नेभिगेशन
प्रदेश

कालोबजारी र महँगी नियन्त्रण रोक्न माग

बुटवल, ११ भदौ - चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुहरूमा बढ्दो महँगी र कालोबजारी रोक्न सरकारले कडाइ गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । खुला सीमाका कारण विषादीयुक्त र अस्वस्थकर वस्तु बजारमा भित्रिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितताः उपभोक्ताको अधिकार, हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरूका तर्फबाट यस्तो माग उठेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कांग्रेस नेता अमरसिंह पुन लगायत नेताहरूले खुला सिमानाका कारण सीमावर्ती क्षेत्रहरू हुँदै अस्वस्थकर सामग्री नेपाल भित्रिने क्रम रोक्न आवश्यक रहेको बताए । उनीहरूका अनुसार यस्ता वस्तुहरू उपभोक्ताको भान्सासम्म पुगिरहेका छन् । यसका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यक्रमले उपभोक्ताको हक अधिकारका सवालमा संवाद सुरु गरेको बताए । उनले यो किसिमको अन्तरसंवादले उपभोक्तामैत्री नीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सरोकारवालाहरूको सुझावपछि उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले चाडपर्वलाई लक्षित गर्दै कालोबजारी र महँगी नियन्त्रणका लागि कडाइका साथ बजार अनुगमन गरिरहेको जानकारी दिए ।

‘चाडबाडको मौका छोपेर कालोबजारी गर्ने वा उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेहरूलाई सरकारले कडा कारवाही गर्छ,’ उपप्रधानमन्त्री सिंहले चेतावनी दिए । उनले वर्तमान सरकार जनताको जीवनस्तर र उपभोक्ता अधिकारप्रति गम्भीर रहेको बताए । ‘हामी उपभोक्ताको हक सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध छौँ,’ सिंहले भने ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेस नेताहरू, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यवसायी, उपभोक्ता संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कांग्रेसका उपभोक्ता विभाग प्रमुख गुरु बरालले यस्ता अन्तरसंवादले नीतिनिर्माणमा दबाब सिर्जना गर्ने बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्