नेभिगेशन
नेपाल
प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न

करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान

नयाँ जनमतसहित मुलुक अग्रगमनतर्फ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएपछि फागुन २१ गतेका लागि निर्वाचन तोकिएको थियो । बिहीबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म्म निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको समय सकिएपछि निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरि शान्तिपूर्ण रूपमा मतदान भएको बताए । 
आयोगका अनुसार देशभरबाट प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मत खसेको अनुमान छ । साँझ ५ बजेको समयसीमा भित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरूका लागि भने केही स्थानमा मतदान कार्य ढिलासम्म पनि सञ्चालन भएकाले केही  प्रतिशत वृद्धि हुन सक्ने आयोगको भनाइ छ ।  
मतपेटिका धेरैजसो मतगणनास्थल पुगिसकेको छ भने केहीमा अबेर रात र शुक्रबार बिहानसम्म पुगिसक्ने आयोगले जनाएको छ । केही स्थानमा भने बिहीबार बेलुकाबाट नै मतगणना शुरु गर्ने तयारी छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा केही छिटपुट अवरोधका घटनाबाहेक निर्वाचन समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख छ । ‘विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैंमा चुनौतीपूर्ण थियो,’ आयोगले भनेको छ, ‘यस कार्यमा सहयोग, सहकार्य र समन्वयका लागि निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता, पर्यवेक्षक संस्थाहरू, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ ।’ 
निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए । प्रतिनिधिसभाका २७५ सदस्य चयन हुन्छन् । जसमध्ये निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनिएर १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना सांसद छानिन्छन् ।
निर्वाचन शान्तिपूर्ण
प्रतिनिधिसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसपटकको निर्वाचनमा सुरक्षाकर्मीले कुनै बल प्रयोग गर्नुपरेन भने देशभर जम्मा दुई राउन्ड हवाई फायर र एक राउन्ड असावधानीवश गोली पड्किएको घटना मात्रै भएको छ । दोलखाको तामाकोशी–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा दुई राउन्ड हवाई फायर भएको थियो भने कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला ‘ख’ मतदान केन्द्रमा प्रहरी जवानले बोकेको सर्टगन असावधानीवश पड्किएको थियो । विगतमा सधंैजसो विवाद भइरहने जिल्लाहरुमा पनि यसपटक मतदान शान्तिपूर्ण भएको छ । 
०७९ को चुनावमा बाजुरामा एक युवाको ज्यान गएको थियो भने विवाद र झडपका कारण १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । जहाँ पछि पुनः मतदान गराउनुपरेको थियो । तर, यसपटक कतैपनि पुनः मतदान गराउनुनपर्ने आयोगले जनाएको छ । 
दुर्गमको मतपेटिका हेलिकप्टरबाट ढुवानी 
मतदान सकिएसँगै अधिकांश निर्वाचन क्षेत्रको मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी बिहीबार अबेर रातीसम्म मतगणना स्थलसम्म ल्याइसकिएको छ । तर, दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट भने आयोगले हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरेको छ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका बिहीबार नै सम्बन्धित मतगणना स्थलमा पु¥याउने र संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पु¥याइने आयोगले बताएको छ । आयोगका अनुसार मतपेटिकाहरू संकलन भएलगत्तै मतगणना कार्य तत्काल प्रारम्भ गरिने छ । 
जहाँ केहीबेर रोकियो, जहाँ मत नै खसेन
निर्वाचन आयोगकाअनुसार आमरुपमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भए पनि केही स्थानमा भने छिटपुट समस्या देखिएको थियो । दोलखाको गोल्मेश्वर मावि मतदान केन्द्रमा केही समय मतदान अवरुद्ध भयो । बेलुकी ५ बजेसम्म लाइनमा बसेका  मतदातालाई पछि मतदान गर्न दिइएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले बताए । 
त्यस्तै, दाङको बबई गाउँपालिका–७ मा भने पनि स्थानीयले मतदान गरेनन् । वन्यजन्तुको समस्या झेलिरहेका त्यहाँका मतदाताहरूले उक्त समस्या समाधान नगरिएसम्म मतदानमा सहभागी नहुने चेतावनी दिँदै आएका थिए । बबईको वडा नं ७ को केन्द्रमा कोही पनि मतदाता मतदान गर्न नआएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । यहाँ ५ सय ३० जना मतदाता थिए । 
यस्तै, सर्लाही–४ को जनता मावि मतदान केन्द्र र बलरा–४ स्थित श्री प्राविमा रहेको मतदान केन्द्रमा विवाद हुँदा केहीबेर मतदान स्थगित भएको थियो । यो क्षेत्रका दुईवटा मतदान केन्द्रमा केहीबेर मतदान स्थगित भए पनि केहीबेरमा पुनः मतदान शुरु भएको थियो । 
दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका स्थानीय मतदाताले यसपटक निर्वाचन बहिष्कार गरेका छन् । वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा रहेका ११३ जना मतदाता कोही पनि मतदान गरेनन् । वेदिङका मतदाताले आफ्ना आवाज अहिलेसम्म कसैले पनि नसुनेको र यसपटक कुनै उम्मेदवार मत माग्नसमेत नआएको भन्दै भोट नहालेका हुन् । 
मतदान अधिकृतसहितका कर्मचारी साँझ ५ बजेसम्म मतदातालाई कुरेर बसेका थिए । मतदाताले निर्वाचन बहिष्कार गरेसँगै सो बुथमा प्रत्यक्षतर्फ एक मत पनि नपरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । सो मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका पाँच जना कर्मचारीले भने समानुपातिकतर्फ मतदान गरेका छन् । 
त्यसैगरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा पनि मतदाता मतदान गर्न गएनन् । प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने योजना ल्याएपछि स्थानीयले जग्गा दिए पनि निर्माण प्रक्रिया नै सुरू नभएका गुनासो गर्दै उनीहरु मतदान प्रक्रियामै सहभागी भएनन् । 
उक्त विषयमा निर्वाचन आयोगको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ‘अस्वीकार गरेको दुई–तीन ठाउँ छ । निर्वाचन आयोगसँग प्रश्न छैन । यो ठाउँमा सरकारबाट प्रतिज्ञा भएको रहेछ । मतदाताले सरकारप्रति असन्तुष्टि जाहेर गर्नु भएको हो ।’ 

कुन चुनावमा कति प्रतिशत मत खस्यो ? 
०४८ सालः ६५.१५ प्रतिशत
०५१ सालः६१.८६ प्रतिशत
०५६ सालः ६५.७९ प्रतिशत
०६४ सालः ६१.७० (पहिलो संविधानसभा)
०७० सालः ७८.३४ प्रतिशत (दोस्रो संविधानसभा)
०७४ सालः ६८.६७ प्रतिशत
०७९ सालः ६१.६३ प्रतिशत
०८२ सालः ६० प्रतिशत (प्रारम्भिक)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्