नेभिगेशन
विश्व

खामेनीका छोरा सर्वोच्च नेतामा छानिने

काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनी आफ्ना बाबुको स्थान लिन सक्ने प्रमुख उम्मेदवारका रूपमा देखा परेका छन् । शीर्ष धर्मगुरुहरूले नयाँ उत्तराधिकारी चयन गर्न बैठक बसेको केही घण्टामै शासन पक्षका समर्थकहरूले उनलाई समर्थन गर्न थालेका छन् ।
इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले हिजो ‘असेम्ब्ली अफ एक्सपट्र्स’ का सदस्य अहमद खातामीलाई उद्धृत गर्दै सर्वोच्च नेता चयन गर्ने प्रक्रियामा नेतृत्वका विकल्पहरू पहिचान भइसकेका छन् र निर्णय नजिक पुगेको बताएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्ससँग नजिक मानिने फार्स समाचार एजेन्सीले अर्को सर्वोच्च नेता चयन गर्ने निर्णय सम्भवतः अर्को हप्ता हुन सक्ने जनाएको छ ।
तर ‘असेम्ब्ली अफ एक्सपट्र्स’का सदस्यहरूले मंगलबार अनलाइन बैठक गरेपछि शासन पक्षका समर्थकहरूले सामाजिक सञ्जालमार्फत मोज्तबा खामेनीलाई उत्तराधिकारीका रूपमा प्रचार गर्न थालेका छन् । राजनीतिक प्रतिष्ठानसँग सम्बन्धित पत्रकार हातेफ सालेहीले सामाजिक सञ्जाल एक्समा मोज्तबा खामेनीको तस्विर प्रकाशित गर्दै अरबी भाषामा ‘हाम्रा नेता इमाम खामेनीलाई ईश्वरले रक्षा गरून्’ भनेर लेखेका छन् ।
खामेनी परिवारका एक आफन्तले फाइनान्सियल टाइम्ससँग भने, ‘अहिलेसम्म अन्तिम निर्णय भएको छैन, तर उनको सम्भावना निकै उच्च छ  । बैठकहरू अनलाइन भइरहेका छन् । उनीहरू छलफल र निर्णय प्रक्रियाको अन्तिम चरणतिर पुगेका छन् र खामेनेई अलि अगाडि देखिएका छन् ।’
मोज्तबा खामेनीलाई सम्भावित उत्तराधिकारीका रूपमा अघि सार्ने कुरा त्यतिबेला आएको हो जब मध्यपूर्वमा तनाव बढिरहेको छ । इजरायलले तेहरानमा व्यापक आक्रमण सुरू गरेको छ, लेबनानमा हिज्बुल्लाहमाथि कारबाही भइरहेको छ र इरानले प्रतिकारात्मक आक्रमण जारी राखेको छ ।
इजरायलका रक्षा मन्त्री इजरायल काट्जले एक्समा लेख्दै प्रत्येक नयाँ नेता ‘निसाना बनाएर समाप्त गरिने लक्ष्य’ हुने बताएका छन् र उनले नाम वा लुकेको स्थान जे भए पनि फरक नपर्ने बताएका छन् । मंगलबार इजरायलले कुम शहरमा रहेको असेम्ब्ली अफ एक्सपट्र्सको भवनमा बम आक्रमण गरेको थियो, तर इरानी समाचार संस्थाहरूका अनुसार भवन खाली थियो ।
मोज्तबा खामेनीलाई इरानको राजनीतिक वृत्तमा झण्डै दुई दशकदेखि सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएको छ, यद्यपि उनको राजनीतिक भूमिका कहिल्यै औपचारिक रूपमा स्पष्ट गरिएको छैन । केही इरानी विश्लेषकहरूले उनले बुबाको स्थान लिए भने उनी रिभोलुसनरी गार्डसँग नजिक सहकार्य गर्दै व्यापक सुधारहरू लागू गर्न सक्ने सम्भावना रहेको बताएका छन् तर उनले सत्ता सम्हालेपछि कस्ता नीतिहरू अपनाउने छन् भन्ने स्पष्ट छैन ।
तर अरू विश्लेषकहरूको भनाइमा यदि उनी सर्वोच्च नेता बने भने यसले इरानको राजनीतिमा वंशवादी (डाइनास्टिक) राजनीति फर्किएको संकेत दिन सक्छ, जहाँ उनले आफ्नो बुबाको दृष्टिकोणलाई नै अघि बढाउनेछन् । चाथम हाउसकी पश्चिम एसिया निर्देशक सनाम वकिलका अनुसार इरानको जटिल राजनीतिक प्रणालीभित्र अन्य उम्मेदवारहरू पनि विचाराधीन हुन सक्छन् ।
उनले भनिन्, ‘मलाई लाग्छ, शासनले यस विषयमा ठूलो संघर्ष गर्नुपर्नेछ । पहिले उनको नाम छोटो सूचीमा थिएन भन्ने मलाई लाग्थ्यो, किनभने गणतन्त्र प्रणाली वंशाणुगत होइन । यदि उनलाई चयन गरियो भने, त्यो अहिलेको परिस्थितिका कारण हुन सक्छ । अहिले धेरै मानिसहरू पदका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।’
अन्य सम्भावित प्रतिस्पर्धीहरूमा वरिष्ठ धर्मगुरु अलिरेजा अराफी पनि छन्, जो खामेनीले नियुक्त गरेको तीन सदस्यीय अन्तरिम नेतृत्व परिषद्का सदस्य हुन् । साथै इस्लामिक गणतन्त्रका संस्थापकका नाति हसन खोमेनी पनि सम्भावित उम्मेदवार मानिन्छन् ।
वकिलका अनुसार अहिले नयाँ सर्वोच्च नेता चयन गर्नु उच्च जोखिमयुक्त निर्णय हुन सक्छ, किनकि यस्तो पद ग्रहण गर्ने व्यक्ति तुरुन्तै लक्ष्य बन्न सक्छ । अमेरिका र इजरायलले युद्ध सुरु भएपछि इरानका धेरै वरिष्ठ अधिकारी र कमान्डरहरूलाई मारिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्