नेभिगेशन
प्रदेश

बेहोस भएका मतदान अधिकृतको मृत्यु

सर्लाही । सर्लाहीमा मंगलबार एक मतदान अधिकृतको हृदयाघातबाट ज्यान गएको छ भने कञ्चनपुरमा म्यादी प्रहरीको मृत्यु भएको छ ।
सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतो अचानक बेहोस भएका थिए । उपचारार्थ प्रादेशिक अस्पताल मलंगवा पठाइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रारम्भिक अनुमानअनुसार हृदयाघातका कारण उनको मृत्यु भएको हो ।
रौतहटको माधवनारायण–६ घर भएका महतो सर्लाहीको बरहथवा–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेव थिए ।
उता कञ्चनपुरको पुनर्बास नगरपालिकामा खटिएका एक निर्वाचन प्रहरीको पनि उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार लालझाडी–३ बल्मी घर भई पुनर्बास–९ सीताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको मंगलबार निधन भएको हो ।
सोमबार राति खाना पकाउने क्रममा उनी अचानक बेहोस भएका थिए ।  धनगढीस्थित निःशर्ग अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा  मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्