नेभिगेशन
दृष्टिकोण

तानाशाहलाई मलजल गरिरहेको च्याटजिपिटी

एक इतिहासकारको रूपमा, मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा हामी च्याटजिपिटीलाई असफल बनाउन सक्छौं र सिलिकन भ्यालीलाई एउटा शक्तिशाली सन्देश दिन सक्छौं ।
ओपन एआई जुन च्याटजिपिटी पछि आएको कम्पनी हो, जुन कम्पनीले यो वर्ष १४ अर्ब अमेरिकी डलर घाटा बेहोर्नुपर्ने सम्भावना छ । यसको बजार हिस्सा निरन्तर ओरालो लाग्दैछ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले के स्वीकार गरेका छन् भने उनीहरूले उत्पादनको एउटा पक्षमा गल्ती गरेका छन् । 
अमेरिका र अमेरिका बाहिर ‘क्युटजिपिटी’ नामक एक जनस्तरको बहिष्कार अभियान डलेलो जसरी फैलिरहेको छ, जसले आम सर्वसाधारण मानिसहरूलाई च्याट जिपिटीको ग्राहक योजना रद्द गर्न भनिरहेको छ । यो प्रस्तावमा प्रतिक्रिया जनाउँदै १० लाखभन्दा बढी मानिसले यसको जवाफ दिइसकेका छन् । प्रभावशाली अमेरिकी अभिनेता, निर्माता तथा निर्देशक मार्क रफालो र विश्वव्यापी प्रभाव विस्तार गरेकी अमेरिकी गायक, लेखक तथा टेलिभिजन व्यक्तित्व केटी पेरीजस्ता हस्तीहरूले बहिष्कारको यो अभियानलाई समर्थन गरेका छन् । यो अभियान हालैको इतिहासकै सबैभन्दा महत्वपूर्ण उपभोक्ता बहिष्कारहरू मध्ये एक हो र मलाई के लाग्छ भने अब युरोपेलीहरू पनि यसमा सामेल हुने समय आएको छ ।
यसको सुरुवात कसरी भयो त ? यसबारेमा केही चर्चा गरौं । यसै वर्षको सुरुमा के समाचार आयो भने ओपन एआईका अध्यक्ष ग्रेग ब्रकम्यानले डोनाल्ड ट्रम्पको सबैभन्दा ठूलो सुपर प्याक, मेगा इन्कलाई २.५ करोड अमेरिकी डलर चन्दा दिए । यसले उनलाई गत निर्वाचनका क्रममा ट्रम्पको सबैभन्दा ठूलो चन्दादाता बनायो । जब वायर पत्रिकाले उनलाई स्पष्टीकरण सोध्यो ब्रकम्यानले के बताए भने उनको चन्दा मानवताको हित गर्ने ओपन एआईको लक्ष्यकै एक हिस्सा थियो ।
त्यो लक्ष्यको व्यवहारिक पाटो कस्तो देखिन्छ भन्ने सम्बन्धमा केही चर्चा गर्ने अनुमति चाहन्छु । इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टका कर्मचारीहरू जसका एजेन्टहरूले जनवरीमा मिनियापोलिसमा दुईजनाको हत्या गरेका थिए, उनीहरूले च्याट जिपिटीद्वारा सञ्चालित स्क्रिनिङ टुल प्रयोग गरेका छन् । त्यही कम्पनी, जसले तपाईंलाई मैत्रीपूर्ण च्याटबोट दिन्छ, उसले सरकारलाई देश निकाला गर्ने छापाका लागि कसलाई भर्ती गर्ने भन्ने निर्णय गर्न मद्दत गरिरहेको छ ।
