नेभिगेशन
नेपाल
सम्पादकीय

गाउँ फर्किएका मतदाता र नयाँ बिहानीको आशा

लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो, निर्वाचन । निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेहरूको लर्कोले एउटा गहिरो सन्देश दिएको छ । मतदानलाई अधिकार मात्र होइन, कर्तव्य ठानेर लाखौँ नागरिक घर फर्किरहेका छन् । होली पर्व, लगातार सार्वजनिक बिदा र चुनावी माहोलले यात्रु संख्या बढाएको छ, तर त्यो भीडभाडको मूल प्रेरणा लोकतान्त्रिक सहभागिता हो ।
पछिल्लो एक सातामा तीन लाखभन्दा बढी मानिस उपत्यका छाडेका छन् । १४ फागुनयता नागढुंगा, बल्खु, साँखु, जगाती र माछापोखरी नाकामा सवारी चाप उल्लेख्य बढेको छ । दैनिक सात हजारभन्दा बढी यात्रुवाहक सवारी बाहिरिनु सामान्य दिनको तुलनामा धेरै हो । मधेश प्रदेशतर्फ विशेष चहलपहल देखिनु होली र निर्वाचन दुवैको संगम हो ।
यो केवल यात्राको आँकडा होइन, आशाको प्रवाह हो । पहिलो पटक मतदानमा सहभागी हुँदै गरेका जनेजी पुस्ताका नवयुवाहरु नयाँ राजनीतिक चेतनाको प्रतिनिधि हुन् । विशेषगरी जेनजी आन्दोलनपछि विकसित परिवेशमा हुन गइरहेको यो निर्वाचनलाई नयाँ पुस्ताले परिवर्तनको अवसरका रूपमा हेरेका छन् ।
नेपालले राजनीतिक अस्थिरताको अनेक चरण पार गरेको छ । संविधान बनेपछि पनि अस्थिरता, सत्ता समीकरणको फेरबदल, अविश्वास र असन्तोषका स्वर सुनिँदै आएका छन् । कतिपयले संविधान ‘मुच्र्छित’ भएको टिप्पणी पनि गरेका छन् । किनभने जुन अन्तरिम सरकारको गठन भएको थियो संविधानसम्मत थिएन, तर पनि त्यसले एउटा संकटलाई पार गरेको थियो । अब निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएपछि अर्को राजनीतिक गतिशीलता हुनेछ । तसर्थ, इतिहासले देखाएको छ, नेपाली समाजले संकटको घडीमा संयम गुमाएको छैन ।
जनआन्दोलन, भूकम्प, महामारी वा राजनीतिक संक्रमण जस्ता हरेक अवस्थामा नागरिकले धैर्य अपनाएर समाधानको बाटो रोजेका छन् । आजको निर्वाचन पनि त्यही धैर्यको निरन्तरता हो । यो केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन; यो राजनीतिक क्रमलाई पुनःजोड्ने महायज्ञ हो । संविधानलाई नयाँ ज्यान दिने, संस्थाहरूलाई पुनर्जीवित गर्ने र स्थिरताका लागि आधार निर्माण गर्ने अवसर हो ।
यस्तो संवेदनशील क्षणमा मिडियाको दायित्व अत्यन्त महत्वपूर्ण हुन्छ । मतदातालाई सूचित निर्णय लिन सक्षम बनाउनु नै मिडियाको पहिलो कर्तव्य हो । सूचना प्रवाह गर्दा सन्तुलन, तथ्यपरकता र स्रोत प्रमाणीकरणमा विशेष ध्यान दिनुपर्छ । डिसइन्फर्मेसन र अफवाहको जोखिम निर्वाचनमा उच्च हुन्छ । सामाजिक सञ्जालको तीव्र गतिले अपुष्ट सामग्री फैलिन सक्छ । त्यसैले न्युजरुमहरूले आचारसंहिता कडाइका साथ पालना गर्नुपर्छ । मिडियाले उत्तेजना होइन, स्पष्टता दिनुपर्छ; सनसनी होइन, सत्य प्रस्तुत गर्नुपर्छ । गाउँ फर्किएका नागरिकको आशा र अपेक्षालाई आवाज दिनु, उनीहरूको मुद्दा भनेको सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रणलाई बहसको केन्द्रमा राख्नु पनि मिडियाकै दायित्व हो ।
