काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आज बिहीबार १ सय ६५ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । मतदान बिहान ७ बजेबाट शुरु हुनेछ । बेलुकी ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसक्नेहरुले मतदान गर्नसक्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भइसकेको बताउँदै मतदातालाई ढुक्कसँग मतदान गर्न आह्वान गरेका छन् । निर्वाचन तयारीबारे जानकारी दिन बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सञ्चालन र व्यवस्थापनको सबै तयारी पूरा भइसकेको बताए । निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न उनले मतदातालाई आग्रह गरे ।
‘संविधान र कानूनबमोजिम निश्चित उमेर पूरा भएको नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्वको कस्तो हुने भन्ने निर्धारण हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक एक मतले तय गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो ।’
आयोगले सबै मतदान केन्द्रमा कर्मचारी, आवश्यक सामग्री र सुरक्षाकर्मी पुगिसकेको पनि बताएको छ । ‘स्थानीय तह र मतदान केन्द्र स्तरमा राजनीतिक दलहरूसँग समन्वय गर्ने, मतदान बुथ निर्माण गर्ने र कर्मचारीहरूको कार्यविभाजन गर्ने काम भइसकेका छन् । निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सबै तयारीका कामहरू सम्पन्न भइसकेका छन्,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
गत भदौ २४ मा भएको जेनजी विद्रोहपछि ०७९ मा निर्वाचित प्रतिनिधिसभा विघटन भएको थियो । भदौ २७ गते तत्कालीन संसद् विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते (आज) प्रतिनिधिसभाको चुनाव गर्ने जिम्मेवारी तोकेर कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी तोकेका थिए । विभिन्न शंका र चुनौतीकाबिच कार्की नेतृत्वको अन्तरिम सरकारले चुनाव गराइरहेको हो ।
निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् । तथ्यांक अनुसार पुरुष मतदाता संख्या महिलाका तुलनामा केही बढी देखिएको छ । पुरुष मतदाता ९६ लाख ६३ हजार ३ सय ५८ छ भने महिला मतदाता ९२ लाख ४० हजार १ सय ३१ छन् । ०७९ को निर्वाचनमा भन्दा यसपटक करिब ८ लाख नयाँ मतदाता थपिएका छन् । जसमा युवाहरूको उल्लेख्य सहभागिता रहेको छ । नयाँ नपिएका मतदाताले भने मतदाता परिचयपत्र पाइसकेका छैनन् । उनीहरुले निर्वाचन आयोगले तोकेका अन्य सरकारी कागजात देखाएर मत हाल्न पाउने गरी व्यवस्था गरिएको छ ।
मतदानलाई सहज र व्यवस्थित बनाउन आयोगले देशभरि १० हजार ९ सय ६७ मतदान स्थल तोकेको छ भने ती स्थलहरूमा २३ हजार १ सय १२ मतदान केन्द्र छन् ।
यसैबीच, गृह मन्त्रालयले सुरक्षाको दृष्टिकोणबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ । मतदान अवधिभर निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव रमा आचार्यले जानकारी दिएकी छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गृहमन्त्री अर्यालले निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको बताए । उनले भने, ‘सबै सुरक्षा संयन्त्रहरू मतदानस्थलसम्म परिचालित भइसकेका छन् । आवश्यक परेको खण्डमा सहज नियन्त्रणको लागि सबै तयारी छ ।’ उनले निर्वाचन पहिलेभन्दा बढी सुदृढ, स्वच्छ र भयरहित हुने दाबी पनि गरे ।
बुधबार नै गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत आवश्यक जानकारी लिएको छ । करिब ३ घण्टा चलेको भर्चुअल बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको थियो । मन्त्रालयका अनुसार उक्त छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पुरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको छ ।
‘मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र प्रत्यक्षको परिणाम आउँछ’
प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सिटका लागि मतदान हुँदैछ । कतै पनि मतदान स्थगित भएन र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भयो भने फागुन २५भित्र नतिजा तयार गर्ने निर्वाचन आयोगको तयारी छ ।
मतपेटिका प्राप्त भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको मतपरिणाम आइसक्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । उनका अनुसार प्रत्यक्षको गणना भइरहँदा समानुपातिकको मतगणना पनि हुनेभन्दै समानुपातिकतर्फको पनि छिट्टै परिणाम आउने दाबी गरे ।
मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले शुरुमा प्रत्यक्षतर्फको मतगणना गर्ने गर्छ । त्यसपछि समानुपातिकतर्फको मतगणना हुन्छ ।
समानुपातिकको मत बाँडफाँटपछि निर्वाचन आयोगले सिटको बाँडफाँट गर्छं ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको एक साताभित्र निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र राष्ट्रपति समक्ष पठाउनुपर्ने निर्वाचन ऐनमा व्यवस्था छ ।
निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । अन्तिम मतपरिणाम आएको एक महिनाभित्र संघीय संसद्को बैठक बोलाउनुपर्ने व्यवस्था छ । संसद बैठक शुरु भएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । कुनै दलले स्पष्ट बहुमत ल्याएमा संविधानको धारा ७६(१) अनुसार सोही दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुनेछन् भने बहुमत नआएको अवस्थामा धारा ७६ का अन्य उपधाराअनुसार सरकार गठनतर्फ जानुपर्ने हुन्छ ।
यी मुख्य नेता, जसले आफैंलाई हाल्न पाउँदैनन् मत
निर्वाचनमा विभिन्न राजनीतिक दलका मुख्य नेताहरु चुनावी मैदानमा छन् । तर, केहीले आफैंले आफूलाई भने मतदान गर्न पाउने छैनन् । उम्मेदवारी दिएको निर्वाचन क्षेत्र र मतदाता नामावली रहेको ठेगाना फरक–फरक भएका कारण उनीहरूले प्रत्यक्षतर्फ आफ्नो नाममा मत खसाल्न नपाउने भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार छन् । ओलीको मतदाता नामावली भक्तपुर–२ मा छ ।
त्यस्तै, कांग्रेस सभापति गगनल थापाले पनि यसपटक आफूलाई मत दिन पाउनेछैनन् । काठमाडौंका थापा यसपटक सर्लाही–४ मा उम्मेदवार छन् । उनको मतदाता नामावली काठमाडौं–४ मा छ ।
त्यस्तै, नेपाली कम्ुनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अवस्था पनि उस्तै छ । रुकुम पूर्वबाट उम्मेदवार बनेका दाहालको मतदाता नामावलीमा नाम चितवन–३ मा छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पनि आफूलाई मत हाल्न पाउने छैनन् । चितवन–२ बाट उम्मेदवार लामिछाने काठमाडौं–३ का मतदाता हुन् भने झापा–५ बाट उम्मेदवार रहेका शाह काठमाडौं–२ का मतदाता हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं–१ मा उम्मेदवार छन् । उनी ललितपुर–१८ भैंसेपाटीका मतदाता हुन् । मिश्रले पनि आफूलाई मत दिन पाउने छैनन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि आफूलाई मतदान गर्ने छैनन् । सप्तरी–३ का उम्मेदवार उनी मोरङ–५ का मतदाता हुन् ।