तर यो क्रम यतिमै मात्र रोकिँदैन । ओपन एआईले १२.५ करोडको अमेरिकी डलरको लबिङ पहल (सुपर प्याक) सुरु गर्न मद्दत ग¥यो, ताकि कुनै पनि राज्यले एआईलाई नियमन गर्न नसकोस् । यसले सुरक्षा कानुन पारित गर्न खोज्ने जुनसुकै राजनीतिज्ञलाई आक्रमण गरिरहेको छ । यसले चाहन्छ कि ट्रम्प र केवल ट्रम्पले मात्र पृथ्वीको सबैभन्दा शक्तिशाली प्रविधिको लागि नियमहरू लेखुन् । हरेक महिना, विश्वभरका प्रयोगकर्ताहरूबाट आउने शुल्कको पैसा यस्तो कम्पनीमा जान्छ जुन ट्रम्प प्रशासनको दमनकारी संरचनामा आफूलाई समाहित गर्दैछ । यो कुनै षड्यन्त्रको सिद्धान्त होइन; यो एक व्यापारिक रणनीति हो ।
गत हप्ता परिस्थिति झनै खराब भयो । जब ट्रम्प प्रशासनले एआई कम्पनीहरूलाई पेन्टागन (अमेरिकी रक्षा मन्त्रालय) लाई सामूहिक निगरानी र स्वायत्त हतियारहरूका लागि आफ्नो प्रविधिमा प्रतिबन्धबिना पहुँच दिन माग ग¥यो, तब च्याटजिपिटीको मुख्य प्रतिस्पर्धी क्लाउड बनाउने कम्पनी, एन्थ्रोपिकले अस्वीकार गरिदियो ।
यसको बदला तुरुन्तै र असाधारण रूपमा लिइयो । ट्रम्पले हरेक संघीय एजेन्सीलाई एन्थ्रोपिकको प्रविधि प्रयोग गर्न बन्द गर्ने आदेश दिए । रक्षामन्त्री पिट हेगसेथले कम्पनीलाई ‘राष्ट्रिय सुरक्षाका लागि आपूर्ति–शृंखला जोखिम’ घोषणा गरे, जुन उपमा सामान्यतया हुवावेजस्ता चिनियाँ कम्पनीहरूका लागि प्रयोग गरिन्छ । उनले घोषणा गरे कि अमेरिकी सेनासँग व्यापार गर्ने जो कोहीलाई एन्थ्रोपिकसँग काम गर्न प्रतिबन्ध लगाइएको छ । किलर रोबोट बनाउन मद्दत गर्न अस्वीकार गरेको अपराधमा यो वास्तवमा एउटा कर्पोरेट मृत्युदण्ड हो ।
अनि ओपन एआईले के ग¥यो त ? त्यही शुक्रबार राति, जब उसको प्रतिस्पर्धीले एउटा सैद्धान्तिक अडान लिइरहेको थियो, साम अल्टम्यानले चुपचाप एन्थ्रोपिकको ठाउँ लिन पेन्टागनसँग सम्झौतामा हस्ताक्षर गरे ।
म के प्रष्ट गर्न चाहन्छु भने म एआई विरोधी होइन । म मेरो काममा हरेक दिन एआई उपकरणहरू प्रयोग गर्छु । यो प्रविधिलाई अस्वीकार गर्ने बारेमा होइन । यो त यस्तो कम्पनीलाई पैसा खुवाउनु पर्छ भन्ने विचारलाई अस्वीकार गर्ने बारे हो, जसले तानाशाहीलाई आर्थिक सहयोग गरिरहेको छ ।
अहिले, एक इतिहासकारको रूपमा, यो क्षणको बारेमा मलाई के कुराले उत्साहित बनाउँछ भनेः इतिहासका सबैभन्दा प्रभावकारी उपभोक्ता बहिष्कारहरूमा दुईवटा गुण हुन्छन्, ती ‘सीमित’ हुन्छन् र ‘सजिलो’ हुन्छन् । ‘क्वीट जिपिटी’ यो ढाँचामा ठ्याक्कै मेल खान्छ ।
पहिले, हाम्रो प्रयासलाई लक्षित गर्ने महत्वको बारेमा कुरा गरौं । १९५५ मा, अलाबामाको मोन्टगोमरीका काला जातिका बासिन्दाहरूले एकै झट्कामा रंगभेदको पूरै संयन्त्र भत्काउने प्रयास गरेनन् । उनीहरूले एउटा लक्ष्य रोजे, सहरको बस प्रणाली र ३८१ दिनसम्म उनीहरू हिँडेर वा गाडी चलाएर काममा गए । यसले बस कम्पनीलाई आर्थिक रूपमा टाट पल्टायो र अमेरिकाको दक्षिणमा रहेको रंगभेदी यातायातको मेरुदण्ड भाँचिदियो ।
