काठमाडौं (संवाददाता) - मुक्तिनाथ विकास बैंकले काठमाडौंको जमलमा रहेको शाखा कार्यालयलाई धुम्बाराहीमा स्थानान्तरण गरेको छ । बैंकले जमल शाखालाई काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराहीस्थित चिलिमे टावरमा स्थानान्तरण गरेको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेले स्थानान्तरण भएको शाखा कार्यालयको उद्घाटन गरेका छन् । वित्तीय सेवाहरूको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको बैंकले जमल शाखा कार्यालयलाई नयाँ स्थानमा सारेर औपचारिकरूपमा वित्तीय सेवाको शुभारम्भ गरेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गरे । उनले जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन बैंकलाई सुझाव दिए । उनले बैंकले हाल गरिरहेकै प्रगतिलाई निरन्तरता दिंदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजनाबारे प्रकाश पारेका थिए । निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणको लागि बैंक तथा नियमक निकायले अख्तियार गर्नुपर्ने रणनीतिबारे चर्चा गरे ।
बैंकको सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्लले सेवाको गुणस्तरमा अझै सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरूले उत्कृष्ट ग्राहक सेवाको महसुस गर्नु हुने विश्वास बैंकले लिएको छ ।
कार्यक्रममा बैंकका वर्तमान तथा पूर्वसञ्चालकहरू, संस्थापक तथा सर्वसाधारण शेयरधनीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो ।
सेवाग्राहीहरूको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको यो नयाँ शाखा कार्यालय रिङरोडसँग जोडिएको र पर्याप्त पार्किङ सुविधा रहेकाले सबैको पहुँच सहजता हुने विश्वास बैंकले लिएको छ ।