नेभिगेशन
दृष्टिकोण
पाठक मञ्च

पर्यटकीय शहरमा फोहोरको पिरलो

पोखरामा केही दिनयता फोहर व्यवस्थापनमा देखिएको समस्या अत्यन्त चिन्ताजनक भएको छ । सडकछेउ, चोक र सार्वजनिक स्थलमा फोहर थुप्रिँदा सहरलाई कुरूप मात्र बनाएको छैन यसले मानव स्वास्थ्यमा प्रत्यक्ष जोखिम पनि बढाएको छ । लामो समयसम्म अस्थायी ल्याण्डफिल साइट भरिनु, नयाँ स्थायी साइटको अभाव र स्थानीयवासीको विरोधले समस्यालाई अझ जटिल बनाएको छ ।
महानगरपालिकाले फोहर व्यवस्थापनमा प्रयासरत भए पनि स्रोत र स्थानको अभावले तत्काल प्रभावकारी समाधान दिन सकेको छैन । यस क्रममा ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ जस्ता पहलहरू स्वागतयोग्य छन् तर तिनीहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न अझ ठोस कदम आवश्यक देखिन्छ । फोहरलाई आम्दानीसँग जोड्ने योजनाहरू पनि धेरै वर्षअघि प्रस्ताव भए तापनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।
जनप्रतिनिधि र नागरिकबीचको समन्वय अभाव, ल्याण्डफिल साइट स्थान चयनमा विवाद र अस्थायी व्यवस्थापनले पोखरामा फोहरको समस्या नियमित रूपमा दोहोरिन सक्ने खतरा देखाएको छ । हाल फोहर व्यवस्थापनमा करिब ७ करोड रुपैयाँ खर्च भइरहे पनि, स्रोत र बजेटको प्रभावकारी प्रयोग हुन नसकेको छ ।
पोखरावासीको स्वास्थ्य र वातावरणीय सुरक्षाका लागि तत्काल वैकल्पिक ल्याण्डफिल साइट निर्माण, पुनः प्रयोगयोग्य फोहरको रिसाइकलिङ र अपसाइकलिङ प्रणालीको व्यापक कार्यान्वयन अनिवार्य छ । साथै, नागरिकहरूको सहभागिता र चेतना अभिवृद्धि गरी फोहरलाई व्यवस्थित र लाभदायक बनाउने दीर्घकालीन रणनीति अपनाउन आवश्यक छ ।
फोहर व्यवस्थापनलाई केवल अस्थायी उपायमा सीमित राख्ने हो भने पोखराको सुन्दरता, पर्यटन आकर्षण र जनस्वास्थ्य दुबैमा जोखिम बढ्नेछ । हाम्रो आग्रह छ, महानगरपालिकाले यस विषयलाई प्राथमिकतामा राख्दै स्थायी, दीर्घकालीन र समावेशी समाधान अघि बढाओस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्