ओपन एआई हाम्रो लागि त्यही बस कम्पनी हो । यो एक उत्कृष्ट लक्ष्य हो किनभने यो अत्यन्त कमजोर छ । यो कर्पोरेट इतिहासकै सबैभन्दा तीव्र दरमा पैसा खर्च गरिरहेको छ । यसको बजार हिस्सा एक वर्षमा ६९ प्रतिशतबाट घटेर ४५ प्रतिशतमा झरेको छ । यो राजस्वका लागि यति हताश छ कि यसले विज्ञापनहरू चलाउन थालेको छ, जसलाई अल्टम्यानले कुनै समय ‘अन्तिम विकल्प’ भनेका थिए । लगानीकर्ताहरूले यसका ग्राहक संख्यालाई निकै सूक्ष्म रूपमा हेरिरहेका छन् । तपाईंले गर्ने हरेक रद्दको रेकर्ड रहन्छ ।

र ‘क्वीट जिपिटी’ लाई ‘डिलिट फेसबुक’ वा अमेजन बहिष्कार गर्ने समय–समयका आह्वानहरू भन्दा फरक बनाउने अर्को कुरा के हो भने ती अभियानहरू असफल भए किनभने माग धेरै ठूलो थियो । फेसबुक छोड्नुको अर्थ तपाईंको सामाजिक सञ्जाल, पारिवारिक फोटोहरू र सामुदायिक समूहहरू गुमाउनु पनि हुनेथियो । र धेरै अमेरिकीहरूका लागि, अमेजन छोड्नु भनेको अक्सिजन छोड्नु जस्तै हो । त्यो बेला व्यवहारिक कठिनाइले सिद्धान्तलाई हराइदियो ।
यस विपरीत, च्याट जिपिटी रद्द गर्नु एकदमै सजिलो छ । तपाईं यसलाई १० सेकेन्डमा गर्न सक्नुहुन्छ, र यसका विकल्पहरू त्यत्तिकै राम्रा वा अझ राम्रा छन् । इतिहासले देखाउँछ किन ‘क्वीट जिपिटी’ मा मा यति धेरै सम्भावना छः सन् १९७७ को ‘नेस्ले’ बहिष्कार र सन् २०२३ को ‘बड लाइट’ बहिष्कार जस्ता प्रभावकारी अभियानहरू सफल भए किनभने तिनीहरू सीमित र सजिलो थिए । तिनीहरूको स्पष्ट लक्ष्य थियो र मानिसहरूसँग धेरै राम्रा विकल्पहरू थिए ।
इतिहासका ठूला बहिष्कारहरू लाखौं मानिसहरू अचानक वीर अभियन्ता भएकाले सफल भएका होइनन् । तिनीहरू सफल भए किनभने अर्को ब्रान्डको कफी किन्नु, वा अर्को बियर छान्नु, जोसुकैले पनि सामान्य दिनको दिउँसो गर्न सक्ने कुरा थियो । सानो कार्य, जब ठूलो स्तरमा दोहोरिन्छ तब त्यो राजनीतिक भूकम्प बन्छ ।
क्वीट ओराजीमा जानुहोस् । आफ्नो सब्स्क्रिप्सन रद्द गर्नुहोस् । निःशुल्क संस्करण प्रयोग गर्दै हुनुहुन्छ भने एप डिलिट गर्नुहोस्, किनकि तपाईंको कुराकानीले अझै पनि त्यो मेसिनलाई फिड गरिरहेको हुन्छ । त्यसपछि एउटा विकल्प प्रयोग गरी हेर्नुहोस् र कम्तीमा एकजना व्यक्तिलाई यसको कारण बताउनुहोस् ।
ओपन एआईका अध्यक्षले २.५ करोड अमेरिकी डलरको बाजी लगाएका छन् कि तपाईंको पैसा कहाँ जाँदैछ भन्ने कुरामा तपाईंले ध्यान दिनुहुने छैन र यदि ध्यान दिनुभयो भने पनि अर्कै कुरामा स्विच गर्न १० सेकेन्ड खर्च गर्ने गरी तपाईंले वास्ता गर्नुहुने छैन । उनीहरूलाई गलत प्रमाणित गर्ने समय आएको छ ।
द गार्डियनबाट 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्