महोत्तरी । देश निर्वाचनको माहोलमा रमाइरहेका बेला महोत्तरीसहितका आँप किसानका बगैंचामा रहेका आपँका बोटमा लहलहाउँदो गरी आँपका फूल लागेपछि उत्पादन राम्रो हुने आशामा किसानहरु खुशी भएका छन् ।
अहिले अधिकांश आँपका बगैंचा तथा घरआँगनका आँपका बोटमा झुरुप्पै हुने गरी फूल फुलेको छ । फूल राम्रो लागेकाले उत्पादन बढ्ने आशामा किसानहरू खुशी भएका हुन् । आँपको वर्षैपिच्छे फल हुने भए पनि एक वर्ष धेरै फल लाग्ने र अर्को वर्ष कम फल लाग्ने हुन्छ । ‘यस वर्ष फल्ने सिजन परेकाले उत्पादन बढ्ने आशा छ,’ कृषि ज्ञान केन्द्र महोत्तरीका बागवानी विकास अधिकृत अविरलकुमार महतोले बताए । महतोका अनुसार यस वर्षको फूलको आधारमा अनुमान गर्दा उत्पादन पोहोरको वर्षभन्दा तेब्बरसम्म हुन सक्ने देखिएको छ । तर मौसम अनुकूल भयो र हावाहुरी वा असिनाले क्षति गरेन भने मात्रै आशा गरेजस्तै अधिक उत्पादन हुनेछ ।
कृषि ज्ञान केन्द्र महोत्तरीका निमित्त प्रमुख देवानन्द राय यादवले यस वर्ष जिल्लामा आँप उत्पादन राम्रो हुने देखिएको बताए । ‘सबैतिरको रिपोर्ट हेर्दा यस वर्ष राम्रो उत्पादन हुने देखिन्छ,’ उनले भने ।
महोत्तरीको बर्दीबास, गौशाला, औरही, मटिहानी, मनरासिसवा र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमा आँप खेती हुने गरेको छ । बर्दिबास नगरपालिकाका खयरमारा, टुटेश्वर, ढुंगे, गढन्ता, चेरु, सोनापेटी, वरडाँडा, माईस्थान, पाटु, भब्सी, बिजलपुरा र पशुपतिनगरका अधिकांश किसानको मुख्य खेती नै आँप हो । गौशाला नगरक्षेत्रका पडरिया, कालीपुर, भरतपुर, लक्ष्मीनियाँ, फूलकाहा, बेलगाछी, कुस्माढी, रजखोर र रामनगर आँपका पकेट क्षेत्र हुन् । महोत्तरीको ६ हजार छ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ ।
महोत्तरीबाहेक मधेश प्रदेशका धनुषा, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ वटै जिल्लामा व्यावसायिक रूपमा आँप खेती गरिन्छ । यहाँको उष्ण प्रदेशीय माटोमा मालदह, दसहरी, आम्रपाली, बम्बई, कलकतियालगायतका जातका आँप हुन्छन् । कृषि ज्ञान केन्द्रका अनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमध्ये मधेश प्रदेशमा मात्र २९ हजार ९९ हेक्टरमा आँप खेती हुँदै आएको छ । कुल उत्पादनको ७७.१ प्रतिशत आँप मधेशमै उत्पादन हुन्छ ।
मधेशमा उत्पादन हुने आँपको माग काठमाडौँ, पोखरालगायतका ठुला सहरमा अत्यधिक रहने भएकाले फूल लागेसँगै व्यवसायीले बगैँचा नै ठेक्कामा लिने प्रचलन छ । हेरचाह तथा बजारसम्म ढुवानीको झन्झट कम गर्न किसानले पनि फूल लाग्नासाथ बगैंचा व्यापारीलाई ठेक्कामा दिने गरेका छन् ।