नेभिगेशन
प्रदेश

कर्णली, गण्डकी र मधेशमा उत्साहपूर्ण मतदान

पोखरा । विहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा ५५.१ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको निर्वाचन सेलले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार प्रदेशका विभिन्न जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
प्रदेशभर ५ लाख १० हजार ३१२ महिला, ५ लाख २६ हजार ९३५ पुरुष र ३ अन्य गरी कुल १० लाख ३७ हजार २५० मतदाता रहेका थिए । तीमध्ये ५ लाख ७७ हजार ४५२ मत खसेको छ ।
जिल्लागत रूपमा हेर्दा डोल्पामा सबैभन्दा बढी ६५.७ प्रतिशत मतदान भएको छ । हुम्लामा ६४.६ प्रतिशत, मुगुमा ६०.६ प्रतिशत, जुम्लामा ५६.९ प्रतिशत, जाजरकोटमा ५६.८ प्रतिशत, सुर्खेत–२ मा ५७.५ प्रतिशत, रुकुम पश्चिममा ५८.४ प्रतिशत मतदान भएको छ । यस्तै, सुर्खेत–१ मा ५७.१ प्रतिशत, दैलेख–१ मा ५०.५ प्रतिशत, दैलेख–२ मा ४८.२ प्रतिशत, सल्यानमा ५१.१ प्रतिशत र कालिकोटमा ४९.९ प्रतिशत मतदान खसेको छ ।
त्यस्तै, प्रतिनिधि सभा सदस्यका लागि गण्डकी प्रदेशमा करिब ६० प्रतिशत मतदान भएको छ । बिहीबार साँझसम्म तथ्यांक संकलनको कार्य जारी रहेकाले ठ्याक्कै कति प्रतिशत मत खस्यो भन्ने निक्र्योल हुन बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । सो कार्यलयले सबै जिल्लामा खसेको मतको हिसाब हुन बाँकी रहेको र अहिलेसम्म ६१ प्रतिशतभन्दा बढी खसेको अनुमान छ ।
गण्डकीमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । प्रारम्भिक विवरणअनुसार, तीन लाख ८ हजार ५७२ जना मतदाता रहेको कास्कीमा एक लाख ८९ हजार २६७ जनाले मतदान गरेका हुन् । यो भनेको ६१.३४ प्रतिशत हो । कास्कीमा तीन निर्वाचन क्षेत्र छन् । यस्तै, सात हजार मतदाता रहेको हिमाली जिल्ला मनाङमा ४० प्रतिशतको हाराहारीमा मत खसेको छ । मनाङको नेस्याङ गाउँपालिकामा एक हजार ६९ मत मात्र खसेको थियो । अर्को हिमाली जिल्ला मुस्ताङमा कुल ५६.४५ प्रतिशत मत खसेको छ । ११ हजर ३२८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३९७ मत खसेको हो । म्याग्दीमा २५ हजार ११८ महिला, २१ हजार ७७४ पुरुष र एक जना अन्य गरी ४६ हजार ८९३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका थिए । करिब ५४ प्रतिशत मतदान भएको हो ।
बागलुङमा ५२ प्रतिशतको हाराहारी मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । बागलुङको ढोरपाटनसहित दुर्गम क्षेत्रका मतपेटिका संकलन गरेर सदरमुकाम ल्याएपछि मात्र कति मत खस्यो भन्ने जानकारी आउने रिजालको भनाइ छ । पर्वतमा ५३.१८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ । एक लाख २५ हजार ४६६ मतदाता रहेको पर्वतमा ६६ हजार ७२७ मत खसेको हो । 
दुई लाख ४८ हजार मतदाता रहेको स्याङ्जामा ७१ हजार पुरुष र ६० हजार महिला गरेर एक लाख ३१ हजारले मतदान गरेको प्रारम्भिक अनुमान छ । यस्तै, दुई लाख ५४ हजार ३३७ मतदाता रहेको तनहुँमा पनि ५० प्रतिशतभन्दा बढीले मतदानमा भाग लिएका छन् । लमजुङमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिँदा गोरखामा करिब ४९.६४ प्रतिशत मत खसेको छ । दुई लाख २९ हजार ५८ मतदाता रहेका गोरखामा एक लाख १३ हजार ७२५ जनाले मतदान गरेको र तीमध्ये ५८ हजार ५६२ महिला छन् ।
त्यसैगरी, मधेश प्रदेशबाट करीब ६० प्रतिशत मतदान भएको जनाइएको छ । विभिन्न जिल्लाबाट लिइएको तथ्यांक अनुसार मधेश प्रदेशमा प्रारम्भिक अनुमान अनुसार ६० प्रतिशतको हाराहारीमा मतदान मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । 
मधेशको आठ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा १६ लाख ६३ हजार ३ सय ७४ जना महिला र १९ लाख ७२ हजार ९ सय ६४ जना पुरुषसहित ३६ लाख ३६ हजार ४ सय १४ जना कुल मतदाताहरुको संख्या छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्