नेभिगेशन
नेपाल

कोरोनाकालपछि बल्ल लयमा फर्कियो नेपालको पर्यटन

काठमाडौं । कोभिड १९ महामारीका कारण ध्वस्त बनेको नेपालको पर्यटन सात वर्षपछि लयमा फर्किएको छ । सन् २०१९ को जनवरी र फेब्रुअरीको तुलनामा सात वर्षपछि सन् २०२६ को जनवरी र फेब्रुअरीमा पर्यटक आगमन बढेको हो ।
कोभिड महामारीअघि सन् २०१९ जनवरीमा ८१ हजार २०७३ र फेब्रुअरीमा १ लाख २ हजार ४२३ पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोभिड कहर सुरु भएपछि गएको जनवरीमा ९२ हजार ५७३ र फेब्रुअरीमा १ लाख ५ हजार ४४१ पर्यटक भित्रिएका हुन् ।
कोभिड सुरु भएको वर्ष सन् २०२० जनवरीमा ७९ हजार ७०२ र फेब्रुअरीमा ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । कोभिडपछि सन् २०२१ जनवरीमा ८ हजार ८७४ र फेब्रुअरीमा ९ हजार १४६, सन् २०२२ जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६, सन् २०२३ जनवरीमा ५५ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २५५, सन् २०२४ जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ तथा सन् २०२५ जनवरीमा ७९ हजार ९९१ र फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल भित्रिएका थिए ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२५ को फेब्रुअरीको तुलनामा पर्यटक आगमन ८.८ प्रतिशतले बढेको छ । सन् २०२५ को फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल आएका थिए ।
नेपालको प्राकृतिक सौन्दर्य विश्वमै अनुपम छ तर अस्थिर राजनीति, असुरक्षा र गुणस्तरीय पर्यटन पूर्वाधारका बीच पर्यटन कूटनीति पर्याप्त हुन नसक्दा नेपालको पर्यटन फस्टाउन सकेको छैन । कृत्रिम पर्यटकीय पूर्वाधारका बीच विश्वका विभिन्न देशले पर्यटक आगमनलाई उच्च दरमा बढाउँदा नेपाल कछुवा गतिमा छ ।
यसैबीच, नेपालले विश्वभरका पर्यटकलाई नेपालको प्राकृतिक सौन्दर्य र आतिथ्यको अनुभव लिन आह्वान गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको संकटका कारण उत्पन्न चुनौतीका बाबजुद नेपालले जर्मनीमा आयोजित विश्वकै अग्रणी ट्राभल ट्रेड शो आइटिबी बर्लिनमा सशक्त उपस्थिति जनाउँदै नेपालले भ्रमणका लागि आह्वान गरेको हो ।
मार्च ३ देखि ५ सम्म जारी रहने आइटिबी बर्लिनमा नेपालको सहभागिता व्यापारिक उपस्थिति मात्र नभई विश्व पर्यटन बजारमा नेपालको सम्भावनालाई पुनः स्थापित गर्ने रणनीतिक प्रयास भएको बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले बताएका छन् । हिमालयका रोमाञ्चक ट्रेकिङ मार्गदेखि प्राचीन मन्दिरहरूको शान्त परिवेश, विविध संस्कृति, परम्परा तथा अनुपम प्राकृतिक सौन्दर्यसम्मका अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने लक्ष्य बोर्डले अघि सारेको छ ।
बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख सागर फुयाँलले नेपाल प्याभिलियनको उद्घाटन र अवलोकन गरेका थिए । कार्यक्रममा बोर्डका वरिष्ठ अधिकृत रेग्मी, सिर्जना नेपाली र शिवराज पाण्डे लगायतको उपस्थिति थियो । बोर्डका वरिष्ठ अधिकृत रेग्मीले भने, ‘आइटिबी बर्लिनमा हाम्रो सहभागिता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर मात्र होइन, नेपालको पर्यटन सम्भावनालाई विश्वसामु पुनः प्रस्तुत गर्ने प्रतिबद्धता पनि हो । चुनौतीका बाबजुद नेपाललाई ‘घुम्नैपर्ने गन्तव्य’का रूपमा स्थापित गर्न हामी लागिरहेका छौं ।’
उनका अनुसार नेपाल अब केवल हिमाल आरोहण वा ट्रेकिङमा सीमित गन्तव्य नभई बहुआयामिक अनुभव प्रदान गर्ने समग्र पर्यटन गन्तव्यका रूपमा उभिएको छ । प्याराग्लाइडिङ, बन्जी जम्प, राफ्टिङ र माउन्टेन बाइकिङजस्ता साहसिक खेलकुदसँगै ऐतिहासिक दरबार क्षेत्र, प्राचीन मन्दिर, बौद्ध स्तूप र जीवित सांस्कृतिक सम्पदाको अवलोकन गर्न सकिने अवसर नेपालमा उपलब्ध छन् ।
यसका साथै योग–ध्यान, आयुर्वेदिक उपचार तथा प्राकृतिक परिवेशमा सञ्चालन हुने वेलनेस रिट्रिटहरूले मानसिक तथा शारीरिक सन्तुलन खोज्ने पर्यटकलाई आकर्षित गरिरहेका छन् । समुदायमा आधारित होमस्टे, वातावरणमैत्री रिसोर्ट तथा स्थानीय उत्पादनमा आधारित आतिथ्य सेवाले नेपालको पर्यटनलाई दिगो र समावेशी बनाउने प्रयासलाई थप सुदृढ बनाएको छ ।
विश्व बजारमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपालले आफ्नो मौलिकता, प्राकृतिक सम्पदा र आत्मीय आतिथ्यलाई बलियो ब्रान्डका रूपमा स्थापित गर्न खोजिरहेको वरिष्ट अधिकृत रेग्मीले बताए । ‘एकै गन्तव्य, अनेक अनुभव’को अवधारणामार्फत अन्तर्राष्ट्रिय यात्रुलाई साहसिकता, आध्यात्मिक शान्ति र सांस्कृतिक गहिराइको समग्र अनुभव दिने दीर्घकालीन रणनीति बोर्डले अघि बढाएको जनाएको छ ।
आइटिबी बर्लिनमा २५ वटा नेपाली कम्पनीहरुको सहभागितामार्फत अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी, उद्योग व्यवसायी तथा सञ्चारमाध्यमसँग नयाँ साझेदारी विस्तार गर्ने र नेपालको पर्यटन क्षेत्रका लागि थप अवसर सिर्जना गर्ने बोर्डको अपेक्षा छ । नेपालले विश्वभरका यात्रुलाई आफ्नो अतुलनीय सौन्दर्य, समृद्ध संस्कृति र आत्मीय आतिथ्य अनुभवका लागि नेपाल घुम्न आउन आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्