सुरु गरेको बताएको हो । 
इरानमाथि इजरायल र अमेरिकाको आक्रमणपछि खाडीमा तनाव छ । इरानले जवाफमा अमेरिकी सैनिक बेसहरु राखिएका मुलुकलाई लक्ष्य गर्दा खाडीमा संकट बढेको छ । खाडीका मुलुकहरुका उल्लेख्य संख्यामा नेपाली छन् । कतार, यूएई, साउदी अरब लगायतका देशमा रहेका अमेरिकी क्याम्पमा इरानले जवाफी कारवाही गर्दा अवस्था तनावग्रस्त बन्न पुगेको छ ।
खाडी क्षेत्रका दर्जनौं उडान रद्द हुँदा त्यहाँ जाने तयारी अवस्थामा रहेका र स्वदेश फर्कन लागेका नेपाली अलपत्र परेका छन् ।  
पश्चिम एसियाका देशहरुमा रहेका नेपालीहरूको सुरक्षा र समन्वयका लागि सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा एक ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ । टोलीमा प्रधानमन्त्री कार्यालय, गृह, अर्थ, कानुन, पर्यटन, र शिक्षा मन्त्रालयका सहसचिवहरूका साथै वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागका प्रतिनिधिहरू छन् । यो टोलीले द्रुत र समन्वित रूपमा कार्य सम्पादन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी मृत्यु भएका नेपाली युवा दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । यूएई सरकारबाट प्राप्त जानकारीअनुसार मृतकको परिवारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सूचना दिइसकिएको परराष्ट्रले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको र सोहीअनुसार मन्त्रालयले काम गरिरहेको बताए । नेपालीको सुरक्षा र समन्वयका लागि उक्त क्षेत्रका मुलुकमा अवस्थित नेपालका आठ दूतावास र दुई महावाणिज्य दूतावासबाट नियमित सूचना लिने र समन्वय भइरहेको जानकारी उनले दिए ।  मन्त्रालयले एडभाइजरी जारी गर्दै सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको पनि पौडेलले बताए ।  
मन्त्रालयले सूचना प्रविधिको प्रयोग गर्दै उक्त क्षेत्रमा रहेका नेपालीहरूको अद्यावधिक विवरण संकलन गर्न कन्सुलर सेवा विभागमार्फत ‘अनलाइन डाटा कलेक्सन सिस्टम’ विकास गरेको छ । यस प्रणालीमार्फत संकलित विवरणले शीघ्र उद्धार, परामर्श र कन्सुलर सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।
पश्चिम एसियास्थित १० वटा नेपाली नियोगहरूले त्यहाँका सरकारी निकाय र नेपाली समुदायसँग निरन्तर सम्पर्क गरिरहेको र दैनिक प्रतिवेदन मन्त्रालयमा पठाइरहेको पनि विज्ञप्तिमा जनाइएको छ । ‘मन्त्रालयले आवश्यकतानुसार सम्बन्धित मुलुकहरूका काठमाडौंस्थित नियोगहरू, अन्तर्राष्ट्रिय संघसंस्थाहरू तथा पश्चिम एसियास्थित नेपाली नियोगहरूमार्फत सम्बन्धित मुलुकका सरकारहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको छ । स्थिति सामान्य नभएसम्म यो पक्रिया जारी रहने छ,’ मन्त्रालयले भनेको छ, ‘ठूलो संख्यामा उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षासँग जोडिएको यस महŒवपूर्ण विषयप्रति सबैको चासो रहनु स्वाभाविक रहेको सन्दर्भमा उनीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको व्यहोरा जानकारी गराउँछौं । तसर्थ, सम्बन्धित मुलुकको सरकारले जारी गरेका एडभाइजरी र यस मन्त्रालय तथा त्यहाँस्थित नेपाली नियोगहरूबाट जारी भएका आधिकारिक सूचनाहरूमा मात्र विश्वास गर्न र सुरक्षाका उपायहरू पूर्णतः अवलम्बन गर्नुहुन अनुरोध छ । साथै, नजिकको नेपाली नियोग र नेपाली समुदायसँग सम्पर्कमा रहन मन्त्रालय सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’  
यूएईको घटनाबाहेक हालसम्म उक्त क्षेत्रमा रहेका र ट्रान्जिटमा रहेका अन्य सबै नेपालीहरू सुरक्षित रहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार खाडी क्षेत्र र आसपासका मुलुकहरूमध्ये हाल इरानमा ६, इजरायलमा ६ हजार ५ सय, इजिप्टमा ५ सय, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार, कुवेतमा १ लाख ७५ हजार, जोर्डनमा ३ हजार, बहराइन २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्समा श्रम स्वीकृति लिएर गएका ४ लाख ७८ हजार १४४ र भिजिट भिसामा गएका ४ लाख ३७ हजार ४४ जना, लेबनानमा १ हजार ५ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल करिब १९ लाख ४४ हजार ४७२ जना नेपाली छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्