नेभिगेशन
प्रदेश

ग्रहण र चुनावले होली प्रभावित

विराटनगर । मंगलबार लागेको चन्द्र ग्रहणका कारण तराई क्षेत्रमा परम्परागत रूपमा मनाइने होली पर्व प्रभावित भएको छ । बसन्त ऋतुको आगमनसँगै प्रेम, सद्भाव, मित्रता तथा रंग र अविरको उत्सवका रुपमा मनाइने होली यस वर्ष विराटनगरसहित तराईका अधिकांश स्थानमा निर्धारित दिनमा मनाइएन ।
मंगलबार सुतक परेकाले स्थानीयवासीले धार्मिक आस्थाअनुसार होली नमनाई बुधबार मनाउने निर्णय गरेका छन् । हिन्दु परम्पराअनुसार ग्रहण लागेको समयमा शुभकार्य नगर्ने चलन रहेकाले अधिकांश परिवारले रंग खेल्ने कार्यक्रम स्थगित गरेका हुन् । यद्यपि केही बालबालिका तथा युवाहरूले भने सामान्य रूपमा रंग खेल्दै पर्वको झल्को दिएका थिए ।
सरकारले तराई क्षेत्रमा मंगलबार सार्वजनिक बिदा दिएको भए पनि चन्द्र ग्रहण र निर्वाचनको मौन अवधिका कारण उत्साह देखिएन । बिदाका दिन बजार भने खुला रहेका थिए । रंग, अबिर, पिचकारी, पानीका ट्यांकी तथा अन्य सामग्री किन्न स्थानीयहरूको भीड देखिए पनि विगत वर्षहरूको तुलनामा व्यापार केही सुस्त देखिएको व्यापारीहरुले बताएका छन् ।
यसैबीच, प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सुरु भएको मौन अवधिले पनि होली पर्वको रौनक घटाएको छ । स्थानीय प्रशासनले मौन अवधिको पालना गर्न आग्रह गर्दै घरभित्रै सीमित रूपमा पर्व मनाउन, भोजभतेर तथा ठूलो जमघट नगर्न र कुनै पनि प्रकारका सभा–सम्मेलन आयोजना नगर्न सार्वजनिक सूचना जारी गरेको थियो । प्रशासनको उक्त निर्देशनपछि सार्वजनिक स्थानमा हुने सामूहिक होली कार्यक्रमहरु स्थगित भएका छन् ।
धार्मिक मान्यता र निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै धेरैजसो समुदायले संयमित रुपमा पर्व मनाउने तयारी गरेका छन् । केही सामाजिक संघ–संस्थाले पनि शान्तिपूर्ण र मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।
यस वर्षको होली पर्व चन्द्र ग्रहण र निर्वाचन मौन अवधिको दोहोरो प्रभावमा परेको देखिए पनि स्थानीयवासीले आपसी सद्भाव र भाइचाराको सन्देशलाई भने निरन्तरता दिने बताएका छन् । बुधबार ग्रहण सकिएपछि परम्पराअनुसार रंग खेल्दै उल्लासपूर्ण रुपमा होली मनाइने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्