नेभिगेशन
प्रदेश

उत्साहजनक मतदानः मोरङमा खस्यो ६४.५६ प्रतिशत

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको मतदान मोरङमा उत्साहजनक रह्यो । ६ निर्वाचन क्षेत्र रहेको जिल्लाका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाभर कुल ६४.५६ प्रतिशत मतदान भएको छ । जिल्लाका ८८८ मतदान केन्द्रमा भएको मतदानमा ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदान सम्पन्न भएपछि अहिले मतपेटिका संकलन गर्ने कार्य जारी रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मतदान गर्ने मतदातामध्ये महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ । तथ्यांकअनुसार २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्यले मतदान गरेका छन् ।
जिल्लाका ६ निर्वाचन क्षेत्रमध्ये मोरङ–५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मतदान भएको छ । उक्त क्षेत्रमा कुल १ लाख १० हजार १७७ मतदातामध्ये ७८ हजार ५२९ जनाले मतदान गरेका छन् ।
त्यसैगरी, क्षेत्र ४ मा ६७.१५ प्रतिशत र क्षेत्र ६ मा ६६.२३ प्रतिशत मतदान भएको छ । १ नम्बर क्षेत्रमा भने सबैभन्दा कम ६०.३६ प्रतिशत मात्र मतदान भएको तथ्यांकले देखाएको छ ।
मोरङ–१ को मतगणना उर्लाबारी नगरपालिकामा, क्षेत्र २ को सिजुवास्थित विश्वनाथ मन्दिरमा, क्षेत्र ३ को बेलबारीस्थित भगवती माविमा, क्षेत्र ४ को विराटनगरको जनता नमूना माविमा, क्षेत्र ५ को सुनसरी–मोरङ सिँचाइ विराटनगरमा रहेको आयोजनामा र क्षेत्र ६ को विराटनगरकै आदर्श माविका हुने जनाइएको छ । सबैतिरका मतपेटिका आइपुगेपछि मतगणना कार्य सर्वदलीय सहमतिमा सुरु गरिने निर्वाचन कार्यालयको तयारी छ ।

कुन क्षेत्रमा कति मतदान ? 
१    ७७,५८५    ६०.३६
२    ८१,३४५    ६२.९७
३    ९६,६७७    ६१.१७
४    ८०,०८४    ६७.१५
५    ७८,५२९    ७१.२८
६    ९१,२९२    ६६.२३

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्