नेभिगेशन
अर्थतन्त्र

हिमाली बाली मानिने स्याउ तराईमा पनि फल्न थाले

कैलाली, ११ साउन - तराईको प्रचण्ड गर्मीमा स्याउजस्तो चिसो मौसममा फल्ने फलको व्यवसायिक खेती सुरु गर्दै कैलालीका एक युवा किसानले कृषि क्षेत्रमा नयाँ सम्भावना खोजेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ७ टेकुला टोलका हर्कबहादुर विकले छ बिघा जमिन भाडामा लिएर ११ सय बढी स्याउका बिरुवा रोपेका छन् । तराईको वातावरणमै फल्न सक्ने गोल्डेन, गाला, फुजी र रोटा उन्नत जातका स्याउका बिरुवा रोपेर प्रयोग गरिएको छ ।

‘गर्मीमा फल्ने स्याउको जानकारी पाएपछि यो खेतीतर्फ आकर्षित भएँ,’ बिकले भने, ‘अहिलेसम्म झण्डै छ लाख रुपैयाँ लगानी भइसकेको छ ।’ गोदावरीकै स्याउखेतीबाट प्रेरणा लिएका बिकले लम्कीचुहा–९, प्रतापपुरका किसान गोकर्ण ओलीको सफलता देखेपछि यो बाटो रोजेका हुन् । 

ओलीले २०७८ माघमा भारतको हिमाचल प्रदेशको विलासपुरबाट ल्याइएका बिरुवा प्रयोग गरेर ३ सिजनमा राम्ररी स्याउ फलाएका छन् । उनले ३ बिघा जमिनमा व्यवसायिक खेती गर्दै आएका छन् ।

स्याउसँगै बिकले अम्बा, सुन्तला, कागती, शीतलचिनी, टिमुर, केरा लगायतका अन्य फलफूल पनि उब्जाउँदै छन् । ‘दुई वर्षमै फल दिन सुरु गर्ने जात भएकाले स्याउले छिटो आम्दानी दिने आशा छ,’ बिकले बताए ।

कृषि ज्ञान केन्द्र कैलालीले यस खेतीलाई ‘परीक्षण चरणमा’ रहेको बताएको छ । सहायक प्रमुख टेकबहादुर बिष्टका अनुसार किसानलाई बिरुवा खरिद, सिँचाइ र तारबारका लागि अनुदान दिइएको छ । ‘परीक्षण सफल भए अन्य किसानलाई पनि स्याउखेतीमा प्रोत्साहित गर्ने योजना छ,’ उनले भने ।

नेपालले बर्सेनी भारतबाट करोडौँ रुपैयाँको स्याउ आयात गर्दै आएको छ । तराईमैं स्याउ उत्पादन सम्भव भएको देखिएमा त्यसको ठूलो आर्थिक लाभ लिन सकिने देखिन्छ । विशेषगरी तराईमा थुप्रै किसानसँग पर्याप्त जमिन भए पनि व्यावसायिक स्याउ खेतीको थालनी अहिले मात्र हुँदैछ ।

हिमाली बाली मानिने स्याउ तराईमा फल्न थालेपछि कृषक उत्साहित छन् । प्रारम्भिक प्रयोग सफल भएमा तराई क्षेत्रमा स्याउखेती कृषि व्यवसायको नयाँ विकल्प बन्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्