साथै नागरिक समाज लोकतन्त्रको प्रहरी हो भनिन्छ । निर्वाचन प्रक्रियामा पारदर्शिता, समावेशिता र निष्पक्षता सुनिश्चित गर्न नागरिक समाजले सक्रिय निगरानी गर्नुपर्छ । मतदाता शिक्षा कार्यक्रम, शान्तिपूर्ण वातावरण निर्माण, विवाद समाधानमा मध्यस्थता जस्ता सबै क्षेत्रमा नागरिक समाजको भूमिका अपरिहार्य हुन्छ । विशेषगरी नयाँ मतदाता, जेन–जी पुस्तालाई लोकतान्त्रिक मूल्य र प्रक्रियाबारे स्पष्ट सन्देश दिनु आवश्यक छ । मतदान केवल एक दिनको काम होइन; यो दीर्घकालीन जिम्मेवारीको प्रारम्भ हो भन्ने बोध गराउनु पनि नागरिक समाजकै कार्यक्षेत्र हो ।
राजनीतिक दलहरूका लागि यो परीक्षा त हुँदै हो । उम्मेदवार चयनदेखि प्रचार शैलीसम्म, उनीहरूले आचारसंहिता पालना गर्दै स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ । चुनाव जित्नु मात्र उद्देश्य नबनाएर, दीर्घकालीन सुशासनको प्रतिबद्धता देखाउनु आवश्यक छ । गाउँ फर्किएका मतदाता परिवर्तनको आशा लिएर गएका छन्; त्यो आशालाई निराशामा बदल्ने अधिकार कसैलाई छैन ।
निर्वाचन सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भइसकेका छन् । सवारी सञ्चालनमा अस्थायी रोक, संवेदनशील क्षेत्रमा सुरक्षा कडाइ जस्ता सबै कदमले निष्पक्ष र सुरक्षित मतदान सुनिश्चित गर्न सहयोग पु¥याउँछन् । तर सुरक्षा मात्र पर्याप्त हुँदैन । प्रशासनिक संयोजन, पारदर्शी मतगणना र समयमै परिणाम घोषणा पनि उत्तिकै महत्वपूर्ण छन् । यसमा सबै सरोकारवाला निकायको समन्वय आवश्यक छ ।
गाउँ फर्किएका नागरिक केवल मत हाल्न गएका होइनन्; उनीहरू आशा बोकेर गएका छन् । भ्रष्टाचार रोकियोस्, रोजगारीका अवसर सिर्जना होस्, विदेश पलायन कम होस्, यी उनीहरूको अपेक्षा हुन् । निर्वाचन सम्पन्न भएपछि पनि यो आशाको संरक्षण गर्नु सबैको साझा दायित्व हो । लोकतन्त्र एक दिनको उत्सव नभई निरन्तर अभ्यास हो ।
आज फेरि नेपाली समाजले संयम, धैर्य र जिम्मेवारी प्रदर्शन गर्ने अवसर पाएको छ । राजनीतिक अस्थिरता र गोलमालबीच पनि हामीले बारम्बार संकट चिरेर अघि बढेका छौं । यसपटक पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गरी देशलाई नयाँ दिशा दिनेछौं भन्ने विश्वास गर्न सकिन्छ । लोकतन्त्रको यो महायज्ञमा प्रत्येक मतदाताको मत आहुति होइन, ऊर्जा हो । यही ऊर्जाले मुच्र्छित संस्थाहरूलाई पुनर्जीवित गर्नेछ र नयाँ नेपालको यात्रालाई गति दिनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्