नेभिगेशन
प्रदेश

‘सफल’को सफायामा वैकल्पिकको संलग्नता

सर्लाही । मलंगवास्थित पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्यामा संलग्नता आरोपमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ । 
हत्यामा मुख्य आरोपी लोकसेवा परीक्षामा यादवका प्रतिस्पर्धी महोत्तरी रामगोपालपुर–५ घर भई सर्लाही बरहथवा–९ शान्तिटोलमा बस्दै आएका ३४ वर्षीय गणेश कुमार महतो छन् । परीक्षामा यादव सफल भएका थिए भने महतोको नाउँ वैकल्पिकमा निस्किएको थियो । 
सिरहाको सुखीपुर–९ का घर भई हाल मलंगवा–१० मा डेरा गरी बस्दै आएका ३६ वर्षीय यादवमाथि फागुन ३ को साँझ गोली प्रहार भएको थियो । फोन गरेर डेराबाट बाहिर बोलाई उनलाई घरको बरन्डामै गोली हानिएको थियो । सख्त घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवा पु¥याइएका उनलाई  चिकित्सकले मृत घोषणा गरेका थिए । पोस्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु छातीमा लागेको गोलीका कारण भएको थियो ।
सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काका अनुसार यादवलाई हटाएर आफू स्थायी जागिरे हुने मनसुबाले महतोले घटना गराएको खुलेको छ । मधेश प्रदेश लोक सेवा आयोगद्वारा लिइएको सब–इन्जिनियर पदको परीक्षामा यादवसँगै महतो पनि परीक्षार्थी थिए । यादव सफल भए भने महतोको नाम एक मात्र वैकल्पिकमा निस्किएको थियो । 
नियमानुसार मुख्य सिफारिसमा परेकाले छाडेमात्रै वैकल्पिकको पालदो आउँछ । यादवको नियुक्ति भएको एक वर्षभित्र पद रिक्त भए वैकल्पिक उम्मेदवारको नाम सिफारिस हुने प्रावधानका कारण महतोले योजनाबद्ध रूपमा हत्या गराएको अनुसन्धानमा खुलेको एसपी खड्काले बताए । लोक सेवा आयोगको अन्तर्वार्ताका क्रममा उनीहरूबीच चिनजान भएको थियो ।
महतोले आफ्नो साला नाता पर्ने २२ वर्षीय चन्द्रकिशोर सिंह कुशवाहा र आफ्नै भाइ विजयकुमार महतोलाई प्रयोग गरी योजना कार्यान्वयन गरेको प्रहरीको भनाइ छ । 
प्रारम्भिक बयानअनुसार विजय महतोले ८० हजार रुपैयाँमा हतियार खरिद गरी उपलब्ध गराएका थिए । घटनाको दिन गणेश महतोले ‘राकेश यादव’ नाम प्रयोग गरी व्हाट्सएप कलमार्फत प्रमोदलाई डेराबाट बाहिर बोलाएका थिए । बाहिर निस्कनेबित्तिकै पेस्तोलले गोली प्रहार गरी मोटरसाइकलमा फरार भएका थिए ।
प्रहरीले रौतहटको गढीमाई नगरपालिका क्षेत्रबाट भारतीय नम्बर प्लेट बीआर ०१ एफजेड १०८२ को मोटरसाइकल बरामद गरेको जनाएको छ । घटनास्थलबाट गोलीको एउटा खोका, प्रयोग गरिएको एउटा पेस्तोल र तीनवटा मोबाइल बरामद भएको छ । बरामद पेस्तोल यसअघि मलंगवा–४ स्थित निर्माणाधीन हनुमान मन्दिर परिसरमा बालकले खेलाउने क्रममा पड्किँदा एक बालक घाइते भएको घटनासँग समेत जोडिएको हुनसक्ने प्रहरीको आशंका छ । फरेन्सिक परीक्षणपछि थप पुष्टि हुने बताइएको छ ।
पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार–खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । 
यसैबीच, हत्या प्रकरणको सफल अनुसन्धान गरी अभियुक्तलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी निरीक्षकहरु  विशालबहादुर बुढाथोकी, वीरेन्द्र बीसी, नायब निरीक्षक सुजन पुडासैनी र  जवान अजय सहनीलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्