नेभिगेशन
प्रदेश

मोरङमा गणनास्थल पनि तयार

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ जिल्लामा मतदान केन्द्र निर्माणदेखि मतगणना स्थल व्यवस्थापनसम्म सबै तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ३ सय ६ वटा मतदान स्थलअन्तर्गत ८ सय ९० मतदान केन्द्रमा आवश्यक भौतिक संरचना, मतदान कक्ष, गोप्य मतदान स्थल, घेराबारा र अन्य व्यवस्थापन भइसकेको छ ।
जिल्लामा ७ लाख ८३ हजार ५० जना मतदाता छन् । मतदाताले बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्नेछन् । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र असक्त मतदाताका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ, जसले सबै मतदाताले सहज मतदान गर्न सक्ने वातावरण तयार पार्नेछ ।
मतदान सम्पन्न भएसँगै ६ वटै निर्वाचन क्षेत्रमा मतगणना स्थल निर्माण गरिसकिएको छ । क्षेत्र नं. १ को मतगणना उर्लाबारी नगरपालिकामा, क्षेत्र नं. २ को सिजुवास्थित विश्वनाथ मन्दिरमा, क्षेत्र नं. ३ को बेलबारीस्थित भगवती माध्यमिक विद्यालयमा, क्षेत्र नं. ४ को विराटनगर जनता नमूना माध्यमिक विद्यालयमा, क्षेत्र नं. ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनामा र क्षेत्र नं. ६ को आदर्श माध्यमिक विद्यालयमा हुनेछ ।
मतगणना कार्य सर्वदलीय सहमतिमा सुरु गरिनेछ । निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्